
२२ फागुन, सुर्खेत । सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय बैठकले चैत पाँच गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थीहरुलाई सहकार्य गर्न निर्देशन दिएको छ ।
विद्यार्थीहरुले आ-आफना संगठनका तर्फबाट उम्मेदवार घोषणा गरिररहेका बेला आइतबार वीरेन्द्रनगरमा बसेको बैठकले कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवारी दिन विद्यार्थीलाई निर्देशन दिएको माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।
अध्यक्ष केसीका अनुसार स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनलगायतका सत्तारुढ गठबन्धन दलका भातृ संगठनबीच सहकार्य गरेर जान निर्देशन दिइएको हो ।
आइतबार नै मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचनका लागि विद्यार्थी सङ्गठनले क्याम्पसमा नाम दर्ता गराएका छन् । ती विद्यार्थी सङ्गठनले छुट्टाछुट्टै संठनको नाम दर्ता गराएका हुन् ।
बैठकले राष्ट्रपति निर्वाचनलाई सफल पार्न गठबन्धनका सांसदहरुसँग समन्वय गर्नुका साथै ‘क्लोजली वाच’ गर्ने निर्णयसमेत गरेको अध्यक्ष केसीले बताइन् ।क
‘कर्णालीको विकास र संमृद्धिका लागि साझा धारणा बनाउने निर्णयसमेत गरेका छौं । त्यसका लागि पहिलो चरणमा छलफल तथा समन्वय गर्ने काम थाल्छौं,’ केसीले अनलाइनखबरसँग भनिन् ।
बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाही, माओवादी केन्द्रकी प्रदेश अध्यक्ष केसी विमला केसी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य बसन्त कुमार विश्वकर्मा, कांग्रेस प्रदेश महामन्त्रीद्वय निरन्जन केसी र कृष्णबहादुर रोकायको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4