
१७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्रको गतिशीलताका लागि सबै सरोकारवाला पक्ष जिम्मेवार हुनु पर्ने बताएका छन् । बुधबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) का पदाधिकारी तथा सदस्यहरु सम्मिलित प्रतिनिधि मण्डलसँगको भेटमा गर्भनर अधिकारीले यस्तो धारणा राखेका हुन् ।
गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा हाल देखिएका कतिपय समस्याहरु प्रणालीसँग जोडिएकोले प्रणालीगत/संरचनागत सुधारमा जोड दिनुपर्ने पनि बताए । उनले कर्पोरेट क्षेत्रले समेत दीर्घकालीन बोण्ड जारी गर्ने प्रक्रिया अगाडि बढाउनु पर्ने बताउँदै बैंक तथा वित्तीय संस्थाहरुले जोखिमपूर्ण देखिएका कर्जाप्रति पूर्व सावधानी अपनाइ आवश्यक कार्य अगाडि बढाउनुपर्नेमा सुझाव समेत दिए ।
‘वर्तमान विषम् परिस्थितिलाई मध्यनजर गर्दै आम जनजीविका र उद्यम–व्यवसायलाई सामान्यीकरण बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउन सरोकारवाला सम्पूर्ण पक्षहरु गम्भीरताका साथ लागि पर्नुपर्छ,’ गर्भनर अधिकारीले थपे ‘साथै बैंक तथा वित्तीय संस्थाहरुले जोखिमपूर्ण देखिएका कर्जाप्रति पूर्व सावधानी अपनाइ आवश्यक कार्य अगाडि बढाउनुपर्ने छ ।’
भेटमा सीबीफीनकातर्फबाट बैंकिङ क्षेत्रमा विकसित घटनाक्रम, देशको समग्र आर्थिक अवस्था र सुधारका सम्भावित उपायहरुका बारेमा सुझाव पेश गरिएको थियो ।
सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बैंक तथा वित्तीय संस्था र कर्मचारीमाथि सुनियोजित एवं श्रृंखलाबद्ध रुपमा सञ्चालन भइरहेका अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप र सांघातिक आक्रमणहरुको विषयमा गभर्नरको गम्भीर ध्यानाकर्षण गराएको थियो ।
अध्यक्ष गोल्यानले बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय मात्र नभई अभिभावक संस्था समेत भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुमाथि भइरहेको आक्रमणमा अभिभावकिय भूमिमा खेल्न आग्रह गरेका थिए ।
प्रतिक्रिया 4