+

मोन्टी देशाई : नेपाली क्रिकेटको सफलताका सारथि

२०७९ चैत  २ गते २२:१४ २०७९ चैत २ गते २२:१४
मोन्टी देशाई : नेपाली क्रिकेटको सफलताका सारथि

२ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा अविश्वसनीय क्लाइमेक्सले नेपाललाई एकदिवशीय विश्वकपको ग्लोबल क्वालिफायरमा पुर्‍याएको छ ।

आईसीसी वरियताको १४ देखि २० स्थानमा रहेका सात टिमबीच तीन वर्ष लामो शृंखला नेपालले तेस्रो स्थानमा रहेर टुंग्यायो । शृंखलाको अन्तिम खेल नेपालका लागि विश्वकप क्वालिफायरमा सिधा प्रवेशका लागि निर्णायक थियो । यद्यपि एकदिवशीय अन्तर्राष्ट्रिय मान्यताको निरन्तरता सुनिश्चित गर्न भने नेपाल दुई खेल अगावै सफल भइसकेको थियो ।

बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा यूएईले टस जितेर ब्याटिङ गर्दा ३१० रनको योगफल खडा गरेको थियो । नेपालले एकदिवशीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै सबैभन्दा बढी लक्ष्य पूरा गर्नुपर्ने थियो । साँझ ५ बजेर ३७ मिनेटमा खराब प्रकाशका कारण अम्पायरले खेल रोक्ने निर्णय गर्नुअघि नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । त्यतिबेलासम्म नेपाल डकवर्थ लेविस प्रणाली अनुसार पार स्कोर (२६०) रनभन्दा ९ रनले अगाडि थियो ।

र, नेपाल सोही प्रणालीको आधारमा ९ रनले विजयी रह्यो । यो जित नेपालका लागि एकदिवशीय अन्तर्राष्ट्रियमा लगातार छैटौं जितसमेत रह्यो ।

‘खेलको सम्पूर्ण प्राविधिक पक्षलाई राम्रोसँग बुझेर खेल्नाले यो सबै सम्भव भयो । यूएईले आफ्नो राम्रो योजनाका साथ हामीलाई छेउमा उभ्याइसकेको थियो । उनीहरु पनि योजना बनाउन माहिर छन् । उनीहरुले पनि आफूले सक्दो गरे । तर, हामी आफ्नै क्षमतामा विश्वास गरिरहेका थियौं,’ जितपछि प्रशिक्षक मोन्टी देशाईले भनेका छन् ।

नेपाल क्रिकेटको अहिलेको सफलताबाट सारा देश दंग छ । बिहीबार कीर्तिपुर रंगशालामै पुगेका १५ हजारबढी समर्थकले पनि निर्णायक जितको स्वाद लिएका छन् । तर, आजभन्दा ठीक महिना दिनअघि अर्थात् २ फागुनमा लिग टूका ९ मध्ये सातौं त्रिकोणात्मक शृंखला सुरु गर्नुअघि नेपाल क्रिकेट धेरै नै कठिन अवस्थामा थियो ।

सन् २०१९ को अगष्टदेखि सुरु भएको लिग टू शृंखलामा नेपालले आफ्नो पहिलो खेल यही कीर्तिपुरमा सन् २०२० को फेब्रुअरीमा खेलेको थियो । त्यसयता २४ खेलमा ८ जितसहित १८ अंक बनाउँदा लिगको शीर्ष तीन त परै जाओस चार वर्षका लागि सन् २०१८ को मार्चमा पाएको एकदिवशीय मान्यतासमेत गुम्ने खतरा थियो ।

टिम यही थियो, खेलाडीहरु यिनै थिए । क्यानको नेतृत्व र सुविधा पनि उस्तै थिए । तर, टिमले जित्न बिर्सेको थियो । शृंखलामा हारेका खेलको संख्याले नेपाललाई गिज्याइरहेको थियो । ठीक त्यही बेला नेपालको एकदिवशीय मान्यता जोगाइदिने आशा र अपेक्षासहित नेपाल क्रिकेट संघ (क्यान)ले भारतका मोन्टी देशाईलाई टिमको मुख्य प्रशिक्षकमा नियुक्ति दियो ।

नेपालकै पूर्व प्रशिक्षक डेभ ह्वाटमोर, नेपालको बलिङ सल्लाहकारका रुपमा काम गरिसकेका श्रीलंकाली धम्मिका प्रसाद, बंगलादेश टिमको प्रमुख प्रशिक्षण छाडेर बसेका दक्षिण अफ्रिकी क्रेग डोमिंगो र न्युजिल्याण्ड टिमका पूर्व प्रशिक्षक ग्लेन पोकनेललाई छाडेर क्यानले मोन्टीलाई विश्वास गरेको थियो ।

