
९ चैत, काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । नेपाल उद्योग परिसंघको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो ।
आगामी वार्षिक साधारण सभापछि अग्रवाल स्वतः परिसंघको अध्यक्ष बन्नेछन् । परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।
डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजश्व समिति सभापति एवं विभिन्न समितिमा रहेर काम गरेका अग्रवाल रोजगारदाता परिषद् संयोजक भई २०७४ बाट परिसंघको उपाध्यक्ष छन् ।
काठमाडौंमा जन्मिएका अग्रवाल सन् १९९२ देखि उद्योग क्षेत्रमा सक्रिय छन् । आरएमसी ग्रुपका कार्यकारी निर्देशक समेत रहेका अग्रवाल सिमेन्ट, स्टिल, खाद्यलगायत क्षेत्रमा आवद्ध छन् । उद्योग व्यवसाय क्षेत्रको लामो अनुभव तथा विज्ञताले परिसंघलाई थप गतिशिल बनाउँदै देशको अर्थतन्त्र सुधारका लागि उनले महत्वपूर्ण भूमिका खेल्ने परिसंघको विश्वास छ ।
प्रतिक्रिया 4