+
+

पाठेघरमा कसरी विकास हुन्छ भ्रूण ?

डा. बालकृष्ण शाह  डा. बालकृष्ण शाह 
२०७९ चैत ३ गते १७:५७

शारीरिक सम्पर्कपछि डिम्ब र शुक्रकीटको यही समयमा मिलन हुन्छ भनेर किटान गर्न सकिंदैन । डिम्ब जब उत्पादन हुन्छ, तब ७२ घण्टासम्म जीवित हुन्छ भन्ने छ तर त्योभन्दा बढी वा कम पनि हुन सक्छ । महिनावारीको चक्र कसैको महिना दिन र कसैको २८ दिनको हुन्छ ।

तर सामान्यतया महिनावारी भएको नौदेखि १९ दिनसम्म डिम्ब उत्पादन हुने समय मानिन्छ । अण्डा उत्पादन भएको तीन दिन वा ७२ घण्टाको अवधिमा शारीरिक सम्पर्क राखे गर्भ रहने अत्यधिक सम्भावना हुन्छ ।

निषेचन पाठेघरभित्र नै हुन्छ ?

धेरैलाई पाठेघरभित्र नै गर्भ बस्छ भन्ने धारणाका कारण निषेचन त्यही हुन्छ भन्ने छ । तर  शुक्रकीट र डिम्बको मिलन भएपछि पाठेघरमा नभई डिम्बबाहिनी नलीमा गएर निषेचन हुन्छ । पुरुषको शुक्रकीट सम्बन्ध राखेपछि बाहिरी ज्ञानेन्द्रमा आउँछन् र पाठेघर हुँदै अण्डाबाहिनी नलीमा पुग्छ । त्यस क्रममा अण्डा उत्पादन भएर अण्डाबाहिनी नलीमा पुगेको छ भने निषेचन हुन्छ । तर अण्डा नभएको खण्डमा निषेचन हुन पाउँदैन । र, महिनावारी हुन्छ ।

त्यहाँ कसरी भ्रूणको विकास हुन्छ ?

अण्डाबाहिनीमा निषेचन भइसकेको अण्डाबाट जाइगोट बन्छ । निषेचन भएको एक साताभित्र जाइगोट कैयौं पटक विभाजित हुँदै फरक–फरक संरचना बन्दै पाठेघरमा आएर टाँसिन्छ । त्यो टाँसिने प्रक्रियालाई आरोपण ‘इम्प्लान्टेसन’ भनिन्छ । त्यसपछि भित्री तहमा भ्रूण बन्छ र बाहिरी तहमा सालनाल बन्दै जान्छ यो क्रममा पाठेघरको भित्री तह बन्दै जानुको साथै रक्तसञ्चारको जालो सुरु गर्छ ।

पहिलो १२ सातादेखि तीन महिनामा मिर्गौला, मस्तिष्क, मुटु जस्ता अंग बन्छ र त्यो अंगको नौ महिनाको अवधिमा विस्तारै वृद्धि र विकास हुन थाल्छ ।

भ्रूणले कसरी पोषण प्राप्त गर्छ ?

जब पाठेघरमा निषेचन भएर टाँसिएको अण्डा इन्द्रियको बाहिरी तहबाट सालनाल बनेको हुन्छ । आमाको रगतबाट सालनालको माध्यमबाट बच्चामा रक्तसञ्चार हुन्छ । जसमा उसलाई चाहिने पोषक तत्त्व र अक्सिजन ग्रहण गर्छ । शिशुको शरीरमा बनेको विकार जस्तै, कार्बनडाइअक्साइड, युरिया, युरिक एसिड रगतको माध्यमबाट आमामा नै फर्किन्छ । नौ महिनापछि जब शिशु जन्मिन्छ, तब सालनाल काटिन्छ त्यसपछि मात्र शिशुलाई पोषणको लागि स्तनपान गराइन्छ ।

लिंग पहिचान

भ्रूणको विकास हुन थालेपछि क्रोमोजम अध्ययन गर्ने हो भने लिंग पहिचान हुन सक्छ । यौनाङ्ग १२ देखि १६ सातामा विकास भइसक्छ । अंग विकास भएको छ कि छैन भनेर यहि समयमा हेर्न सकिन्छ । तर लिङ पहिचानले गर्भवतीलाई मानसिक तनाव थपिन सक्छ । याे गैरकानुनी छ ।

जन्मिने बेलामा कुन स्थितिमा हुन्छ ?

बच्चा कसरी बसिरहेको हुन्छ भन्ने कुरा सालनालको अवस्था, पाठेघरको आकारप्रकार, शिशुको अवस्थामा निर्भर रहन्छ । सालनाल माथि छ भने बच्चाको टाउको तल हुन्छ ।  सालनाल तल छ भने त्यहाँ स्थान नपुगेर टाउको माथि हुन सक्छ । र, त्यस अवस्थामा बच्चा उल्टो बसेको छ भन्ने गरिन्छ ।

बच्चाको टाउको तलपट्टि फर्किएको छ भने जन्माउन जोखिमरहित र सहज मानिन्छ ।  टाउको नै निस्किएपछि अरु अंग सजिलै निस्किन्छ, तर टाउको माथि खुट्टा तल छ भने सबै अंग निस्किएर टाउको निस्किन समस्या हुने हो कि भन्ने डर हुन्छ । जसकारण उल्टो बसेको अवस्थामा शल्यक्रिया नै गर्न सल्लाह दिइन्छ ।

गर्भको दौरानमा आमाले ध्यान दिनुपर्ने कुरा

एउटा शरीरमा अर्को शरीर विकास हुने अवस्था संवेदनशील हो । सर्वप्रथम आमा नै स्वस्थ हुनुपर्छ । आमाले खाएको खानेकुराले आफूलाई र हुर्किंदै गरेको बच्चालाई पनि पोषणको मात्रा अत्यधिक चाहिने हुँदा थोरै, थोरै खाने तर धेरैपटक खाने गर्नुपर्छ । तनावको कारण बच्चाको विकासमा असर पर्ने र हार्मोनलाई असन्तुलन गराउने सम्भावना हुँदा मानसिक रुपमा आमा तनावरहित माहोलमा बस्नुपर्छ ।

(डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।)  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?