
काठमाडौं । चैत अन्तिम साता इलाम साहित्य महोत्सव हुने भएको छ । चैत २६ र २७ गते इलाम सदरमुकाममा ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ महोत्सव हुन लागेको हो ।
इलाम साहित्य समाज र इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा नेपाल र भारतका चर्चित साहित्यकारदेखि राजनीतिज्ञ, सामाजिक अभियन्ता र कलाकारहरुको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए ।
साहित्यकारहरु राजन मुकारुङ, कृष्ण शाह, उपेन्द्र सुब्बा, वसन्त बस्नेत, तीर्थ श्रेष्ठ, कुमार नगरकोटी, भूपिन, लीला अनमोल, डा. ज्ञानेन्द्र याक्सो, धर्मेन्द्र नेम्वाङ, शकुन्तला जोशी, मधुराज केरुङसहित अभिनेत्री करिश्मा मानन्धर, अभिनेता विजय बराल तथा भारतीय साहित्यकारहरु छुदेन काविमो, वन्दना टेटे, अश्विनी पंकज र राजा पुनियानी महोत्सवमा सहभागी हुने जनाइएको छ ।
महोत्सवमा साहित्यका साथै समसामयिक विषयमा अन्तरक्रिया हुने थाम्सुहाङले बताए ।
महोत्सवको अर्को आकर्षणका रुपमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणबारे चेतनामूलक चित्रकला कार्यशाला र प्रदर्शनी पनि हुनेछ । रेडपाण्डा नेटवर्कको समेत सहयोगमा सञ्चालन हुने महोत्सवका अवसरमा गौतमबुद्ध सभागृह परिसरमा चित्रकला कार्यशाला हुनेछ । कार्यशालामा काठमाडौंबाट ५ जना व्यावसायिक चित्रकारहरुको सहभागिता हुनेछ भने स्थानीय ५ जना कलाकार पनि सहभागी हुनेछन् ।
त्यसक्रममा रेडपाण्डासम्बन्धी चित्रहरु सिर्जना गरेर प्रदर्शन गरिने जनाइएको छ ।
प्रतिक्रिया 4