+

नयाँ प्रशिक्षक भन्छन् : नेपाली फुटबलको विकासका लागि सबैसँग मिलेर काम गर्छु

२०७९ फागुन  ३० गते १४:२१ २०७९ फागुन ३० गते १४:२१
नयाँ प्रशिक्षक भन्छन् : नेपाली फुटबलको विकासका लागि सबैसँग मिलेर काम गर्छु

३० फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नेपाली फुटबलको जिम्मेवारी सम्हाल्न आफू निकै उत्साहित रहेको बताएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको अन्तर्क्रियामा उनले नेपाली फुटबलको विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताए ।‘म निकै उत्साहित र उच्च मनोबलका साथमा नेपाल आएको छु,’ एनेसले भने, ‘म नेपाली फुटबल विकासका लागि सबैको सुझाव लिँदै सबैसँग मिलेर काम गर्नेछु ।’

इटालियन मुलका प्रशिक्षक एनेस नेपाल आउनअघि बेलिजको प्रशिक्षक थिए । त्यस्तै उनले भारत र यूरोपका केही क्लबमा प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । ‘नेपाली राष्ट्रिय टिमको जिम्मेवारी पाउनु मेरो लागि ठूलो कुरा हो । २÷३ वर्षयता म यो अवसरको खोजीमा थिएँ । मैले नेपाली टिमलाई नियालिरहेको थिएँ । यो अवसरले मलाई र मेरो करिअरलाई तिखार्न अझ मद्दत मिल्नेछ ।’

३९ वर्षीय प्रशिक्षक एनेसले केही नयाँ अनुहारका साथै अनुभवी खेलाडी लिएर टिम बनाउन चाहेको बताए । चैत ८ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि टिम बनाउने गृहकार्यमा लागेका उनले भने, ‘म पूरै नयाँ टिम बनाउँदिन । परिवर्तन विस्तारै विस्तारै गर्दै जाने हो ।’ यो प्रतियोगिताबाट केही राम्रो सुरुवात गर्ने उनले बताए ।

शहीद स्मारक ए डिभिजन लिग फुटबल सुरु हुनुअघि नै नेपाल आएका उनले लिगका खेलहरु हेरिरहेका छन् । लिगमा थोरै गोलहरु हुने गरेको र गोल संख्या बढाउने गरी अट्याकिङ फुटबल खेलाउनेमा आफू विश्वास गर्ने उनले बताए । ‘नेपाली फुटबलका गोल कम हुन्छ । म त्यो गोल संख्या बढाउन चाहन्छु । अट्याकिङ फुटबल मानसिकता नेपाली फुटबलमा विकास गर्न चाहन्छु ।’

ए डिभिजन लिगका प्रशिक्षकबाट नेपाली फुटबल र खेलाडीको बारेमा जानकारी लिने र उनीहरुलाई केही सुझाव दिने गरेको बताएका एनेसले यो कार्य जारी राख्ने छन् । ‘म केही कुराहरु उनीहरुबाट सिक्नेछु । केही कुरा म उनीहरुलाई सिकाउने छु ।’

इन्डोनेसियामा प्रशिक्षणका बेला रोहित चन्दलाई चिनेका उनी गोलकिपर किरण चेम्जोङबारे पनि जानकार छन् । ‘म केही खेलाडी चिन्छु । नेपालमा राम्रा यूवा स्ट्राइकरहरु छन् उनीहरुमा मलाई विश्वास छ ।’
नेपाली खेलाडीले फिजिकल फिटनेसमा ध्यान दिनुपर्ने उनले ठम्याएका छन् । फिटनेसको समस्याका कारण उनीहरुमा इन्जुरी समस्या आइरहेका प्रशिक्षक एनेसले बताए ।

लिग खेलिरहेका अफ्रिकी खेलाडीबाट नेपाली खेलाडीले केही कुरा सिक्नु पर्ने पनि उनको भनाइ छ । ‘ए डिभिजन लिग खेल्न बाहिरबाट आएका खेलाडीबाट नेपाली खेलाडीले धेरै कुरा सिक्न सक्छन्,’ उनले भने, ‘उनीहरुको फिजिकल फिटनेस खेलमा अट्याकिङ मानसिकता केही उदाहरणीय पक्ष हो ।’

सामाजिक सञ्जालमा कम सक्रिय एनेस आफूले कम बोल्दै काम गर्न मन पराउने बताए । ‘म धेरै बोल्न मन नपराउने मानिस हुँ । म आफ्नो काम राम्रो गर्ने बलियो मानसिकता भएको स्वस्थ मानिस हुँ ।’
उनले नेपाली खेलाडीले जितेर रमाएको हेर्न आफूले चाहेको बताए । एनेसले भने ‘खेलाडीले जितेको र रमाएको हेर्न चाहन्छु । नेपाली समर्थकले पूर्व प्रशिक्षकलाई निकै माया दिनुभयो । म पनि उत्तिकै प्रयास गर्नेछु । उत्तिकै माया वा त्यो भन्दा बढी माया पाउने आशा गरेको छु ।’

अल्बर्टो एनेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय