
२३ फागुन, काठमाडौं । खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावनाको विस्तार हुने आर्थिक क्षेत्रका विज्ञहरुले वताएका छन् । काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा विज्ञहरुले अहिलेको विश्वमा शतप्रतिशत आत्मनिर्भरता असम्भव रहेको र यही कारणले गर्दा खुला व्यापारको विकल्प नरहेको बताए । नेपालले विश्व व्यापार सगठनमा प्रवेश गरको दुई दशक बित्दा पनि देश थप आयातमुखी हुनुको कारण पहिल्याएर उचित नीति लिनुपर्ने विज्ञहरुको धारणा छ ।
इन्डियन इन्सिच्युट अफ म्यानेजमेन्ट एकेडेमी, वैंगलोर अन्तरगत साउथ एसिया वोर्ड एकेडेमी अफ इन्टरनेशनल बिजनेसका अध्यक्ष प्राध्यापक डा. रघुनाथ सुब्रमन्यमले व्यापारमा खुलापनले आफैंमा अवसर ल्याउने बताए । ‘यसले प्रतिस्पर्धी क्षमताको विकास, प्रविधिले प्रयोगले उत्पादनमा गुणस्तर बढाउने अवसर दिन्छ’ उनले भने ।
तर उनले नेपालले आफ्नै स्थायीय स्रोतमा आधारित उत्पादन वढाउनुपर्नेमा जोड दिए । ‘कुनैपनि देशको एउटा निश्चित ब्रान्ड हुन्छ । स्थानीय स्रोतमा आधारित र विश्वबजारमा प्रतिस्पर्धी वस्तु तथा सेवाको पहिचान नेपालले गर्नसक्छ । व्यापार प्रणालीका सुधारसँगै सूचना प्रविधिको प्रयोगले समग्र यी उपलब्धि हासिल हुनसक्छन्’ उनले भने ।
भारतका पूर्ववाणिज्य सचिव डा. अनुप वाधावनले व्यापारमा जति थोरै नियमन तथा उदार नियम हुन्छ, त्यति धेरै अर्थतन्त्रले लाभ पाउने वताए । ‘कुनै पनि देशले खुला व्यापार अपनाउनुको अर्थ विकसित र प्रतिस्पर्धी अर्थतन्त्रको लाभ लिएर आफूलाई उन्नत बनाउने हो’ उनले भने । अहिलेको समयमा शतप्रतिशत आत्मनिर्भर असम्भव रहेको भन्दै उनले यसै कारण खुला व्यापारको विकल्प कम्तीमा व्यापारमा सिर्जनशीलता चाहनेका लागि नभएको बताए ।
अहिले विश्वमा बहुआयामिक आर्थिक संकट देखिएको तर यो संकट र असरका बाबजुद खुला अर्थतन्त्रमा मात्र सही र सहज समाधान निस्किने उनको दावी छ ।
इन्डियन इन्सिच्युट अफ म्यानेजमेन्ट उदयपुरका विजिनेश पोलिसी एण्ड स्ट्रेटेजीकी अनुसन्धान अध्यक्ष एलिजावेथ लुइज रोजले कुनै पनि अर्थतन्त्रको मुख्य आधार भनेकै साना तथा मझौंला उद्योग हुने वताइन् । अन्तर्राष्ट्रिय व्यापारमा बहुराष्ट्रिय ठूला कम्पनीहरु दृश्यमा वढी आए पनि पनि साना तथा मझौला उद्योग निकै महत्वपूर्ण हुने उनको धारणा थियो ।
काठमाडौ विश्वविद्यालयका उपकुलपति भोला थापाले नेपालले व्यापारको क्षेत्रमा निरन्तर धक्का खाँदै आएको र देशको व्यापार उच्च व्यापार घाटा जोखिमपूर्ण रहेको वताए ।
डब्लुटीओ चेयरस प्रोगामका नलेज म्यानेजमेन्ट डिभिजनका निर्देशक डा. वेर्नर जेडडौकले सदस्य राष्ट्रहरूको व्यापारिक क्षमता विकासका लागि विश्व व्यापार संगठनले नीति निर्माणमा आवश्यक तथ्यगत अनुसन्धान, नीतिगत समीक्षा, मानव संसाधन विकासमा सहयोग गर्ने वताए ।
काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार तथा डब्लुटीओ चेयरस प्रोगामका सहअध्यक्ष प्रोफेसर अच्युत वाग्लले देशको ८५ प्रतिशत व्यापार दुई छिमेकी भारत र चीनसँग मात्र भईरहेकोले व्यापार विविधिकरणलाई नेपालले प्राथमिकता दिनुपर्ने वताए ।
ठूला छिमेकीले इतिहासमा आफ्नो भू–राजनीतिक स्वार्थ पुरा गर्न व्यापारलाई रणनीतिक वस्तुको रुपमा उपयोग गरेकाले व्यापार विविधिकरण महत्वपूर्ण रहेको उनको भनाइ थियो । वस्तु निर्यातमा कमजोर रहँदारहँदै सेवा व्यापारमा पनि नेपाल कमजोर रहेको उनको भनाइ थियो ।
व्यापारमा खुलापन, आर्थिक विकास र आर्थिक दीगोपन विषयमा आयोजित यो अन्तर्राष्ट्रिय सम्मेलन वुधबारसम्म चल्नेछ ।
प्रतिक्रिया 4