
१६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन समितिका सदस्य सचिव पशुपति अधिकारीमाथि आक्रमण भएको छ ।
बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले स्ववियु चुनाव हुन बाँकी क्याम्पसमा चुनाव गर्ने विषयमा विभिन्न विद्यार्थी संगठनसँग छलफल आयोजना गरेका थिए । सो छलफलमा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आफूमाथि आक्रमण र अभद्र व्यवहार गरेको अधिकारीले बताए ।
नेपाल प्राध्यापक संघले अधिकारीमाथि आक्रमणको विरोध जनाएको छ । संघका अध्यक्ष प्रा.डा.रमेशकुमार जोशी र महासचिव सह प्रा.नरेन्द्रप्रसाद शिवाकोटीले विज्ञप्ति जारी गर्दै आक्रमण गर्नेहरुविरुद्ध कारबाही गर्न माग गरेको छ ।
‘शैक्षिक संस्थाभित्र विविध समस्याहरुलाई शान्त्पिूर्ण तरिकाले वार्ता र समझदारीको माध्यमबाट समाधानको उपाय खोजिनुपर्नेमा प्राज्ञिक क्षेत्रमा संलग्न गुरुवर्गमाथि यसरी भौतिक रुपमा आक्रमण गर्नु दुखद विषय हो’, विज्ञप्तिमा भनिएको छ ।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले तीन वटा संगठनलाई मात्रै छलफलमा बोलाएकाले आफूले विरोध गरेको प्रतिक्रिया दिए । ‘भौतिक आक्रमण भएको होइन तीन वटा संगठनलाई मात्रै बोलाएर गरिएको छलफलको विरोध गरेको हो’ उनले भने ।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले छलफल चलिरहेको हलमा प्रवेश गरी अधिकारीमाथि सुदेश पराजुलीले पानीको बोतल, सीसाको गिलास र कुर्सी प्रहार गरेको आरोप लगाएको छ । अध्यक्ष समिक बडालले प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल पक्राउ गर्न र आवश्यक सुरक्षा प्रबन्धसहित बाँकी क्याम्पसमा निर्वाचन गराउन माग गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया 4