+
+
गोविन्द भट्टराईको प्रतिक्रिया :

‘रामचन्द्रलाई राष्ट्रपति बनायौं, तपाईंलाई न्याय गर्छौं भन्दैछन् तनहुँवासी’

अमृत सुवेदी अमृत सुवेदी
२०७९ चैत १६ गते १७:१०

१६ चैत, पोखरा । नेपाली कांग्रेसले तनहुँ–१ को उपनिर्वाचनमा आफूलाई उम्मेदवार बनाउने निर्णय गरेपछि नेता गोविन्द भट्टराईले मतदाता उत्साही रहेको प्रतिक्रिया दिएका छन् ।

तनहुँ–१ बाट जितेकाहरु मन्त्रीदेखि राष्ट्रपतिसम्म पुगेको भन्दै केन्द्रीय सदस्य भट्टराईले यसपटक आफू उम्मेदवार हुने निर्णयले मतदाता उत्साहित टिप्पणी गरेका हुन् ।

‘रामचन्द्र पौडेललाई जिताएर राष्ट्रपति बनायौं, हरिबहादुर चुमानलाई पनि जिताएर दोस्रो पटक मन्त्री बनायौं, यसपटक तपाईंको पालो हो, न्याय गर्छौं भनेर तनहुँ–१ बासीले भनिरहनुभएको छ’ अनलाइनखबरसँग भट्टराईको प्रतिक्रिया थियो ।

तनहुँ हिँडिराखेको, जनतासँग भिजिराखेको ठाउँ र सिंगो गठबन्धन नै परिचालित हुने भएकाले आफूलाई सहज हुने भट्टराईको भनाइ छ । ४ मंसिरको चुनावमा तनहुँ–१ का प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा कांग्रेस–माओवादीसहितका दलको गठबन्धनको उम्मेदवारले जितेकाले आफू पनि जित्नेमा ढुक्क रहेको भट्टराईले बताए ।

तनहुँ–१ बाट उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका नेता प्रतापलाल श्रेष्ठ, शंकरनारायण श्रेष्ठ लगायतले माधवकुमार नेपाललाई भेटेर ४ मंसिरको चुनावमा तनहुँमा एक सिट पनि नपाएको भन्दै उपनिर्वाचनमा गठबन्धनको समथर्न आफूहरुलाई हुनुपर्ने माग गरेका थिए । तर सत्ता गठबन्धनमा कांग्रेसकै उम्मेदवारमा समर्थन जुट्ने भट्टराईको जिकिर छ ।

यहाँ एमालेबाट स्थायी कमिटी सदस्य, पूर्वमन्त्री किरण गुरुङको उम्मेदवार बन्ने चर्चा छ ।

कांग्रेस ठूलो पार्टी भएकाले धेरै आकांक्षीले पालो नपाउने भट्टराईको टिप्पणी छ । कांग्रेसबाट कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहको पनि आफूमाथि सहयोग नै हुने भट्टराईले बताए ।

विद्यार्थी हुँदादेखि नै राजनीतिमा लागेका र नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष र नेपाल तरुण दलको पनि महासचिव भएर काम गरेका भट्टराईले आफूप्रति जिल्लाबासीको सहानुभूति रहने बताउँछन् । आफू सक्षम रहेको र लामो समय राजनीति गरेर अवसर पनि नपाएकाले प्रतिस्पर्धी जोसुकै भए पनि यसपटक चुनाव जित्ने भट्टराईको दाबी छ ।

२०७४ सालको निर्वाचनमा तनहुँ–१ (२) बाट प्रदेशसभा चुनावमा एमालेका रामबहादुर गुरुङसँग पराजित भट्टराईले त्यतिबेला र अहिलेको परिस्थिति भिन्न भएको बताए । त्यो बेला एमाले–माओवादी मिलेर चुनावमा गएको र पार्टीभित्रै पनि केही सन्तुलन बिग्रिदा आफ्नो पक्षमा नतिजा नआएको भट्टराई बताउँछन् ।

४ मंसिरमा भएको चुनावमा कांग्रेस–माओवादीसहितको गठबन्धनबाट उम्मेदवार बनेका पौडेलले २५ हजार ३१८ मत ल्याएर जित्दा एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याएर पराजित भएका थिए ।

तनहुँ–१ मा ब्यास नगरपालिकाका १४ मध्ये १२ वडा, बन्दीपुर, आँबुखैरेनी, देवघाट गाउँपालिका र भानु नगरपालिका पर्छ । यहाँ गत चुनावमा १ लाख २३ हजार ४ सय ९० मतदाता थिए ।

तनहुँ–१ माओवादीको पनि राम्रो जनमत भएको क्षेत्र हो । तनहुँ–१(२) मा माओवादीका हरिबहादुर चुमानले दोस्रो पटक चुनाव जित्दै गण्डकी प्रदेशसभा सदस्य चुनिएका छन् ।

आँबुखैरेनी गाउँपालिकामा माओवादीकै शुक्र चुमान अध्यक्ष छन् । बन्दीपुर गाउँपालिकामा पनि झिनो मतले पराजित भएको थियो ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?