
७ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलहरुले तत्कालको नाफा घाटा नहेरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषय टुंग्याउनुपर्ने बताएका छन् ।
मंगलबार कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजित कार्यक्रममा उनले अब समयको सुविधा नभएकाले शान्ति प्रक्रियालाई यो वा त्यो नाममा लम्ब्याउने छुट नभएको बताए ।
‘दलीय संकीर्णता र तत्कालको नाफा घाटा भन्दा बाहिर निस्केर यो विषयलाई सम्बोधनको प्रयास गर्नुपर्छ, हामीसँग समयको सुविधा छैन’ उनले भने, ‘यो या त्यो नाममा लम्ब्यायौं भने अझै यो जटिल बन्दै जान्छ र भविष्यमा अझै अप्ठेरो सिर्जना गर्छ र अन्यायपूर्ण पनि हुन्छ ।’
संक्रणकालीन न्यायको विषय टुंग्याउन ढिलो भइसकेको भन्दै थापाले नेकपा एमालेलाई पनि सहकार्यमा आउन आग्रह गरे । ‘हामी सबै मिलेर एक ठाउँमा बसेर काम गर्नुपर्नेछ । यो पक्ष त्यो पक्ष नभनी, कांग्रेस, एमाले, माओवादी सबै हामी एक ठाउँमा आएर टुंग्याउनुपर्नेछ’ उनले भने ।
थापाले संक्रमणकालीन न्यायको विषय सम्बोधन गर्दा पीडितको भावना अनिवार्य बुझ्नुपर्ने र अन्तर्राष्ट्रिय कानुन र मान्यता विपरीत भएको वा नभएको पनि ख्याल गर्नुपर्ने बताए । ‘द्वन्द्वबाट पीडित भएकाहरुको भावना सम्बोधन गर्न सकेनौं, टुंग्याउनुपर्ने नाममा उनीहरुले बोक्नैपर्छ भारी भन्न लाग्यौं भने, उनीहरुले स्वीकार गरेनन् मानेनन् भने पनि हामी अप्ठ्यारोमा पर्छौं’ उनले भने ।
संक्रमणकालीन न्यायको विषय नेपालको आन्तरिक मामिला भए पनि यसमा अन्तर्राष्ट्रिय कानुन जोडिने भन्दै ती कानुनको कसीमा ठीक भए कि भएनन् भनेर पनि ख्याल गर्नुपर्ने बताए ।
‘हामीले चाहे पनि नचाहे पनि यो विषय हाम्रो विषयहरु मात्र होइन, यसमा कतिपय अन्तर्राष्ट्रिय कानुन जोडिएको छ । यसलाई टुंग्याउँदै गर्दा हामीलाई ठीक लागेर मात्र हुँदैन’ महामन्त्री थापाले भने, ‘संसारमा जुन मान्यतामा विश्वास गर्छौं, त्यसको कसीमा ठीक देखिन्छन् कि देखिदैन भन्ने कुरा पनि हामीले ध्यान दिनुपर्छ ।’
संक्रमणकालीन न्यायको विषय टुंग्याउन भन्दै सरकारले हालै वेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण आयोग ऐन संशोधनका लागि संसदमा पेश गरेको छ । हालको सत्तारुढ गठबन्धन फास्ट ट्र्याकबाट विधेयक पारित गर्ने योजनामा छ भने एमालेले संसदीय समितिमा लगी व्यापक छलफलपछि मात्र पारित गर्नुपर्ने धारणा राख्दै आएको छ ।
प्रतिक्रिया 4