१९ चैत, काठमाडौं। बीपी नेत्र प्रतिष्ठानले आइतबार विश्व अटिजम दिवसका दिन भक्तपुरको मध्यपुर ठिमीस्थित चियर्स अस्पतालमा रहेको अपाङ्गता तथा विकासका लागि एकीकृत केन्द्रमा अटिजम केयर सेन्टरको स्थापना गरेको छ ।
अटिजम भएका बालबालिकाहरूलाई पुनर्स्थापना तथा प्रशिक्षण सेवा उपलब्ध गराउन बाल, आँखा, नाक, कान, घाँटी अस्पताल तथा पुनर्स्थापना सेवा (चियर्स) ले अटिजम भएका बालबालिकाहरूलाई फिजियोथेरापी, पेसागत थेरापी, न्यून दृष्टि थेरापी, भिजन थेरापी, स्पीच थेरापी, व्यवहारात्मक थेरापी र मनोसामाजिक थेरापीका साथै उपचार तथा आवश्यक तालिम दिई विद्यालयसम्म जान सक्ने गरी तयार गर्नेछ।
दृष्टिविहीन बालबालिका, दृष्टि तथा श्रवण शक्ति कमजोर वा अपाङ्गता भएका बालबालिकालाई स्वास्थ्य सहायता प्रदान गर्ने हेतुले तीन दशकअघि स्थापना भएको बी.पी. नेत्र प्रतिष्ठानले फिजियोथेरापी, पेसागत थेरापी, न्यून दृष्टि थेरापी, भिजन थेरापी, स्पीच थेरापी, व्यवहारात्मक थेरापी र मनोसामाजिक थेरापीका सेवा नि:शुल्क उपलब्ध गराउँदै आएको छ ।
अटिजम स्पेक्ट्रम डिसअर्डर भनेको बाल विकासका क्रममा मस्तिष्कमा हुने एक प्रकारको असन्तुलन हो। अटिजम भएका बालबालिकाहरूमा प्रायः सामाजिक सञ्चार र संलग्नता साथै अवरोध गरिएका कार्य वा बारम्बार दोहोरिने कार्य जस्ता व्यवहार वा रुचिमा समस्या आउनाले उनीहरूको सामाजिक जीवनलाई अत्यन्तै कठिन र सङ्घर्षशील बनाउने गर्दछ।
नेपालमा प्रत्येक एक हजार विद्यालय जाने बालबालिकामध्ये तीन जनामा अटिजम भएको अनुमान गरिएको छ। यसको मतलब हाल नेपालमा अटिजम भएका बालबालिकाहरू ३४,८०० रहेका रहेको अनुमान गर्न सकिन्छ। अटिजमको एक मात्र प्रमाणित उपचार व्यवहार विश्लेषण थेरापी हो र थेरापी प्राप्त गर्ने लगभग आधा अटिस्टिक बच्चाहरू विकासमा आफ्ना साथीहरू सरह हुन सक्छन् ।
प्रतिक्रिया 4