
काठमाडौं । युरोपेली मुलुक इटाली आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याट जिपिटीमाथि प्रतिबन्ध लगाउने पहिलो पश्चिमा मुलुक बनेको छ ।
अमेरिकी स्टार्टअप कम्पनी ओपन एआईले विकास गरेको र माइक्रोसफ्टको सहयोग रहेको च्याट जिपिटीका विषयमा गोपनियता सम्बन्धी चासोहरु उत्पन्न भएको इटालीको डाटा सुरक्षण निकायले जनाएको छ ।
तत्काल लागू हुनेगरी च्याट जिपिटीमाथि प्रतिबन्ध लगाएर अनुसन्धान सुरु गरिएको उक्त नियामक निकायले जनाएको छ । च्याट जिपिटीले डाटा सुरक्षण नियम पालना गरे नगरेको विषयमा सो निकायले अनुसन्धान गर्नेछ ।
General Data Protection Guidelines ले प्रयोगकर्ताका व्यक्तिगत डाटा तथा जानकारीहरु कसरी प्रयोग गर्ने, प्रोसेस गर्ने तथा संग्रहण गर्ने भन्ने कुराको दिशानिर्देश गर्दछ ।
गत मार्च २० मा च्याट जिपिटी एपले प्रयोगकर्ताको संवाद तथा भुक्तानीका सम्बन्धमा डाटा गोपनियताको उल्लंघन गरेको पाइएको नियामक निकायको भनाइ छ ।
च्याट जिपिटीको सञ्चालनका लागि अल्गोरिदमलाई तालिम दिन ठूलो परिमाणमा प्रयोगकर्ताका व्यक्तिगत डाटाहरु संकलन र संग्रहण गर्नुको कुनै कानूनी आधार र कारण नदेखिएको नियामक निकायको भनाइ छ ।
साथै च्याट जिपिटी प्रयोग गर्नका लागि प्रयोगकर्ताको उमेर प्रमाणित गर्ने कुनै विधि नभएकाले यो प्लाटफर्मले बालबालिकाहरुलाई एनीहरुको मानसिक विकास र सचेतनाको तहभन्दा बाहिरको अमिल्दो विषयवस्तु तथा जवाफमा एक्स्पोज गराएको आरोप पनि च्याट जिपिटीमाथि लागेको छ ।
इटालीको डाटा सुरक्षण निकायले आफ्नो चासोहरुमाथि उचित जवाफ पेश गर्नका लागि ओपन एआईलाई २० दिनको समय दिएको छ । यदि उसको जवाफ चित्त नबुझेमा च्याट जिपिटीमाथि २ करोड युरो वा उसको वार्षिक आम्दानीको ४ प्रतिशत जरिवाना हुनेछ ।
सन् २०२२ को नोभेम्बरमा लञ्च भएयता च्याट जिपिटीका प्रयोगकर्ताको संख्या दशौं लाख नाघिसकेको छ ।
यो च्याटबटले प्राकृतिक तथा मानिसले जस्तै भाषा प्रयोग गरी प्रश्नहरुको जवाफ दिनुका साथै इन्टरनेटको प्रयोग गरी अन्य लेख्य ढाँचाहरुको पनि नक्कल गर्न सक्दछ ।
च्याट जिपिटीको विकासमा माइक्रोसफ्टले अर्बौँ डलर खर्च गरिसकेको छ र यसले गत महिनामात्रै च्याट जिपिटीलाई आफ्नो सर्च इन्जिन बिंगमा आबद्ध गरेको छ ।
साथै आगामी दिनमा यसलाई वर्ड, एक्सेल, पावर प्वाइन्ट तथा आउटलुक लगायतका अफिस एपहरुमा पनि एकिकृत गर्ने योजना माइक्रोसफ्टको छ ।
आर्टिफिसियल इन्टेलिजेन्सका बारेमा विश्वभर नै आलोचना हुने गरेको छ र यसले खासगरी मानिसहरुको रोजगारीमा खतरा उत्पन्न गर्नुका साथै गलत जानकारी फैलाउने र पूर्वाग्रही भएको जस्ता आलोचना हुने गरेका छन् ।
आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि विकासको दौड अनियन्त्रित हुनसक्ने र यसले मानिसको भविष्यलाई नै खतरामा पर्ने भन्दै ट्वीटरका प्रमुख एलन मस्क लगायतका विश्वका चर्चित प्रविधि विज्ञ र प्रविधि उद्योगका व्यक्तिहरुले यस्ता आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीको विकासमा रोक लगाउनुपर्ने माग गरेका छन् ।
– बीबीसीको सहयोगमा
प्रतिक्रिया 4