
२१औं शताब्दीमा सानोभन्दा सानो काम पनि इन्टरनेटको माध्यमबाट हुन थालेको छ। संयुक्त राष्ट्रसंघको सन् २०२२ को प्रतिवेदन अनुसार विश्वमा ३७ प्रतिशत महिला इन्टरनेटको प्रयोग गर्दैनन् वा इन्टरनेटको पहुँचबाट टाढा छन्। यस किसिमको डिजिटल असमानताले सामाजिक असमानतामा प्रत्यक्ष असर गरेको छ।
यति मात्र होइन, संयुक्त राष्ट्रसंघबाट विश्वका ५१ राष्ट्रहरूको अध्ययन प्रतिवेदनमा करिब ३८ प्रतिशत महिला अनलाइन हिंसामा परेको उल्लेख भएको छ। महिलाहरू भौतिक रूपमै हिंसाको सिकार भई विभिन्न क्षेत्रमा पछाडि पर्दै आएको सन्दर्भमा अब यस किसिमको अनलाइन हिंसाले थप समस्या उत्पन्न भइरहेको छ। डिजिटल असमानताले महिलाको सामाजिक उपस्थितिमा परेको प्रभावलाई न्यूनीकरण गर्नु आजको प्रमुख काम हो।
संयुक्त राष्ट्रसंघको युएन वुमन्स जेन्डर स्नापशट रिपोर्ट २०२२ अनुसार महिलालाई डिजिटल समाजबाट अलग गर्दा विभिन्न देशमा करिब एक सय खर्ब अमेरिकी डलरको हानिनोक्सानी भएको छ।
सन् २०२५ सम्ममा यो बढेर करिब डेढ यस खर्ब अमेरिकी डलर पुग्न सक्ने अनुमान गरिएको छ। यस सन्दर्भमा संयुक्त राष्ट्रसंघले यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा डिजिटल समाजमा महिलाको सुरक्षालाई प्राथमिकता राखी ‘डिजिटअल’ को नारा अघि सारेको छ।
सन् १९११ बाट अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आएकोमा विश्वमा भइरहेको परिवर्तनलाई आत्मसात् गर्दै यस वर्ष महिलाहरूको डिजिटल समाजमा सहभागिताको सुनिश्चितताको लागि ‘डिजिटअलः इन्नोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ।
यो नारा संयुक्त राष्ट्रसंघको कमिसन अफ द स्टाटस अफ वुमनको ६७औं अधिवेशनको प्रमुख विषयवस्तु ‘इन्नोभेसन एण्ड टेक्निकल चेञ्ज एण्ड एजुकेशन इन द डिजिटल एज फर अचिभिश्र जेन्डर इक्वालिटी एण्ड दि इम्पावरमेन्ट अफ अल वुमन एण्ड गर्ल्स’ मा आधारित छ।
विश्वको पहिलो प्रोग्रामर महिला भए पनि तिनका विषयमा कमै मात्र प्रचारप्रसार भएको देखिन्छ। अन्तर्राष्ट्रिय दूरसञ्चार संघको प्रतिवेदन अनुसार विश्वमा विज्ञान तथा प्रविधिको क्षेत्रमा ३० प्रतिशत मात्रै महिला छन्।
अन्तर्राष्ट्रिय दूरसञ्चार संघले आफ्नो १५७ वर्षको इतिहासमा बल्ल यस वर्ष मात्र महिला महासचिव निर्वाचित भएको देखिन्छ। यसले विश्वमै प्रविधिको क्षेत्रमा महिलाहरूले गरेको योगदान ओझेलमा परेको र महिलाहरूले नेतृत्वदायी भूमिकामा पुग्न निकै संघर्ष गर्नुपर्ने देखाउँछ।
तसर्थ, प्रविधिको क्षेत्रमा अहोरात्र खटिएका महिलाहरूले गरेका योगदानलाई बुलन्द पार्नुपर्ने आजको आवश्यकता भइसकेको छ। साथै महिलाहरूलाई प्रविधिको क्षेत्रमा नेतृत्वदायी भूमिकामा ल्याउन आवाज उठाउन जरुरी भइसकेको छ।
यसका लागि प्रविधिको क्षेत्रको नीतिनिर्माण, संरचना निर्माण लगायत कार्यमा बन्ने विभिन्न कार्यदल, अध्ययन टोली, सभा, सम्मेलन इत्यादिमा महिलाहरूको अनिवार्य उपस्थिति बढाउँदै लगेमा प्रविधिको क्षेत्रमा सबल महिला नेतृत्व विकास हुने देखिन्छ।
