
१६ चैत, काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेका छन् । कांग्रेसको आर्थिक नीति र योजना निर्माण तथा वौद्धिक विमर्शमा संलग्न स्वर्णिमको निर्णयले कांग्रेसजनमा सन्नाटा छ । साथै सक्षम व्यक्तिहरु किन कांग्रेसमा रहन सक्दैनन् भन्ने प्रश्न पनि उब्जिएको छ ।
स्वर्णिमले भने पाँच दशक लामो पारिवारिक विरासत गाँसिएको कांग्रेस छाड्नुको कारण दिएका छन्, ‘देउवा–आरजु गिरोह’को निरन्तर हेपाइ र अपमान ।
पछिल्ला वर्षहरुमा स्वाभिमानी कांग्रेसको शिर निहुरिने अवस्था आएको भन्दै उनले बिहीबार अपराह्न कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’
उनले अक्षम गिरोह भनेर पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणालगायतलाई भनेका हुन् ।
बिहीबार बिहान मात्र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला र गोविन्दराज पोखरेललाई पठाएको ह्वाट्सएप सन्देशमा स्वर्णिमले शेरबहादुर र आरजुको नाम उल्लेख गरेका थिए । नेताहरुको अपार सद्भावका बावजुद आफू कांग्रेसमा रहन नसक्ने अवस्था आएको भन्दै उनले भनेका छन्, ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’
राजनीतिक विश्लेषक कृष्ण खनाल विधिसम्मत र संस्थागत नभएकाले कांग्रेसमा सक्षम व्यक्ति रहिरहन कठिन रहेको बताउँछन् । ‘पार्टीभित्र आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धा छैन । जसले पार्टी होल्ड गरेका छन्, तिनैको वरपर पार्टी हुने परम्परा बस्यो’, विश्लेषक खनाल भन्छन्, ‘पार्टीमा ठाउँ छैन भने छोड्नु स्वभाविक हो । मूल नेतृत्वले पार्टीका लागि को उपयुक्त ख्याल गर्न नसकेपछि हुने यस्तै हो ।’
निरन्तर अपमान
कांग्रेस नेताहरुका अनुसार पार्टी सभापति देउवा र उनकी पत्नी आरजुले आफूलाई अपमान गरेको महसुस स्वर्णिमले धेरै अघिदेखि गर्दै आएका थिए । पछिल्लो पटक आकांक्षा नराखेको जिम्मेवारीमा समेत हस्तक्षेप गरेपछि उनी कांग्रेस छाड्ने निर्णयमा पुगेका हुन् ।
स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको विज्ञ टिममा स्वर्णिमलाई राख्ने प्रयास थियो । स्वर्णिमले आफैं यो पदको आकांक्षा राखेका थिएनन्, तर राष्ट्रपतिले बोलाएपछि शितल निवास पुगे । त्यो भेटमा पौडलले आफूले विज्ञ सल्लाहकार बनाउन चाहेको, तर पार्टी सभापति ‘तपाईंको पक्षमा नभएको’ बताएका थिए ।
आकांक्षा नराखेको पदमा समेत देउवाले आफूलाई रोकेको थाहा पाएपछि स्वर्णिम ‘कांग्रेसमा परित्याग गर्ने’ मनस्थितिमा पुगेका हुन् । किनकी ४ मंसिरको चुनावमा पनि पार्टी सभापति देउवाकै कारण उनले टिकट पाएका थिएनन् । सक्रिय राजनीति गर्ने निर्णयका साथ उनले गोरखा, चितवन र काठमाडौंमध्ये कतैबाट चुनाव लड्ने जानकारी पार्टी नेतृत्वलाई दिएका थिए ।
चितवन–१ बाट त उनको नाम उम्मेदवारमा सिफारिस भएको थियो । तर कतै पनि टिकट पाएनन् । गोरखा–१ मा राजेन्द्र बजगाईँलाई टिकट दिएका देउवाले चितवन–१ मा योजना आयोगको उपाध्यक्ष रहेका विश्व पौडेललाई राजीनामा गराएर उम्मेदवार बनाए । त्यसपछि पनि स्वर्णिमले काठमाडौं–५ मा उठ्न चाहेका थिए, तर तनहुँ–२ को टिकट दाबी गरिरहेका प्रदीप पौडेललाई टिकट दिए ।
त्यसबेला महामन्त्री गगनकुमार थापाले काठमाडौं ४ मा स्वर्णिमलाई टिकट दिए आफू सर्वसम्मत नाम सिफारिस भएको सर्लाही–४ मा जान तयार रहेको बताएका थिए । तर देउवाले कुनै हालतमा टिकट नदिने नीति लिएपछि स्वर्णिम उम्मेदवार बन्न पाएनन् ।
स्वर्णिमलाई त्यो बेला स्वतन्त्र उम्मेदवार बन्ने विकल्प मात्र होइन, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलबाट चुनाव लड्न पनि प्रस्ताव गरेका थिए । तर त्यतिबेला उनी नेताहरुको सल्लाहमा रोकिए ।
