
२४ फागुन, वीरगञ्ज । तराई मधेसमा शास्त्रीय परम्परा अनुसार बुधबार होली पर्व मनाइँदैछ ।
मंगलबार फागु पूर्णिमाको दिन होलिका दहन गरेर बुधबार होली खेलिएको हो । फागु पूर्णिमाको दिन होलिका दहन गरेर भोलिपल्ट अर्थात चैत कृष्ण प्रतिपदाको दिन यहाँ होली खेल्ने चलन छ ।
पहाडी क्षेत्रमा फागु पूर्णिमाको दिन नै होली खेल्ने परम्परा छ । तर तराई मधेसमा पूर्णिमाको दिन घरमा नुहाइ धुवाइ गरी सफा सुग्घर भएर कुल देउतालाई पुजा गर्ने, रंग अबिर चढाउने र ढोग्ने चलन छ । अनि टोलको चोकमा भेला भएर होलिका दहन (सम्मत) गरिन्छ ।
पूजा गरेर साईत हेरेर मात्रै होलिका दहन गरिन्छ । त्यसलाई ढोग्दै कौडी, पैसा, खरानी सहितको आगो घर लगिन्छ । धुप बालिन्छ । यसो गर्दा घरमा शान्ति छाउने विश्वास छ ।
बोटसहितको गहुँ, जौ, चना पनि होलिका दहनको आगोमा पोलेर घर लगेर पर्सादको रुपमा ग्रहण गरिन्छ ।
वीरगञ्जका सन्तोष चौरसिया होलिका दहनपछिको आगो र सिक्का घर लैजाँदा शुभ हुन्छ भन्ने मान्यता रहेको बताउँछन् ।
होलिका दहनपछि कौडी, पैसा बटुल्ने, बलेको आगो लगेर घरमा धुप बाल्ने मारवाडी समुदायको परम्परा भएपनि मधेसी समुदायले समेत ग्रहण गरेको कतिपयको दावी छ ।
मंगलबारलाई खैर दिन अर्थात कडा दिनको रुपमा बार्ने हरुले मंगलबार माछामासु नखाने हुँदा बुधबार होली मनाइरहेका छन् ।
वीरगञ्ज १० घडिअर्वाका शम्भु साह कानुका अनुसार आइतबार होली पर्यो भने सोमबार, मंगलबार पर्दा बुधबार र बिहीबार पर्दा शुक्रबार मनाउने चलन पहिलेदेखि नै रहेको बताए ।
वीरगञ्ज- १० घडिअर्वाका प्रकाश रौनियारले होलिका दहन पछि होली मनाउने चलन रहेको बताए ।
पहाडमा बसेका तराईमूलका मानिसहरुले पनि बुधबार नै होली मनाइरहेको उनको भनाइ छ । उनीहरुसँग अन्य समुदायका मानिसहरु समेत ‘जोगिरा सररर’, ‘होली है’ भन्दै रंगअबिर दलेर रमाइरहेका छन् ।
मधेस प्रदेश साँस्कृतिक विविधताले भरिपूर्ण प्रदेश हो । यहाँ पहाडी, मधेसी, मुस्लिम, थारु समुदायका बासिन्दा मात्रै नभएर छिमेकी मुलुक भारतका नागरिक पनि बसोबास बस्छन् ।
पहाडी समुदायले फागु पूर्णिमा कै दिन होली खेल्छन्, त्यसमा सबै सहभागी हुन्छन् । तर शास्त्रीय परम्परा अनुसार मंगलबार एकम अर्थात प्रतिपदा तिथि अपरान्हबाट मात्रै सुरु भएकोले होली बुधबार खेलिएको दावी वीरगञ्ज घडिअर्वास्थित रामजानकी मन्दिरका पुजारी शम्भुनाथ तिवारीको छ ।
‘पहाडमा पूणिर्मको दिनमा होली मनाईन्छ, तर तराईमा पूर्णिमाको दिनमा होलिका दहन गर्ने हो, मंगलबार पूर्णिमा भएकोले होलिका दहन भएको छ, तराईमा चैत कृष्ण प्रतिपदा (एकम) को दिन होली मनाइन्छ,’ पुजारी तिवारीले भने, ‘मंगलबार अपराह्न चारबजेपछि मात्रै प्रतिपदा सुरु भएको छ बुधबार दिनभरि रहन्छ, त्यसैले बुधबार होली खेलिन्छ, शास्त्रीय परम्परा यही हो, माछामासुको कारणले हैन ।’
