
काठमाडौं । इजिप्टको एउटा प्राचीन मन्दिरमा उत्खननका क्रममा २ हजार भन्दा धेरै भेडाको टाउका फेला परेका छन् ।
मिश्रको पर्यटन तथा पुरातत्व मन्त्रालयले दिएको जानकारी अनुसार प्राचीन मिश्रका राजा फेरोन रामसेस द्धितीयको मन्दिरमा २ हजार बढि भेडाका शिर भेटिएका हुन् । खोजकर्ताहरुका अनुसार सो मन्दिरबाट भेडासँगै कुकुर, बाख्रा, गाई, हरिण लगायतका जनावरका ममिकृत शिर पनि भेटिएका हुन् ।
दक्षिणी मिश्रस्थित मन्दिर तथा चिहानहरुका लागि प्रशिद्ध सहर एबिडोसमा अमेरिकाको न्युयोर्क विश्वविद्यालयका पुरातत्वविदहरुले पछिल्लो खोज गरेका हुन् । उक्त सहर राजधानी कायरोबाट ४३५ किलोमिटर दक्षिणमा नाइल नदीको किनारामा अवस्थित छ । खोजकर्ताहरुका अनुसार भेडा अन्य अन्य जनावरहरुको शिरलाई प्रसादको रुपमा राजा फेरोन रामसेस द्धितीयलाई चढाइएको ठहर गरेका छन् ।
राजालाई दिइन्थ्यो भेडाको बली
अमेरिकी खोजकर्ता टोलीका प्रमुख समीह इस्कन्दरका अनुसार फेरोन रामसेस द्धितीयको मृत्युपछि उनको मन्दिरमा जनावरको बलि चढाइन्थ्यो । बलि चढाउनका लागि भेडाको प्रयोग सबैभन्दा धेरै प्रयोग गरिन्थ्यो । प्राचीन मिश्रका मानिसहरु आफ्ना राजालाई प्रसादका रुपमा जनावरको बलि चढाउने गर्दथे । रामसेस द्धितीयले इशापूर्व १३०४ देखि १२३७ सम्म गरी कूल ७० वर्ष मिश्रमा शासन गरेका थिए ।
मिश्रको पुरातत्वसम्बन्धी सर्वोच्च परिषदका प्रमुखका अनुसार यो खोजबाट मानिसहरुलाई रामसेस द्धितीयको मन्दिर तथा इशापूर्व २३७४ देखि २१४० को बीचमा यसको निर्माणदेखि इशापूर्व ३२३ देखि ३० को टोेलेमिक कालसम्म भएका गतविधिहरुका बारेमा अधिक जानकारी प्राप्त गर्न सहयोग पुग्नेछ ।
एएफपीको रिपोर्ट अनुसार ममीकृत जनावरका अवशेषहरुसँगै पुरातत्वविदहरुले करीब ४ हजार वर्ष पूरानो पाँच मिटर मोटो पर्खाल भएको एक भवनको अवशेषको पनि खोज गरेका थिए । उक्त खोजका क्रममा विभिन्न मूर्तिहरु, प्राचीन वनस्पतिका अवशेष, छाला तथा कपडा र जुत्ताहरु फेला परेका छन् ।
– एजेन्सी
प्रतिक्रिया 4