
२१ चैत, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव समेत रहेका राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले सरकार र स्थायी सरकार (कर्मचारीतन्त्र)ले जनताको चाहना र भावना अनुसार काम गर्नुपर्ने बताएका छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले नेताहरु मात्रै सुध्रेर नपुग्ने बताए ।
‘आम चुनावमा गरेका बाचा अनुसार हामीले काम गर्न सको छैनौं । यसलाई बुझेर हामीले आफूलाई परिवर्तन गर्न जरुरी’, उनले थपे, ‘हामी मात्रै सुध्रेर भएन । हाम्रो ब्युरोक्रेसी पर्मानेन्ट गर्भमेन्टलाई पनि सुधार्नु छ ।’
कर्मचारीतन्त्र सुधार गर्नुपर्नेम जोड दिँदै उनले अगाडि भनेका छन्, ‘सिंहदरवारको एउटा बिल्डिङबाट अर्को बिल्डिङमा फाइल सार्न दुई÷चार महिना लाग्ने अवस्था छ । यसरी हामी संसारकै असफल राष्ट्र हुन खोजेका हौं त ?’
प्रजातन्त्र भनेको जीवन पद्धति पनि भएको उल्लेख गर्दै उनले त्यसअनुसार संस्कार र संस्कृतलाई पनि परिवर्तन गरिनुपर्नेमा जोड दिए । नेपालमा रहेका युवा जनशक्तिको सदुपयोग गर्दै अगाडि बढ्नुपर्नेमा पनि उनले जोड दिए ।
‘संसारभर हेर्दा युवा नेपाली समाज जस्तो अन्त छैन् । यिनीहरुको सदुपयोग गर्दै हामी आफैँ पनि सुध्रेर, हाम्रो ब्युरोक्रेसीलाई सुधारेर आम नागरिकलाई हिजो भन्दा आज, आज भन्दा भोलि उनीहरुको जीवन सरल, सहज बनाउनु आजको आवश्यकता हो’, पौडेलले भनेका छन् ।
यसका लागि नेपाललाई आईटी अब बनाउन सकिने उनको राय छ ।
चालु आर्थिक् वर्षको ७ महिनामा ७० हजार विद्यार्थी अध्ययनका लागि विदेशिएको र ४४ अर्ब रुपैयाँ बाहिरिएको तथ्याङ प्रस्तुत गर्दै उनले नेपाललाई नै शिक्षा र आईटीको अब बनाउन सकिने बताए । जस अनुसार नीति तथा कार्यक्रम ल्याउन सरकारलाई उनको आग्रह छ ।
आईटी कम्पनी खोल्नका लागि केही समयमा लागि कर छुट दिने वा लोनमा सहुलियत दिन सकिने उनको सुझाव छ ।
नेपाललाई आइटी हब बनाउन सक्दा पर्यटक समेत बढ्ने भएकाले यसतर्फ ख्याल गर्न सरकारलाई उनको आग्रह छ । कृषि उत्पादन र जडीबुटी संकलन र त्यसको सदुपयोगमा पनि ध्यान दिनुपर्ने उनले बताए ।
प्रतिक्रिया 4