होलीमा विकृति भित्रिएको भन्दै पाकापुस्ता चिन्तित
मधेशी समुदायले होलीमा मिठा-मिठा खानेकुरा खाएर, एक आपसमा रंग अबिर दल्दै शुभकामना आदान प्रदान गरेर पर्व मनाउँछन् ।
होली पर्वमा परम्परा लोप हुँदै गएर विकृति मौलाएकोमा पाकापुस्ता चिन्तित छन् । होलीमा रक्सी खाने, होहल्ला गर्ने विकृति पछि भित्रिएको दाबी उनीहरुको छ ।
पहिला होलीमा दुश्मनी भूलेर मित्रता कायम गर्ने गरिएकोमा अहिले वर्षोदेखिको मित्रतामा फाटो आउने गरेको उनीहरुको तर्क छ ।
वीरगञ्जका लक्ष्मण साह होली एकदमै राम्रो पर्व भएपनि रक्सी खानेहरुले विकृत बनाइदिएको गुनासो गर्छन् । पछिल्ला वर्षको होली उनलाई राम्रो लाग्न छोडेको छ ।
‘होली एकदमै राम्रो पर्व हो, तर रक्सी खाएर गलत बनाइदिएका छन्,’ उनले भने, ‘पहिले घर घरमा गएर खुशी साटासाट गरेर पर्व मनाउँथे, दुश्मनी त्यहि दिन खत्तम हुन्थ्यो । अहिले त्यही दिनबाट दुश्मनी सुरु भइरहेको छ ।’
रामेश्वर साह कानु लक्ष्मणको कुरामा सहमत छन् । ‘ पहिला गीत गाउँथेम, ढोल बजाउँथेम, सबै खुशीले रमाउथेम, वर्षोदेखि झगडा भएको होलीको दिन अबिर लगाउँथे, अंकमाल गर्थे, पहिलाको दुःख बिर्सिन्थे,’ उनले भने, ‘तर हिजोआज वर्षोदेखि राम्रो भएको मान्छेहरुबीच होलीको दिन लातालाती हुन्छ । पहिलेजस्तो रमाईलो हुँदैन, कोहि कसैको कुरा मान्दैन, आ-आफ्नो तालसुरमा हुन्छन, आफूभन्दा ठूलालाई पनि केहि गन्दैनन् ।’
होलीमा अन्य पर्वहरू जस्तो व्रत लिने, शुद्ध चोखो खाने जस्ता धार्मिक नियम छैन । रमाइलो गर्ने, आफन्तजन इष्टमित्रसँग भेटघाट गर्ने, सामूहिक खानपिन गर्ने चलन छ । त्यसैले यो सबैको प्रिय पर्व हो ।
आफन्त इष्टमित्र साथीभाइलाई समेत घरमा बोलाएर मासुका परिकार, मालपुवा पकौडा आदि खुवाइन्छ । मान्यजन तथा ठूलाबडासँग रंग लगाएपछि कनिष्टले खट्टामै ढोगेर आशीर्वाद लिन्छन् । विकृतिको बारेमा प्रश्न गर्दा नयाँ पुस्ताले नराम्रो मान्ने गरेको दुखेसो पुजारी शम्भुनाथ तिवारीको छ ।
‘माछामासु खाने, दारु पिएर सडकमा ढल्ने परम्परा हैन, विकृति हो । सबै दुश्मनी भुलेर रंग अबिर खेल्ने, मिठो खाने हाम्रो परम्परा हो,’ उनले भने, ‘विकृति बढेकोमा चिन्ता त लाग्छ, तर हामी के गर्ने ? सम्झायो भने गाली दिन्छन् । नियम हामी भनिदिन्छौं, कार्यान्वयन गर्ने, विकृति रोक्ने दायित्व समाज र राज्यको हो ।’
हरेक साँस्कृतिक पर्वको आ-आफ्नो मौलिकता छ । मौलिकता भूलेर डिजे सँस्कृतिमा रमाउने प्रवृत्ति बढ्दैछ । पर्व सँस्कृति परम्पराका सकारात्मक पाटा पनि छन् ।
युवापुस्ताले होली पर्वमा रमाउँदै गर्दा यसको मौलिकतालाई पनि सँगसँगै लैजानुपर्ने आवश्यकता देखिएको समाजका अगुवाहरु बताउँछन् ।
प्रतिक्रिया 4