
३ चैत, काठमाडौं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा आफू विजयी भएमा राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्ने बताएका छन् ।
शुक्रबार उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधानको पालना गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्ने र इमानदारीपूर्वक जनताको पक्षमा काम गर्ने बताएका हुन् ।
उनले भने, ‘संविधानमा राष्ट्रपति/उपराष्ट्रपतिको काम कारबाहीको बारेमा उल्लेख गरिएको छ । राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको रक्षा गर्नेछु । संविधानको पालना गर्ने कुरामा मेरो प्राथमिकता हुनेछ । नेपाललाई समतामूलक समृद्ध मुलुकको रुपमा विकसित गर्न मेरो भूमिका रहनेछ । म इमानदारीपूर्वक जनताको पक्षमा काम गर्नेछु ।’
यादवले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दाबी गर्दै सबैले आफूलाई नै मत दिने विश्वास व्यक्त गरे । ‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो । अब हाम्रो पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरुले मत दिएर मलाई जिताउनु हुनेछ,’ उनले भने ।
१० दलीय गठबन्धनबाट जनमत पार्टीकी ममता झा र नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य पनि उपराष्ट्रपति पदको उम्मेदवार छन् ।
प्रतिक्रिया 4