
जनता प्रसारण तथा प्रकाशन लिमिटेडका ग्रुप एडिटर, रेडियो जनताका स्टेशन मेनेजर अनन्य मित्र दीपेन्द्र दोङ तामाङ हामीबीच रहनुभएन भन्दा पनि आफैंलाई पत्यार लागेको छैन, तर उहाँ रहनुभएन भन्नुपरेको छ ।
अघिल्लो दिन सँगै चिया खाएको, भोलिपल्ट ब्रेन हेमरेज भएको पीडादायी खबर मित्र दोङको श्रीमती चाँदनी मेडमले सुनाउँदा पत्याउन गाह्रो भएको थियो । बिहान बाथरुम पसेका दीपेन्द्र २० मिनेटसम्म पनि ननिस्किएपछि र चाँदनी मेडमले ढोका ढकढक्याउँदै बोलाउँदा समेत कुनै प्रतिक्रिया नभएपछि ढोका फोरियो । बाथरुमको एक छेउमा कक्रक्क परेर बसेको जस्तो पूरै बेहोश अवस्थामा उहाँ भेटिनुभएछ ।
उहाँलाई तत्काल दीर्घायु अस्पतालहुँदै मेडिसिटी लगियो । १४ दिन उपचार गर्दा चिकित्सकहरूले कहिले ‘रेस्पोन्स गर्न थालेको’ त ‘कहिले केही भन्न सकिन्न’ भनिरहे । चौधौं दिनको बिहानसम्म पनि मुटु चल्दैछ भन्दैथियो अस्पताल ।
त्यो दिउँसो मैले काभ्रेबाट मोबाइल फोन सम्पर्क गरेर उपचारमा संलग्नमध्येका एक चिकित्सकलाई दीपेन्द्रजीको खास अवस्थाबारे सोध्दा उहाँले भन्नुभयो, ‘पर्सनल्ली भन्नुपर्दा उहाँको ब्रेन डेथ भइसकेकोले अब रिकभर हुँदैन, भेन्टिलेटर पाइप निकाल्न भन्नुभए हुन्छ ।’
त्यसपछि दोङ परिवार तथा आफन्त, हाम्रो अफिसबाट जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा. विजय पौडेल एवं सहकर्मी, चलचित्र पत्रकार, पहिले सिटीजन रेडियोमा सँगै काम गरेका साथी सबै जम्मा भएर अस्पतालबाट निकाल्ने प्रक्रिया पूरा गरियो । अनि भर्खर ४४ वर्ष पुगेका दीपेन्द्रजीको शरीर कपडामा बेरिएर, बोल्दै नबोल्ने बनेर अस्पतालबाट निस्कियो । परिवारजनको असह्य पीडा, भावविह्वल साथी–संगाती । तर, के गर्ने जस्तो पनि सहनुपर्दोरहेछ ।

मेडिसिटी अस्पताललाई १४ दिनमा २० लाखभन्दा बढी रकम बुझाएर मित्र दीपेन्द्रलाई शवको रूपमा निकाल्नुपरेको छ । सरकारी अस्पतालमा बेड खोज्दा पाइँदैन । सरकारी अस्पतालकै चिकित्सक पनि निजीमा काम गर्छन् । सरकारीमा पुग्दा यहाँ गाह्रो छ, फलानो अस्पताल लैजानुस् भन्न चिकित्सकहरू गाह्रो मान्दैनन् ।
यो कुरा सरकारलाई थाहा छ, तर थाहा नपाएझैं गरेको छ । किनकि, राज्य संचालकहरूले नै शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी गरेका छन् । सबभन्दा नाफामूलक व्यापार नै शिक्षा र स्वास्थ्य भएको छ । परिवार, आफन्त र सहृदयीहरूले १४ दिनमा त्यत्रो धनराशि खर्च गर्दा पनि दीपेन्द्रजीलाई बचाउन नसक्नु यो बेथिति जिम्मेवार छ ।
तामाङ संस्कार अनुसार उहाँको शव बौद्ध पीपलबोटको गुम्बामा राखिएको छ । लामा गुरुहरूले पाठ गर्ने काम १३ गतेसम्म हुने रहेछ । तीन दिनसम्म मुटु चलेकै हुन्छ भन्ने मान्यताअनुसार तीन दिनसम्म अन्त्येष्टि नगरिंदो रहेछ । चैत १३ गते बिहान ११ बजे राष्ट्रिय नाचघरमा श्रद्धाञ्जली अर्पण गरेर स्वयम्भूघाटमा दाहसंस्कार कार्यक्रम तय भएको छ ।
