२३ फागुन, काठमाडौं । भलिबलकी अरुणा शाही र फुटबलका अञ्जन विष्ट २०७८ सालका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
२०७८ सालमा गरेको प्रदर्शनका आधारमा नेपाल खेलकुद पत्रकार मञ्चले महिला खेलाडीमा अरुणा र पुरुष खेलाडीमा अञ्जनलाई उत्कृष्ट चयन गरेको हो ।
राष्ट्रिय पुटबल टिमका सदस्य अन्जनले फुटबलकै किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पारे ।
वर्ष महिला खेलाडी घोषित भलिबलकी अरुणाले क्रिकेटका सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङ पुनम रावललाई पछि पारिन् । अरुणाकै कप्तानीमा नेपालले बंगलादेश सम्पन्न एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनपिको उपाधि जितेको थियो ।
साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनलमा पुर्याउन श्रीलंका र बंगलादेशविरुद्ध गोल गरेका अञ्जनले विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोटअन्तर्गत समूह बीमा चाइनिज ताइपेइबिरुद्ध ऐतिहासिक गोल गरेका थिए । नेपाल सुपर लिग एनएसलमा सर्वश्रेष्ठ फरवार्ड भएका थिए ।
पिपुल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितिन् । भोटिङका आधारमा विजेता बनेकी उषाले मनोनयनमा परेका फुटबलका अञ्जन बिष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा बिष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् ।
नेपाली राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण सदस्य उषाले नेपालमा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुद सागबाट डेब्यु गरेकी थिइन् । यो प्रतियोगितामा नेपाली महिला भलिबल टोलीले रजत पदक जितेको थियो ।

यस्तै युवा खेलाडीको अवार्ड फुटबलका मनिष डाँगीले जिते । अन्तर्राष्ट्रिय फुटबल पदार्पणमा एशियाकै हेभिवेट फुटबल राष्ट्र इराकबिरुद्ध उनले गरेको गोल उत्कृष्ट थियो ।साफ फुटबल च्याम्पियन्सीपको उद्घाटन खेलमा आयोजक माल्दिभ्सबिरुद्ध उनले निर्णायक गोल गरेका थिए ।

ओलम्पियन पारा खेलाडी पलेशा गोवर्धन श्रेष्ठले पारा एथलिट अवार्ड पाइन् । पलेशाले एशियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जितेकी थिइन् ।
बहराइनको मानमामा भएको एसिया युथ पारामा पलेशाले ५७ केजी मुनी क्याटागोरी ४४ मा स्वर्ण पदक जितेकी उनी एसियन युथ पारामा स्वर्ण पदक जित्ने पहिलो नेपाली हुन् । उनले जापानको टोकियोमा भएको पाराओलम्पिक्समा पलेशाले दुई फाइट जितेकी थिइन् ।

यस्तै वर्षको उत्कृष्ट प्रशिक्षक राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरी घोषित भए ।
नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक रहँदा विवादका पर्याय बनेका अलमुताइरीको प्रशिक्षणमा नेपाल पहिलो पटक एएफसी एशियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो । उनकै प्रशिक्षणमा नेपाल एशिया कपको छनोटसम्म पुगेको थियो ।
माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाउने टोलीका उनी प्रमुख प्रशिक्षक थिए ।
उनले वर्षको उत्कृष्ट प्रशिक्षक बन्ने क्रममा भलिबलका जगदिशप्रसाद भट्ट, बक्सिङका दीपक महर्जन, पारा तेक्वान्दोका कविराज नेगी लामा र क्रिकेटका डेभ ह्वाटमोरलाई पछि पारे ।
यस्तै लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको छ ।

ब्याडमिन्टनका राष्ट्रिय च्याम्पियन खेलाडीहरु सारा देवी तामाङ रत्नजित तामाङ र नङशल तामाङका बुबा दानबहादुर तामाङ र आमा मायादेवी मोक्तानलाई स्पेशल अवार्ड प्रदान गरियो ।

कतारी नागरिक मोहमद हिजीले एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड पाए ।









तस्वीरहरू : आर्यन धिमाल र सुदर्शन रञ्जित/अनलाइनखबर
प्रतिक्रिया 4