विश्वमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आएको ५० वर्ष पश्चात् मात्रै नेपालमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आएको अवस्था छ। यस वर्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ ११३औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ।
महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइँदैछ।
नेपालमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा महिला उपस्थिति न्यून भएको तीतो यथार्थलाई स्वीकार गरी ब्रोडब्याण्ड नीति, २०७१ मा लैंगिक विभेदमुक्त सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिने उल्लेख छ।
सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ मा लैंगिक असमानता कम गर्नुका साथै लैंगिक हिंसा रोकथाम गर्ने र त्यस सम्बन्धी उजुरी प्रक्रिया सहज बनाउन तथा त्यस प्रकारका घटनाहरू सम्बोधनमा समन्वय प्रवर्धन गर्न सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई बढाइने उल्लेख छ।
साथै, ग्रामीण क्षेत्रमा विभिन्न सरकारी एवं गैरसरकारी संस्थाहरू मार्फत युवा तथा महिलाहरूलाई सूचना तथा सञ्चार प्रविधि सम्बन्धी तालिम सञ्चालन गरिने, सूचना तथा सञ्चार प्रविधिको प्रयोग मार्फत युवा तथा महिलाहरूलाई राष्ट्रिय नीति निर्माण, योजना तर्जुमा लगायत प्रक्रियाहरूमा सहभागी गराइने र स्टार्ट अपलगायत इन्क्युबेटर परियोजनाहरूको प्रवर्धन मार्फत युवा तथा महिलाहरूमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उद्यमशीलता विकास गर्न नीतिगत व्यवस्था गरिने उल्लेख गरेको छ।
नेपाल सरकारले अवलम्बन गरेको डिजिटल नेपाल निर्माणमा महिलाहरूले समान सहभागिता जनाई अर्थपूर्ण योगदान पुर्याउनु आजको आवश्यकता हो। नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल सरकारबाट आफ्नो नीति तथा कार्यक्रममा सिर्जनात्मक कार्यक्रमहरू प्रस्तुत गर्न अपरिहार्य भइसकेको छ।
यसका लागि महिलाहरूलाई इन्टरनेटको पहुँचमा पुर्याउन तथा सुरक्षित इन्टरनेटको अनुभूति गराई डिजिटल क्षमता अभिवृद्धि गरी विज्ञान, प्रविधि, गणित तथा इन्जिनियरिङ विषयमा आधारित प्रविधिमैत्री पेशामा बढीभन्दा बढी महिलाहरूलाई क्रियाशील बनाउनुपर्दछ।
चालू आ.व.को डिजिटल साक्षरता कार्यक्रममा आधा आकाश ढाकेका महिलाहरूको कम्तीमा पनि ५० प्रतिशतको सहभागिता सुनिश्चित गर्नुपर्ने देखिएको छ। सूचना तथा सञ्चार प्रविधिमा महिलाहरूको उपस्थितिलाई मापन गर्न सरकारी तथ्यांक निर्माण गर्न ढिला भइसकेको छ।
सामाजिक घर–व्यवहारमा महिलालाई केन्द्रविन्दुमा राखे जस्तै प्रविधिको क्षेत्रमा महिलालाई केन्द्रमा राखी अघि बढेमा सबै क्षेत्रमा प्रविधिमैत्री सेवा व्यापक रूपमा अघि बढाउन सकिने देखिन्छ। प्रविधिको क्षेत्र अन्य क्षेत्रको सहजीकरणमा हातेमालो गर्दै अघि बढ्न सकिने क्षेत्र हो।
महिलालाई यस क्षेत्रमा सक्रिय सहभागिता गराएमा संयुक्त राष्ट्रसंघले अगाडि सारेको लैंगिक समानता, गरिबी निवारण तथा भोकमरी नियन्त्रण जस्ता दिगो विकासका लक्ष्य पूर्तिमा सहयोग पुग्ने देखिन्छ।
लेखक नेपाल दूरसञ्चार प्राधिकरणको उप-निर्देशक हुन्।
प्रतिक्रिया 4