लिग टू शृंखला सुरु भएदेखि नेपालको प्रमुख प्रशिक्षक बन्ने मोन्टी पाँचौं व्यक्ति थिए । चारै प्रशिक्षकले आफ्नो कार्यकाल पूरा गरेनन् । अफगानिस्तान (तत्कालीन), यूएई र क्यानडाजस्ता शीर्ष एशोसिएट तथा वेष्ट इण्डिजजस्तो टेष्ट टोली र इण्डियन प्रिमियर लिग (आईपीएल)मा लामो अनुभव बोकेका यी प्रशिक्षकले पनि परिस्थिति बुझेरै चुनौती लिएका थिए ।

सन् २०१४ को टी–२० विश्वकपदेखि नै कुनै न कुनै भूमिकामा नेपाल क्रिकेटसँग जोडिएका मोन्टी राष्ट्रिय टिममा अहिले खेलिरहेका अधिकांश खेलाडीको क्षमताबारे जानकार थिए । १३ माघमा नेपाल आएदेखि नै उनले ‘ह्याप्पी ड्रेसिङ रुम’को चलाखीपूर्ण रणनीति अपनाए । लगातारको हारबाट टिम संघर्षरत थियो, टिमभित्र एकताको अवस्था थिएन र प्रशिक्षक फेरिरहनुको नियतिबारे मोन्टी पूर्णतः जानकार थिए ।

उनको रणनीतिले पहिलो खेलदेखि नै प्रभाव देखाउन थाल्यो, जव नेपालले लिग टूमा नामिवियालाई पहिलोपल्ट पराजित गर्यो । २–९ फागुनमा घरेलु मैदानमा भएको शृंखलामा नेपालले शतप्रतिशत जित निकालयो । त्यसमा च्याम्पियन स्कटल्याण्डमाथिको दुवै जितले टिमको मनोबल ह्वात्तै उठायो ।

१५–२२ फागुनमा यूएईमा चारमध्ये तीन खेल जितेर नेपाल फर्किएको टिमले २५ फागुनदेखि २ चैतसम्म शतप्रतिशत जितसहित अविश्वसनीय सफलता दिलाउन सक्यो । यो जितले लिग टूमा नामिवियालाई पछि पार्दै नेपाल सिधै एकदिवशीय विश्वकपमा पुगेको हो ।

मोन्टीलाई एकदिवशीय मान्यता बचाइदिने टास्क दिइएको थियो । उनले सिधै एकदिवशीय विश्वकप छनोटसम्मको सफलता नेपालका लागि ‘बोनस’ उपलब्धी दिए । मोन्टीले यो सबै उपलब्धीको श्रेय पाएका छन् । यो सफलता नै नेपाल क्रिकेटमा अब मोन्टी युग सुरु भएको मान्न थालिएको छ ।

‘म त्यही नै भन्छु मैले मेरो काम अनुशासित भएर गरेको हुँ । सबैले आफ्नो भूमिका सम्झिएर खेले । सबैले अनुशासित भएर आफ्नो तर्फबाट उत्कृष्ट दिएका थिए । सबैले हरेक पटक एकदमै राम्रो गरे । हामी झन झन् बलियो हुँदै आयौं,’ विहीबारको सफलतापछि मोन्टीले भनेका छन् ।

मोन्टीले टिमका सबैमा सकारात्मक उर्जा भरेका छन् । सामुहिक खेलमा एकतावद्ध टिमले ठूलो अर्थ राख्न । काठमाडौं ओर्लिएको पहिलो दिनदेखि नै मोन्टीले आफूलाई त्यसैमा केन्द्रित गरे । लिग टूका पछिल्ला १२ मध्ये ११ खेल जित्ने क्रममा उनले टिमका १५ जना खेलाडीलाई अवसर दिए । फरक फरक समयमा फरक फरक खेलाडीले जिम्मेबारी लिएर खेले र जित दिलाए । टिममा एकताको भावना, प्रतिस्पर्धाको शैली र आत्मविश्वास भर्ने काममा ध्यान दिए । त्यसैले त बिहीबार इतिहासकै उच्च लक्ष्य पछ्याएको टिमले तीन विकेट सुरुमै गुमाउँदा पनि आफ्नो लय गुमाएन । नेपालको इनिङ्समा चार ब्याटरले अर्धशतकीय पारी खेलेका थिए ।

‘लक्ष्य र सपना थियो त्यो पूरा भएको अनुभव हुँदैछ । खेलाडीले गरेको योगदान र प्रर्दशनले नै यो सम्भव भएको हो । अझ विशेषतः सर आएबाट हामीमा एक किसिमको मोमेन्टम आयो । यसको ठूलो श्रेय सरलाई जान्छ,’ सफलताको श्रेय प्रशिक्षक मोन्टीलाई दिएका कप्तान रोहितकुमार पौडेल भविष्यप्रति पनि आशावादी छन्, ‘आगामी दिनमा हामी राम्रो टिमसँग खेल्छौं । ‘वान बल ब्याटल’ नै हो । जस्तो टिमको जुन बलरले फाले पनि त्यही बल नै खेल्ने हो ।’