दुई दशक अगाडि नागरिक समाजका अगुवा डा. अर्जुन कार्की, डा. नेत्र तिम्सिना, शर्मिला कार्कीले व्यवस्थापन हेर्नुभएको सिटीजन एफएम रेडियोको स्टेशन मेनेजर हुनुहुन्थ्यो, दीपेन्द्रजी । त्यसबेला नेपाल समाचारपत्र दैनिकमा कार्यरत म सिटीजन एफएममा पनि सातामा एक दिन ‘दृष्टिकोण’ कार्यक्रम चलाउँथें । दीपेन्द्रसँग मेरो दोस्ती त्यही बेलादेखिको हो ।
पछि समाचारपत्रमा पनि सँगै भयौं अनि गत दुई वर्षयता जनता प्रसारण तथा प्रकाशन लिमिटेडमा म समाचार प्रमुख उहाँ ग्रुप एडिटर र रेडियो जनताको स्टेशन मेनेजर थियौं ।
दीपेन्द्रलाई चिया निकै मन पर्ने– जति पटक पनि तयार । उहाँ दैनिक कम्तीमा ७–८ पटक चिया खाने । म धेरै चिया नखाने, तर साथ दिने ।
रेडियो (चार तलामाथि) बाट दीपेन्द्र भन्थे, ‘ए टंक दाइ, म ओर्लिंदै है ।’ अनि हामी चियामा जुट्थ्यौं, कहिले अफिसमै, कहिले बाहिर कर्नरमा । साथमा कहिले अशेष घिमिरे त कहिले माधव कार्कीहरू पनि हुने । म कमै चिया खाने, तर अफिसमा जति खाएँ, दीपेन्द्रजीसँगै खाएँ ।
अढाइ महिनायता उहाँमाथि कामको भार बढेको थियो । भेट पनि बिहानको सिफ्टमा मात्र हुन्थ्यो । चिया खान बस्ने समय त्यही हुन्थ्यो । फागुन दोस्रो हप्ता चिया खाँदै गर्दा केही असहज जस्तो लागेर मैले ‘धेरै लोड लिनुहुँदैन है’ भन्दा उहाँले ‘ठीकै छ, सल्लाह गर्दै जाउँला दाइ’ भन्नुभएको थियो ।
हाम्रो मित्रता र सहकार्य नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संजाल (इन्जा)मा पनि थियो । म इन्जा ग्लोबलको उपाध्यक्ष एवं एशियाको अध्यक्ष उहाँ महासचिव । तीन हप्ता अगाडि मात्र हामीले भव्य रूपमा ‘इन्जा डे’ सम्पन्न गरेका थियौं ।
उहाँले ‘यो पटक इन्जा डे चार वर्षयताकै भव्य भयो, बसेर समीक्षा गर्ने होइन र’ भन्नुभएको थियो । त्यो नै हाम्रो अन्तिम चिया गफ हुन पुग्यो । आज त्यो साथी हामी बीच हुनुहुन्न भन्न मनले मानेकै छैन । अमर त कोही छैन, जाने नै हो, तर त्यो उमेरमा जाने कुरा अकल्पनीय भएको छ ।
नेपाली पत्रकारिता क्षेत्रले एक कर्मठ, लगनशील र व्यावसायिक पत्रकार गुमाएको छ । दीपेन्द्र रेडियोसँगै चलचित्र पत्रकारितामा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँको अकल्पनीय निधन परिवारका लागि त बज्रपात नै भएको छ, हामी सहकर्मीहरूलाई पनि सारै स्तब्ध बनाएको छ । हामीले अति सहृदयी मित्र गुमाएका छौं ।
हामी सहकर्मीहरू यो असह्य पीडामा रहनुभएका चाँदनी मेडम, छोरी, छोरा र परिवारजनमा हार्दिक समवेदनाका साथै शोकलाई शक्तिमा रूपान्तरण गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछौं । मित्र दीपेन्द्रप्रति हार्दिक श्रद्धासुमन !
प्रतिक्रिया 4