
कपिलवस्तुमा रहेर विभिन्न क्षेत्रमा काम गरिरहेको थिएँ। सामान्य सफलता पनि हात नपरेको होइन। यसलाई त्यागेर धेरै कमाउने र रमाउने सपना बोकेर २०२२ को मे महिनामा जापान आइपुगें। नयाँ यात्रा तय गरेर सफलता पाएको उक्त दिनलाई म आफ्नो पुनर्जन्मको रूपमा लिएँ।
विस्तारै टाढाबाट देखेको जापान र भोगेको जापानबीच धेरै ठूलो अन्तर भेट्न थालें। ठूलो जहाज चढी ठूला सपाना देखेर आउने युवाको जमातमा म पनि एक थिएँ। सोचेको र भोगेको जापानबीचको अन्तर बढ्न थाल्यो। यहाँको जीवनशैली, महँगो रहनसहन, भाषाको समस्या र नेपालीले नेपालीलाई गर्ने बेवास्ता। अमिलो अनुभूति सम्हाल्दै बाँच्न थालियो।
जीवन कष्टकर बन्दैथियो। एकजना दातो नाम गरेको भियतनामीसँग भेटले जीवन अगाडि बढाउन केही सहज भयो। उनी एक विदेशीले मलाई गरेको व्यवहारसँग नेपाली साथीले गर्ने व्यवहार तुलना गर्दा मन दुख्थ्यो।
ती भियतनामीको नेपालीप्रति अनौठो प्रेम थियो। उनले नेपाली भाषा सिक्दै थिए। नेपालीमा कुरा गर्ने रहर देखिन्थ्यो। जापान पुगेपछि भाषा सिक्नै पर्ने भयो। बाल्यकालमा स्कूल पुगेर क, ख, ग पढे जस्तै हिरागाना, कातागान र खान्जी विषय पढ्नुपर्ने भयो।
यही पढ्न मासिक ६० हजार स्कूलको शुल्क बुझाउनुपर्ने। उमेर बढे पनि आफू पुनः एकपटक बालक बनेको अनुभव भयो क, ख पढिरहँदा। हरेक घण्टा र दिन केही न केही सिकेर बितिरहेछ। यहाँको चलन, नियम, भाषा, धर्म, संस्कृति सबै सुरुबाट सिक्दै जाँदा दिन बितेको पत्तो पाइँदैन।
म जस्ता धेरै युवाको सपनाको देश जापान, अष्ट्रेलिया, क्यानाडा बन्नुका पछाडि धन कमाएर सुखी र खुशी जीवन बिताउनु हो। अझ प्रमुख कारण त बाध्यता हो। देशमा रोजगारी छैन। नेपाल जस्तो सम्भावना बोकेको देश दलाल शासकहरूको राजनीतिक खिचातानीले बिग्रिएको छ।
कुर्सीको मोहमा डुबेका नेताहरूले देशका युवालाई स्वदेशमै बस्ने वातावरण तयार गर्न सकेका छैनन्। चाहेका पनि छैनन् होला। युवालाई विदेश धपाएर कुशासन टिकाउने चाहना पो हो कि ? त्यसैले युवालाई विदेश जान उत्साहित र प्रोत्साहन गरिरहेका छन्।
युवा विदेश निर्यात गर्न कतिपय देशसँग सम्झौता नै गरिरहेका छन्। एक उदाहरण मेरो नगरपालिका बाणगंगामा पनि छ। कैयौं युवा कोरिया लैजाने सपना बाँडेको रहेछ। जुनसुकै देश भए पनि विदेशी भूमि हामीले सोचेको र कल्पना गरेको भन्दा नितान्त फरक हुन्छ।
व्यक्ति र परिस्थिति अनुरूप सबैको आ-आफ्नै सपना र चाहना हुन्छन्। देशअनुसार जाने खर्च तथा लगानी पनि फरक–फरक हुन्छ। विदेश जाँदा प्राय:जसो नेपालीलाई ब्याजमा ऋण खोजेर जानुपर्ने बाध्यात्मक परिस्थिति रहेको छ।