स्वर्णिम कांग्रेसको चुनावी घोषणा पत्र निर्माणमा सक्रियतापूर्वक सहभागी बने । उनकै नेतृत्वको टिमले घोषणापत्रको मस्यौदा गरेको थियो । ‘असल शासन र समुन्नति’को मुद्दा बोक्ने निष्ठावान उम्मेदवारहरूको पक्षमा चुनाव प्रचार गर्न देश दौडाहा गर्नेछु’ भन्दै आफूलाई बोलाउने नेताहरुको चुनावी सभाहरुमा गए ।
पछिल्लो समय स्वर्णिम नेता डा. शेखर कोइरालाको अगुवाइमा अर्थतन्त्रको वर्तमान अवस्थाबारे भएका छलफलमा सहभागी थिए । तर पार्टीको मूल नेतृत्व आफ्नो भूमिका र योगदानलाई सुन्न तयार नभएपछि उनी कांग्रेसबाटै अलग भएका हुन् ।
स्वर्णिम निकट नेताहरुका अनुसार उनले पार्टी परित्याग गर्नुमा सभापति देउवा जति दोषी छन्, त्यति दोषी उनकी पत्नी आरजु पनि छिन् । किनकी कुनै समय देउवा–वाग्लेको सम्बन्ध राम्रो थियो ।
देउवाले आफू प्रधानमन्त्री भएका बेला साउन २०७४ मा स्वर्णिमलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएका थिए । प्रधानमन्त्री भएको बेला अन्तर्राष्ट्रिय मञ्चमा राख्नुपर्ने धारणाबारे पनि देउवाले स्वर्णिमसँग सरसल्लाह गर्थे । तर पछिल्लो समय जब देउवाका हरेक निर्णयमा पत्नी आरजु हाबी हुन थालिन्, स्वर्णिमको भूमिका खोसिँदै गयो ।
शेखर, गगन र विश्वहरुलाई प्रश्न
कांग्रेस छाड्नुमा देउवा र आरजुलाई कारक मानेका स्वर्णिमले आफूले नेता मानेका डा. शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्मामाथि पनि प्रश्न उठाएका छन् ।
२०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने भन्दै स्वर्णिमले आफ्नो घोषणामा भनेका छन्, ‘अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आवद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ ।’
स्वर्णिमले नभने पनि उनको अबको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हो । किनकि उनी रास्वपाबाट तनहुँ–१ मा उपचुनाव लड्ने तयारीमा छन् । ‘कांग्रेसमा गगन विश्वहरु महामन्त्री हुने, अनि स्वर्णिम चाहिँ वैकल्पिक राजनीति गर्छु भनेर रास्वपा जाने’, कांग्रेसका एक नेता भन्छन्, ‘स्वर्णिमको यो कदमले गगन र विश्व भएको कांग्रेसमा भविष्य छैन भन्ने सन्देश गएको छ ।’
स्वर्णिमले पनि चार नेतालाई पठाएको ह्वाट्सएप सन्देशमा पनि त्यसको संकेत गरेका छन् । ‘कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ’, भन्दै स्वर्णिमले भोलि फेरि कांग्रेससँग आउने बाटो मात्र खुला राखेका छैनन्, महामन्त्रीद्वय गगन र विश्व अनि संस्थापन इतर समूहका नेता डा. शेखरमाथि समेत प्रश्न गरेका हुन् ।
किनकि १४ औं महाधिवेशनमा देउवाविरुद्ध चुनाव लडेका उनीहरुले कांग्रेसलाई रुपान्तरण गर्ने नारा दिएका थिए । शेखरले सभापतिमा चुनाव हारे पनि पार्टीभित्रकै विपक्षी समूहको नेता बने भने गगन र विश्व त महामन्त्री नै भए । तर ४ मंसिरको चुनावको नतिजा हेर्ने हो भने कांग्रेसले नयाँ पुस्तालाई आकर्षित गर्न सकेको देखिँदैन । चुनावको ६ महिना अघि मात्र गठन भएको रास्वपाले शहरी क्षेत्रमा कांग्रेस, एमाले लगायतका ठूला दलले भन्दा धेरै भोट ल्याएको थियो ।
चुनावपछि नेताहरुले स्वर्णिमहरुलाई टिकट दिन नसक्नु कमजोरी भएको स्वीकार गरेका थिए । तर अब कांग्रेसले उनलाई गुमाएको छ । कांग्रेस नेताहरुले स्वर्णिमको बर्हिगमनलाई पार्टीको थप क्षयीकरणका रुपमा विश्लेषण गरेका छन् ।
कांग्रेस सांसद रामनाथ अधिकारी भन्छन्, ‘आफ्नो ज्ञानमार्फत देशलाई र पार्टीलाई योगदान गर्न खोज्छु भन्नेलाई रहने अवस्था नभए युवा पुस्ता कसरी आकर्षित हुन्छ ?’
प्रतिक्रिया 4