+
+

‘बहिरोपनको समस्याप्रति सरकार गम्भीर देखिएन’

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १७:०९

काठमाडौं । बहिरोपनको समस्यालाई सरकारले गम्भीरतापूर्वक नलिएको चिकित्सकहरुले  बताएका छन् । शुक्रबार विश्व श्रवण दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै चिकित्सकहरुले बहिरोपन अपाङ्गताको प्रमुख रोग भएपनि समाधानको उपायबारे सरकार गम्भीर नदेखिएको बताए ।

सोसाइटी अफ अटरानगेलोजिस्ट एसोसिएसनका अध्यक्ष प्रा. डा. दीपेन्द्र श्रेष्ठले बहिरोपनको रोकथाम तथा उपचारमा छिमेकी मुलुकभन्दा निकै पछाडि परेको बताए ।

‘भारतमा यससम्बन्धी १७ औं नीति बनिसक्दा नेपालमा अझै प्रक्रियामै छ । त्यसैले पनि सरकार बहिरोपनको समस्यालाई लिएर गम्भीर नभएको देखिन्छ,’ उनले भने, ‘फलस्वरूप भारतको कुल जनसंख्यामा सात प्रतिशतमा मात्र बहिरोपनको समस्या छ, तर नेपालमा भने १७ प्रतिशतमा कुनै न कुनै किसिमको बहिरोपनको समस्या छ ।’

एसोसिएसनका महासचिव डा. योगेश न्यौपानेले बहिरोपनको रोकथाम र नियन्त्रणमा सरकारको लगानी, जनशक्ति विस्तार र उपचार सेवामा प्राथमिकता दिइएमा ६० प्रतिशत बहिरोपनको समाधान हुन सक्ने बताए । कार्यक्रममा कोक्लियर प्रत्यारोपण समाजका अध्यक्ष डा. रविन्द्र प्रधानाङ्गले कान पटक्कै नसुन्ने व्यक्तिको उपचार प्रविधि ‘कक्लेन्ट’ सेवा नेपालमै भएपनि जनचेतनाको कमीले धेरै व्यक्ति उपचारविना बस्न बाध्य रहेको जिकिर गरे ।

एयर केयर नेपालका अध्यक्ष डा. मिलन महर्जनले काठमाडौंमा ६ प्रतिशत बालबालिकामा बहिरोपनको समस्या रहेको अध्ययनले देखाएको बताए । ‘जन्मजात बहिरोपन, ध्वनि प्रदूषण, अत्यधिक मोबाइलको प्रयोग, पानी जम्ने, कानको जाली प्वाल पर्ने, जन्मजात कान कम सुन्नेजस्ता कारण बहिरोपनको संख्या बढ्दै गएको छ,’ उनले भने ।

अडियोलोजिस्ट तथा स्पीच थेरापिस्ट समाजकी अध्यक्ष अडियोलोजिस्ट डा. सुस्मिता श्रेष्ठले बहिरोपनको समस्या धेरै भएको देशमा सरकारी स्तरमा जम्मा एउटा मात्र श्रवणविशेषज्ञको दरबन्दी हुनु दुःखद् रहेको बताइन् । ‘वीर अस्पतालमा मात्र एउटा दरबन्दी छ, त्यसबाहेक कुनै सरकारी अस्पतालमा दरबन्दी छैन,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?