म आउँदा पनि अवस्था निकै अप्ठ्यारो थियो। कोभिड-१९ ले हरेक क्षेत्र अस्तव्यस्त थियो। बैंकले ऋण नदिंदा चर्को ब्याजदरमा ऋण खोज्नुको विकल्प रहेन। हामी जुन सोचका साथ विदेश गएका हुन्छौं त्यो सोचभन्दा फरक विदेशी भूमि पाएका हुन्छौं। भाषाको राम्रो ज्ञान नहुनु, सोचेअनुसार काम नपाइनु र त्यहाँको नियमको परिधिभित्र रहन नसक्नु जस्ता कारणले विभिन्न समस्या उत्पन्न हुन्छ।
जापानमा विद्यार्थीको सामान्यतया एक महिनाको खर्च करिब एक लाख भन्दा माथि हुन्छ। आफ्नो छोराछोरी पढ्नभन्दा पैसा कमाउन गएको छ भन्ने कुरा हाम्रो परिवारले सोच्ने गर्छ। समाजले पनि आर्थिक वृद्धि गर्न र आर्थिक क्रान्ति गर्न गएको सोचिरहेको हुन्छ। दैनिक खर्चलगायत कोठा भाडा पनि महँगै हुन्छ। त्यसैले जापान खर्चिलो शहरको रूपमा चिनिन्छ। कतिपयले जापान विश्वको दोस्रो महँगो देश हो भनेको सुनेको छु।
एउटा सामान्य रुमको भाडा, बिजुली, ग्यास र खानेपानी गरेर करिब ७०–८० हजार तिर्नुपर्ने हुन्छ। कलेजको शुल्क एक महिनाको ६०–७० हजार। खाना, खाजा, ट्रेन, मोबाइल र सरकारलाई तिर्नुपर्ने कर र स्वास्थ्य बीमाको रकम गरेर करिब १ लाख ६० हजारदेखि १ लाख ७० हजारसम्म खर्च हुन्छ। त्यसैले सोचेको भन्दा भोगेको जापान नितान्त फरक भएको कारण कैयौं विद्यार्थी आत्महत्याको बाटो रोज्न बाध्य हुन्छन्। कतिपय केटी साथीहरू कामको प्रलोभनमा परी यौन शोषणमा परेका छन्।
आफूले सोचे अनुसारको प्रतिफल प्राप्त गर्न नसक्दा कतिपय त विचल्लीमा पर्छन्। विशेषगरी ऋण तिर्न नसक्नु, भाषाको समस्याले गर्दा सोचे जस्तो काम नमिल्नु, कलेजले तोकेको समयमा फि तिर्न नसक्नु, कलेज स्कुलले पढ्न दिने प्रेसर, विश्वासिलो साथीबाट असहयोग र अपहेलित तथा स्वास्थ्यमा विभिन्न समस्या देखिनु प्रमुख समस्या हुन्।
दुर्घटनामा परी अङ्गभङ्ग हुने जस्ता समस्याले जापानमा विद्यार्थीको अवस्था निकै जटिल भएको देखिन्छ। यस वर्ष त नेपालबाट सोचेभन्दा बढी नेपाली विभिन्न भिसामा जापान आएका छन्। हालसम्म मेरो भेट लामो समयदेखि जापान बस्दै आएका धेरै नेपाली अग्रजसँग भइरहेको छ। उनीहरू लामो समय जापान बसेर दुःख गर्दा पनि खासै प्रगति हुन नसकेकोमा चिन्तित देखें। उनीहरू भन्छन्, जापान आउनुभन्दा दुबई, कतार जानु ठिक छ। जापान आउनै परे वर्किङ भिसामा आउन सुझाव दिन्छन्।
म पनि उहाँहरूलाई हेरेर कहिलेकाहीं सोच्ने गर्छु यो जापानमा न खाना न सुत्न न कामको अनुकूल समय छ। सबै आफैं गर्नुपर्छ। अन्य साना विदेशी मुलुकलाई हामी खाडीको उपनाम दिन्छौं तर काम, खान, बस्न सबै सुविधा दिगो त रहन्छ। जसरी नि पैसा कमाउनु त रहेछ। जापानमा मैले अध्ययन गरी पाएको ज्ञानले मलाई सुख दिन्छ त ?
