
३ चैत, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका केन्द्रीय विभागबाहेक सबै आंगिक क्याम्पसमा चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को चुनाव हुने भएको छ ।
रजिष्ट्रारको कार्यालयले बिहीबार एक सूचना जारी गरी तत्काललाई केन्द्रीय विभाग तथा सबै आंगिक क्याम्पसहरूको पूर्वनिर्धारित स्ववियू निर्वाचन गतिविधि स्थगित गरेको थियो। तर, उक्त निर्णयको विद्यार्थीहरुले चर्को विरोध गरेपछि विश्वविद्यालय प्रशासनले शुक्रबार अर्को सूचना जारी गर्दै यही चैत्र ५ गते स्ववियू निर्वाचन सम्पन्न गराउँन निर्देशन दिएको हो ।
‘अदालतको मुद्दा परी स्थगित गरिएका स्थानमा बाहेकका अन्य सम्पूर्ण आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखहरुको प्रतिवद्धता बमोजिम र शैक्षिक क्यालिनडरलाई समते मध्यनजर गर्दै तोकिएको मिति अनुसार स्ववियू निर्वाचन गराउँन निर्देशन गर्ने निर्णय भएको छ,’ जारी सूचनामा भनिएको छ ।
विश्वविद्यालय अन्तर्गतको स्कुल अफ मेनेजमेन्ट (मुसोम) मा अध्ययनरत विद्यार्थीहरूले निर्वाचनमा सहभागी हुनबाट बञ्चित गराइएको भन्दै उच्च अदालतमा मंगलवार रिट दायर गरेका थिए ।
रिटमाथि बुधवार सुनुवाइ गर्दै उच्च अदालतले अर्को आदेश नआउञ्जेलसम्मका लागि निर्वाचन स्थगित गर्न आदेश दिएको थियो। उच्च अदालतले चैत ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
उच्च अदालत सुर्खेतले केन्द्रीय क्याम्पसमा स्ववियू निर्वाचन स्थगित गर्न आदेश दिएपछि विश्वविद्यालयको बैठकले अन्य १० वटै आंगिक क्याम्पसको चुनाव रोक्ने निर्णय गरेको थियो ।
एमयुजस्तै बबई बहुमुखी क्याम्पस बर्दिया र नारायण बहुमुखी क्याम्पस दैलेखमा विवादका कारण तालाबन्दी भएको छ ।
यस्तै भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोट र मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिममा पनि विवाद छ ।
हेर्नुहोस् मध्यपश्चिम विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले निकालेको सूचना
प्रतिक्रिया 4