
१२ चैत, काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तमा सरकारी वितरण केन्द्रबाट निःशुल्क बाँढिने पिठो लिनेक्रममा चार वृद्धको मृत्यु भएको छ भने केही मानिस बेहोस् भएका छन् ।
पञ्जाब सरकारका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले पञ्जाब प्रान्तको मुल्तान, मुजफ्फरगढ र फैसलाबाद सहरमा यस्ता घटना भएको उल्लेख गरेको छ ।
वितरणका लागि स्थापना गरिएका सरकारी वितरण केन्द्र भद्रगोल रूपमा सञ्चालित हुँदा निःशुल्क पिठो लिने मानिसको बाक्लो भीड लाग्ने गर्छ । ‘मृतकमध्ये दुईजनाको भागदौडका कारण र दुई जनाको घन्टौं लाइनमा बसेर मृत्यु भएको हो,’ ती अधिकारीले भने ।
पिठो लिन जम्मा भएका मानिसहरूलाई लाइनमा उभ्याउन प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।
पाकिस्तानमा विगत केही महिनादेखि चलिरहेको अत्यधिक मुद्रास्फीतिबाट प्रभावति गरिबहरूलाई निःशुल्क पिठो वितरण गर्ने योजना सुरु गरिएको बीबीसीले लेखेको छ ।
प्रतिक्रिया 4