
८ चैत, बुटवल । रुपन्देहीको दोस्रो ठूलो भैरहवा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ ।
विद्यार्थी संगठनहरुबीच विवाद भएपछि चैत ५ गते स्थगित चुनाव आज भएको हो । बिहान ८ बजे सुरु भई ४ बजेसम्म हुने भनिएको मतदान विद्यार्थी संगठनहरुबीच सहमति जुटाउंदा एक घण्टा ढिला भई ९ बजेबाट सुरु भएको निर्वाचन अधिकृत इन्ऽबहादुर विश्वकर्माले बताए ।
यहाँ तीन हजार २२९ जना विद्यार्थी मतदाता छन् ।
स्ववियु अध्यक्ष पदमा दुई जना स्वतन्त्रसहित ९ जनाले प्रतिस्पर्धा गरेका छन् । यहाँ एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेपाल मजदुर किसान पार्टी निकट विद्यार्थी संगठनले एक्ला-एक्लै प्रतिस्पर्धा गरेका छन् भने अन्य दल निकट विद्यार्थी संगठनहरुले गठबन्धन गरेका छन् ।
एमाले निकट अनेरास्ववियुबाट सागर न्यौपाने, नेकपा माओवादी निकटको अखिल (क्रान्तिकारी) र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको गठबन्धनबाट मनिष ढकाल उम्मेदवार छन् ।
जनमत पार्टी निकटको विद्यार्थी जनमत संघ, जसपा निकटको समाजवादी विद्यार्थी युनियन र स्वतन्त्र मधेशी युनियनबाट अनुप द्विवेदी अध्यक्ष उम्मेदवार छन् ।
नेवि संघ र लोसपा निकटको लोकतान्त्रिक विद्यार्थी संघबाट जैनुद्धिन देवान अध्यक्ष उम्मेदवार छन् ।
यसैगरी नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अजय भण्डारी, नेकपा (विप्लव) निकटको अनेरास्ववियु क्रान्तिकारीका उमेश यादव, नेपाल क्रान्तिकारी विद्यार्थी संघका सुग्रीव चाई तथा अनिलकुमार भुज र भीम भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका भीम भण्डारीले एमाले निकट अनेरास्ववियुलाई समर्थन गर्दै उम्मेदवारी निस्कृय बनाएको विज्ञप्तिमार्फत यसअघि नै जानकारी गराएका छन् ।
त्रिविका ४ आंगिक र १३ सामुदायिक गरी १७ क्याम्पसमध्ये यसअघि ७ वटामा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सम्पन्न भएको छ ।
६ वटा क्याम्पसमा विद्यार्थी संगठनहरुले विभिन्न बहानामा तालाबन्दी गरेकाले चुनाव स्थगित भएको छ ।
बुटवलका कालिका, सैनामैनाको पर्रोहा बहुमुखी, तिलोत्तमाको पशुपति र शंकरनगरको दुर्गादत्त गरी ४ वटा नयाँ क्याम्पसमा चुनावका लागि संगठन नै दर्ता भएनन् ।
बुटवलका लुम्बिनी वाणिज्य र सिद्धार्थ गौतम तथा तिलोत्तमाको राममणिमा निर्वाचन अधिकृतको कार्यालयमा ताला लागेको छ ।
तिलोत्तमाकै सरस्वती संस्कृत र भैरहवाको रुपन्देही क्याम्पसमा पनि विद्यार्थी संगठनहरुबीच विवादका कारण चुनाव अनिश्चित बनेको छ ।
प्रतिक्रिया 4