
१७ चैत, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि उखुको बिक्री मूल्य ५९० रुपैयाँ प्रतिक्विन्टल तोक्यो । उखुको अन्तिम किसान बिक्री मूल्य तोक्ने मन्त्री थिए नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव ।
सरकारले उखुको मूल्य तोक्न गृहकार्य थालेपछि सर्लाहीका उखु किसानहरु आफूले चिनेका मन्त्रीलाई भेटेर किसानको हितमा निर्णय लिन सुझाव दिन चाहन्थे । उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय त मन्त्री यादवकै पार्टीको नगरकमिटी अध्यक्ष थिए ।
उनी किसान हितका लागि उखुको मूल्य १०–२० रुपैयाँ बढाएर तोक्न आग्रह गर्न पटक–पटक काठमाडौं आए, तर मन्त्री यादवले भेटै दिएनन् । ‘खेतमा उखु सुक्न लागेकाले मूल्य तोक्न ढिलाई भइरहेको थियो,’ विगत सम्झदै रायले सुनाए, ‘मन्त्री भने चिनी उद्योगीसँग वार्ता गर्ने, हामीलाई भेटै नदिने । एक पटक चाही ढोकासम्म आएर सारै व्यस्त भएँ सचिवालयमा सबै कुरा भनेर जानुस् भन्नुभयो ।’
उखुको मूल्य तोकिएपछि मन्त्रीले आफ्नो आवाज नसुनेको किसानहरुले थाहा पाए। ‘अनि मैले खबर पठाएँं– फेरी जनता चाहिने दिन आउला नि’, रामस्वार्थ राय भन्छन्, ‘केही समय पछि उहाँ मन्त्री पदबाट मुक्त हुनुभयो । पार्टीको नगरभेला पारेर हामीले बोलायौं । निवर्तमान मन्त्रीको त्यो रवैया मञ्चबाटै राख्दा उहाँका समर्थकहरुले मलाई त्यहाँबाट लखेटे ।’
१८ असोज २०७८ देखि २०७९ असारसम्म कृषि तथा पशुपन्छी विकास मन्त्री भएका यादवसँग आफ्नै कार्यकर्ताका भोगाइ पनि सुखद् थिएन । निजी डेरीसँग मिलेर दूधको मूल्य बढाएको, समयमै रासायनिक मल उपलब्ध गराउन नसकेको र मल नल्याउने ठेकदारलाई संरक्षण गरेको लगायतका आरोपहरु पनि उनीमाथि लागे ।
आलोचना नसुन्ने र स्वार्थको काममा लाग्ने स्वभावका कारण आलोचित तिनै महिन्द्र राय यादव शुक्रबार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त भएका छन् । मन्त्रीको रुपमा उनको यो छैटौं सिंहदरबार प्रवेश हो ।
पहिलो पटक २०५४ सालमा राज्यमन्त्री बनेर सत्तायात्रा थालेका उनी कुनै राम्रो कामको लागि भने स्मरणीय छैनन् ।
मन्त्री रायको राजनीतिक यात्रा
नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्षरहेका महिन्द्र राय यादव गत मंसिरमा भएको चुनावमा सर्लाही–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । नेसपाअघि उनी राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलमा थिए ।
२ वैशाख २०११ मा सर्लाहीको हरिपूर्वामा जन्मिएका यादवले २०४४ सालदेखि राजनीति सुरु गरेका थिए । २०५१ सालमा नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचित भएका उनी ०६० को दशकको मधेश आन्दोलनसँगै तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) प्रवेश गरेका थिए ।०६४ को संविधानसभा चुनावमा उनीसर्लाही– ५ मा सदभावना पार्टीका खोभारी रायसँग पराजित भए । यादबले २०७० सालमा दोस्रो संविधान सभा निर्वाचन भने तमलोपाको तर्फबाट सर्लाही– ५ बाटै जितेका थिए ।
१० कक्षा सम्म अध्ययन गरेका यादबले २०७४ मा स्थानीय तह चुनावको मुखैमा राजपा छोडेर नेकपा एमालेलाई सहयोग गरेका थिए । उनी एमालेमा पनि धेरै बसेनन् । ०७४ सालकै प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको टिकटमा सर्लाही २ बाट विजयी भए ।
त्यसपछि डा. बाबुराम भट्टराई र यादव अध्यक्ष रहने गरी नेसपा गठन भएको थियो । गत मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा उनी नेसपा र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट माओवादीको चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।
प्रतिक्रिया 4