
३० फागुन, काठमाडौं । राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले सरकारले रासायनिक मलमा अनुदान कटौती गरेकामा विरोध जनाएको छ । संगठनले मंगलबार एक विज्ञप्ति जारी गरी सरकारले किसानको चासो र मागमा समाधान खोज्नुको सट्टा उल्टै किसानहरुलाई प्रत्यक्ष मार पार्ने गरी मलमा मूल्यवृद्धि हुने निर्णय गरेको बताएको छ ।
‘यसबाट सत्तासिन वर्गले किसानलाई हेर्ने दृष्टिकोण उदांगो भएको छ । आफूलाई परिवर्तनकारी तथा अग्रगमनका हिमायती भन्ने सत्तासिनहरुले आफ्नो सेवा सुविधालाई बढाउँदै लाने, ऋण लिएरै वा ब्याज तिरेरै भएता पनि तलब भत्ता वृद्धि गर्दै जाने तर गरिब, विपन्न र निमुखा जनताको हितमा कहिले नसोच्न कार्य अत्यन्त निन्दनीय छ’ संयोजक सुजित केसीले विज्ञप्तिमा भनेका छन् ।
कृषि क्षेत्रलाई कमजोर सिद्ध गरी आयातलाई थप प्रवर्द्धन गर्ने निहित स्वार्थबाट प्रेरित भएर सरकारले यो निर्णय गरेको संगठनले आरोप लगाएको छ । किसानलाई प्रोत्साहन दिई कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको प्रमुख मानक बनाउनुपर्ने समयमा राज्यले असंवेदनशील, गैरन्यायिक र हेपाहा व्यवहार देखाएको पनि संगठनको आरोप छ ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले मलमा अनुदान घटाउने निर्णय फिर्ता नलिए र किसानको समस्यामा नजर अन्दाज गरिरहे कठोर संघर्षका कार्यक्रम घोषणा गर्ने पनि चेतावनी दिएको छ ।
प्रतिक्रिया 4