
३० फागुन, विराटनगर । प्रदेश १ को ठूलो सरकारी कलेज महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा प्रमुख तीन दलका विद्यार्थी संगठन एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् ।
कांग्रेसको नेपाल विद्यार्थी संघ, एमालेको अनेरास्ववियु र माओवादी केन्द्रको अखिल क्रान्तिकारीले छुट्टाछुट्टै प्यानल बनाएका छन् । विराटनगरकै स्नाकोत्तर (डिग्री) क्याम्पसमा भने एमाले निकट अनेरास्ववियुविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले तालमेल गरेका छन् ।
महेन्द्र मोरङमा नेविसंघले अध्यक्षमा जसवन्त पौडेल र सचिवमा पूजा विश्वकर्मालाई उम्मेदवार बनाएको छ । अनेरास्ववियुले अध्यक्षमा नवीन पहाडी र सचिवमा सनिम ठकुरीलाई उम्मेदवार बनाएको छ ।
अखिल क्रान्तिकारीले अध्यक्षमा रोहित यादव र सचिवमा आशिका लम्साललाई उठाएको छ । अखिल क्रान्तिकारीका अध्यक्षलाई जसपाको विद्यार्थी संगठनले पनि समर्थन गरेको केन्द्रीय सदस्य अभिमन्यू यादवले बताए ।
जनमत पार्टीको विद्यार्थी विद्यार्थी संगठनले पनि अध्यक्षमा आफूहरुलाई समर्थन गर्ने अखिल क्रान्तिकारीका नेताहरुले बताएका छन् । उसले अध्यक्षबाहेकका पदमा भने आफ्नै उम्मेदवार बनाएको छ ।
२०६५ सालमा भएको स्ववियू निर्वाचनमा महेन्द्र मोरङमा अखिल क्रान्तिकारीका तत्कालिन उम्मेदवार जयराम सुन्दास विजयी भएका थिए । १४ वर्षपछि हुन लागेको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा छ ।
स्नातकोत्तर क्याम्पसमा भने अनेरास्ववियुले निर्मल गजुरेललाई अध्यक्षको उम्मेदवार बनाएको छ । नेपाल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा निकट विद्यार्थी संगठनको तर्फबाट अखिल क्रान्तिकारीका शशी यादव अध्यक्षको उम्मेदवार छन् ।
महेन्द्र मोरङ कलेजमा ५ हजार ७ सय ९० जना र डिग्री क्याम्पसमा ३३४ जना मतदाता छन् ।
प्रतिक्रिया 4