
८ चैत, काठमाडौं । सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघको १७औं वार्षिक साधारणसभा बुधबारबाट ललितपुरमा सुरु भएको छ ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब नेपाल)को आयोजनामा सुरु भएको कार्यक्रमको पहिलो दिन बुधबार ‘पारदर्शी र सबल स्थानीय सरकारका लागि सामुदायिक साझेदारी’ विषयमा छलफल भएको छ ।
त्यस्तै ‘परम्परागत हानिकारक अभ्यास, अपाङ्गता भएका व्यक्तिहरुका सवाल र लैङ्गिक समावेशीकरण’ र ‘बदलिंदो सूचना प्रविधिमा सामुदायिक रेडियोको दिगोपना’ विषयमा अन्तरसंवाद गरिएको छ ।
छलफलमा देशभरका सामुदायिक रेडियोका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि र विषयगत मन्त्रालयका अधिकारी सहभागी रहेको अकोराबका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।
साधारणसभाको बन्दसत्रमा आजै, सामुदायिक रेडियो प्रसारक संघका महासचिव किशोरजङ्ग थापाले संगठनात्मक, कोषाध्यक्ष सरोज पौडेलले आर्थिक र लेखा समितिका संयोजक भूमि चापागाईंले लेखा समितिको प्रतिवेदन पेश गरेका छन् ।
सामुदायिक रेडियो सबैभन्दा प्रभावकारी माध्यम
यसैबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सामुदायिक रेडियोसँग सहकार्य गर्न ७५३ वटै स्थानीय तहलाई आग्रह गरेका छन् ।
सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७औं साधारण सभामा शुभकामना दिंदै मन्त्री मोदीले नागरिकलाई सूचना र आफ्ना गतिविधिका बारेमा जानकारी दिन सामुदायिक रेडियो सबैभन्दा प्रभावकारी माध्यम भएकाले स्थानीय तहले सहकार्य गर्नुपर्ने बताए ।
सामुदायिक रेडियोको दिगोपनाका लागि पनि स्थानीय तहले सहयोग गर्नुपर्ने सामुदायिक रेडियोलाई पालिकाले साझेदारको रुपमा सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया 4