
१३ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्र श्राद्धको बाहुन जस्तो भएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मन्त्री बनेपछि ठुलाठुला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने सोचे पनि कामको चाप बढी हुने गरेको अनुभव सुनाए । मन्त्री बनिसकेपछि आफू सिधा उठाएर हिंड्ने सोह्र श्राद्धको बाहुन जस्तो भएको बताउँदै उनले माफीसमेत मागे ।
‘म सांसद हुँदा सानोसानो काममा हिँड्थें । मान्छेहरूको बसको टिकटको समस्या हुँदा पनि पुग्थेँ । लाग्थ्यो कि मन्त्री भएँ भने फुर्सद हुन्छ होला ।ठुलोठुलो काममात्रै गर्नुपर्छ, ठूलो काम थोरै हुन्छ,’ उनले थपे, ‘तर म मन्त्री भएको ६५ दिन हाराहारी हुँदैछ । लाग्छ म त सोह्रश्राद्धको बाहुन जस्तो भएँ ।हतारहतार सिधा उठाएर हिँडिहाल्नुपर्ने । त्यसको निम्ति म क्षमाप्रार्थी छु ।’
सोही कार्यक्रममा मन्त्री किराँतीले प्रेम गर्न नजान्ने व्यक्तिले देश चलाउन नजान्ने टिप्पणी गरे । तर गीत जस्तो जीवन नहुने बताउँदै उनले जीवन र गीतको व्यवहारिक तालमेल धेरै टाढा रहेको बताए ।
प्रतिक्रिया 4