सुनौला सपना र रहरहरूको खोजीमा जापान पुगेका युवाहरूमा आत्महत्याको सङ्ख्या बढ्दो छ। यसको कारण पनि त म जस्ता युवाको मनमा उब्जने मनोभावना र बाध्यता त होलान् नि! एक्लोपन र डिप्रेसनका कारण ट्रेनको लिगमा समेत हामफाली आत्महत्या गर्ने गरेको समाचारहरू पनि सुन्ने गरिन्छ।
हाम्रा शासकहरू भने दलालमा रुपान्तरण भएका छन्। उनीहरू नेपाललाई विदेशीको लागि सस्तो कामदार तयार पार्ने थलोको रूपमा विकास गरिरहेका छन्। रेमिट्यान्सको लोभ देखाएर नेपाली युवालाई विदेशी भूमिमा कामको लागि जान बाध्य गराउने नीतिको परिणामस्वरूप नेपाली जनताले दुःख पाउँदै छन्।
देशमा नै बन्द भएका र नयाँ कलकारखाना खोली विदेशी उत्पादनको उपयोग कम गरी आफ्नै उत्पादन वृद्धि गर्न सकेमा युवाहरूलाई रोजगारीको व्यवस्था गर्न सकिन्थ्यो। सरकारले आत्मनिर्भर हुने सीपमूलक तालिमहरू सञ्चालन गरी दक्ष जनशक्ति निर्माणमा लगानी गर्नुपर्छ। अर्बौं रकम आफ्नो कार्यकर्ता र समर्थकलाई जाँड–रक्सी, बाइक, पेट्रोल बाँड्ने र भ्रष्टाचार गर्न खर्च भइरहेको छ।
निर्दोष जनतालाई बलिको बोको बनाइएको छ। कम्तीमा सीप सिकाएर मात्रै विदेश पठाए पनि अवस्था अर्कै हुनेथियो। ५०-६० लाख युवालाई विदेशी भूमिमा गएर पसिना बगाउन कहिलेसम्म बाध्य बनाउँछ यो सरकार? देशलाई अगाडि बढाउन शिक्षित युवा र समुदायको आवश्यकता छ भन्ने कुरा यसपटकको निर्वाचनले संकेत गरेको छ। देश र समाजको सेवा गर्ने भावना भएका युवाले नै सुन्दर समाजको निर्माणमा सहयोग पुर्याउने छन्।
जापानी भाषा अध्ययन गर्दै गर्दा आफ्नो आगामी दिनको शैक्षिक बाटो र करिअरबारे राम्ररी सोच्नुपर्छ। एउटा कार्ययोजना बनाएर सोही अनुरूप चलेमा जापानमा सहजताका साथ जीवन बिताउन सकिन्छ। तर यदि म जस्ता युवा जापान आउने सोच बनाउनुभएको छ भने तपाईं जुनसुकै भिसामा आए पनि त्यससँग सम्बन्धित रहेर तपाईंलाई जीवनको हरेक मोडमा पहिलो चुनौती भाषाको ठूलो तगारो खडा हुन्छ। यसर्थ जापानी भाषामा तपाईंको दक्षताले नै तपाईंको जापान बसाइको चित्र कोर्ने हो। त्यसैले भाषा अध्ययनलाई विशेष प्राथमिकतामा राख्नुपर्छ। यो मेरो भोगाइको ज्ञान हो।
हाम्रो नेपाली मानसिकता फरक छ। पारिवारिक परिस्थिति, रहर बाध्यता लगायत कुराहरूले पढाइको उद्देश्य देखाएर आए पनि अध्ययनमा एकत्रित हुन सकिरहेका हुँदैनौं। यसले जापान बसाइको धेरै कुरामा प्रत्यक्ष–अप्रत्यक्ष असर गरिरहेको हुन्छ। जस्तै, जापान टेक्न नपाउँदै पीआर कसरी लिने, भिसा कसरी परिवर्तन गर्ने, के गर्दा पढ्नु पर्दैन भन्नेबारे स्पष्ट हुनुपर्छ।
छोटो तथा असुरक्षित बाटो रोज्दा समस्या बढ्दो छ। यो बन्द गरौं र भाषा अध्ययनमा विशेष ध्यान दिऊँ। नेपालबाट आउने हरेक नेपालीलाई मेरो एउटै सुझाव- अरुको कुराको पछाडि लागेर नआउनुहोस्। एकपटक जापानको यथार्थ बुझेर आउनुहोस्। होइन भने सबैको लागि जापान जापान जस्तो शहर नहुन सक्छ। सक्नेले मिहिनेत गर्छ, आफ्नो जीवन सरल, सहज बनाउँछ, नसक्नेले दुःख खेप्नुपर्ने हुनसक्छ ।
प्रतिक्रिया 4