
२२ फागुन, काठमाडौं । चोभारमा तयार भएको आन्तरिक टर्मिनल (पार्किङ र प्याकेजिङ सुविधासहितको गोदाम घर) को पहिलो ग्राहक उपाय सीटी कार्गो बनेको छ ।
आन्तरिक टर्मिनल प्रयोगका लागि इन्टर मोडल यातायात विकास समितिले आह्वान गरेको आवेदनमा उपाय सीटी कार्गोले आफ्नो सम्पूर्ण गोदाम टर्मिनलबाटै सञ्चालन गर्ने गरी काम थालेको इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
‘उपाय सटी कार्गो चोभार बन्दरगाहको आन्तरिक टर्मिनल प्रयोग गर्ने पहिलो ग्राहक बनेको छ,’ उनले भने, ‘विकास समितिले तोकेको दर रेट तिर्नेगरी उपायले अहिले गोदाम सञ्चालन सुरु गरेको छ ।’ अन्य कम्पनी पनि आन्तरिक टर्मिनलबाट सेवा लिनका लागि सम्पर्कमा रहेको पनि उनले बताए ।
२२ चैत, २०७८ मा सञ्चालनमा आएको चोभार सुख्खा बन्दरगाह तत्काल सञ्चालनमा कठिनाइ आएपछि यसको आधा भागलाई विकास समितिले आन्तरिक टर्मिनलको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो । हाल आन्तरिक टर्मिनलमा एक सय ५० वटा ट्रक पार्किङ क्षमता, गोदाम घर, नापतौल, लोडरअनलोड सेड, चालक तथा कामदारका लागि शौचालय आदिको व्यवस्था छ ।
विकास समितिले टर्मिनल सञ्चालनका लागि भन्दै बाटोमा हुने पार्किङ र ढुवानीको साधन लोड/अनलोड (पल्टी) रोक्न काठमाडौं र ललितपुर महानगरलाई पत्राचार गरिसकेको छ । यस्तै ट्राफिक प्रहरीलाई पनि बाटोमा हुने पार्किङ र लोड अनलोड चोभारमा सार्नेगरी सहजीकरण गरिदिन पत्राचार गरिसकेको छ ।
प्रतिक्रिया 4