प्रशिक्षक मोन्टीले परिवारका रुपमा टिमका लागि सानो भूमिकामा रहेर काम गर्नेहरु समेतको सकारात्मक भावले यो सफलता आएको सुनाउँछन् । उनले व्यवस्थापनको सन्तुलनतालाई पनि उत्तिकै महत्वपूर्ण मानेका छन् ।

‘यो जितमा व्यवस्थापन र खेलाडीको सहकार्यले सम्भव भएको हो । हामी च्याम्पियन टिम कस्तो हुन्छ भनेर देखाउन चाहन्थ्यौं । हामीले विगतका गल्तीमा कहिलै पश्चाताप गरेनौं । भविष्य हेरेर खेल्यौं,’ उनले थपे, ‘टिमका सबै खेलाडी, व्यवस्थापन, मेडिकलदेखि ससानो भूमिकामा रहेका सबै एक परिवार हौं । परिवार जति ठूलो हुन्छ त्यति नै राम्रो हो ।’

प्रशिक्षक देशाई नेपाल क्रिकेटमा अनौंठा सफलताहरुको सुरुवात भएको मान्छन् । उनी खेलाडीलाई भविष्यका लागि उत्साहित बनाइरहेका छन् । खेलाडीलाई आफ्ना योजनाहरु सम्झाइरहेका छन्, आफूसँग अभ्यस्त बनाइरहेका छन् । जितको खुसीमा मात्र होइन हारको दुखमा पनि टिमसँगै रहन उनले समर्थकलाई सुझावसमेत दिएका छन् ।

‘मैले कहिले पनि यति ठूलो समर्थन एशोसियट क्रिकेटमा देखेको थिइनँ । यति ठूलो संख्यामा आएर समर्थन गरिदिनुभएकोमा धन्यवाद,’ मोन्टीले भनेका छन्, ‘यो टिम हुर्किंदै छ । कुनै दिन सोचे जस्तो नतिजा नआउन पनि सक्छ तर, समर्थन गरिरहनु । किनभने उनीहरु निकै मिहिनेत गर्दै छन् । उनीहरुले सिकाएको कुरा एकदमै राम्रोसँग सिक्दैछन् ।’

मोन्दीले कसैको नाम नलिई नेपाल क्रिकेटले विश्वस्तरमा ठूलो ठाउँ पाउन योग्य रहेको बताए । यो देशको संघर्ष र सफलता तथा यात्राको प्रक्रियामा ध्यान दिन उनको अनुरोध छ । ‘केही छिमेकी राष्ट्रहरु यो टिममाथि पनि कृपया आँखा लगाउन किनभने यो टिमले पनि उत्तिकै स्थान पाउन योग्य छ । यो देशले पनि केही कथा बुन्दै छ । यो देशलाई समर्थनको जरुरत छ,’ उनले थपे ।

नेपालले आउने जुन/जुलाइमा जिम्बाब्बेमा हुने एकदिवशीय विश्वकप ग्लोवल क्वालिफायर खेल्नेछ । त्यो प्रतियोगितामा १० टिमको सहभागिता रहन्छ । आईसीसी सुपर लिगको अन्तिम पाँच स्थानमा रहने टिम, लिग टूका शीर्ष तीन टिम र यही मार्च अन्तिममा नामिवियामा हुने ग्लोवल क्वालिफायर प्लेअफका शीर्ष दुई गरी १० टिमले ग्लोबल क्वालिफायर खेल्नेछन् । लिग टूका शीर्ष तीन– स्कटल्याण्ड, ओमान र नेपालसँगै सुपर लिगका अन्तिम दुई टिम जिम्बावे र नेदरल्याण्ड्सले मात्र ग्लोवल क्वालिफायर खेल्ने निश्चित भएको छ । सुपर लिगका बाँकी खेल र प्लेअफ प्रतियोगिताले बाँकी टिमको टुंगो लगाउनेछ ।

त्यसअघि नेपालले आगामी ११–२५ वैशाखमा नेपालमै हुने एसीसी प्रिमियर कप क्रिकेट खेल्नेछ । यो एसिया कप छनोट प्रतियोगिता हो । यो प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । समूह १ मा नेपालसँगै साउदी अरब, कुवेत, कतार र यूएई छन् । समूह २ मा बहराइन, ओमान, मलेसिया, हङकङ र सिंगापुर छन् । दुई समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । प्रतियोगिताको विजेता टोलीले सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसम्मिलित समूहबाट खेल्नेछ ।

आईसीसी क्रिकेट विश्वकप लिग टू नेपाली क्रिकेट मोन्टी देशाई
लेखक
कुशल तिमल्सिना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय