
२१ चैत, काठमाडौं । नेपाल इन्जिनियरिङ परिषदले पहिलो पटक लिएको लाइसेन्स परीक्षामा जम्मा २८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएपछि नेपालको इन्जिनियरिङ शिक्षाको गुणस्तरमा प्रश्न उठेको छ ।
परिषदले लिएको लाइसेन्स परीक्षामा इन्जिनियरिङ विषयको २० विधाको नतिजाअनुसार त्रिविका १०० मध्ये ४६ जना (४६ प्रतिशत), पूर्वाञ्चल विश्वविद्यालयका ४७१ मध्ये १४२ जना (२९.९४ प्रतिशत), पोखरा विश्वविद्यालय अध्ययन गरेका एक हजार १३ मध्ये ३११ जना (३०.७० प्रतिशत) मात्र उतीर्ण भएका छन् ।
त्यस्तै मध्यपश्चिम विश्वविद्यालय अध्ययन गरेका ४१ मध्ये ७ जना (१७.७) काठमाडौं विश्वविद्यालयका दुईमध्ये एक जना, विदेशमा पढेर आएका ३७८ मध्ये ५८ जना (१५.३४ प्रतिशत) र सुदूरपश्चिम विश्वविद्यालयका १ जना लाइसेन्स पाउन सफल भएका छन् ।
नेपाल इन्जिनियरिङ परिषद्का रजिष्ट्रार शिवमंगल गिरी नेपालको इन्जिनियरिङ शिक्षाको गुणस्तर खस्किएको नतिजाले पुष्टि गरेको बताउँछन् । ‘हाम्रो शैक्षिक गुणस्तर खस्कँदै गएकोले कहाँ, कस्तो कमजोरी छ भनेर जान्न गरिएको लाइसेन्स परीक्षाको नतिजाले आशंका पुष्टि गरेको छ’, उनले भने ।
उनका अनुसार, देशभित्र र देशबाहिरका विश्वविद्यालयहरुको गुणस्तर कमजोर हुनु, विद्यार्थीहरु नियमित परीक्षामा सहभागी नहुनु, कोरोनाकालमा अनलाइन परीक्षाबाट उतीर्ण विद्यार्थी पनि सहभागी हुनु लगायत कारणले इन्जिनियरिङको लाइसेन्स परीक्षामा नतिजा कमजोर आएको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रमुख डा. इन्द्रप्रसाद आचार्य यो नतिजाले सम्बन्धित सबैले कमजोरी पत्ता लगाएर सुधारमा लाग्नुपर्ने सन्देश दिएको बताउँछन् । यो नतिजाले कहाँ, कसको के कमजोरी हो भन्ने स्पष्ट नपारे पनि सम्बन्धित विश्वविद्यालय र नियामक संस्थाहरु समस्या पहिचान र समाधनका काममा लाग्नुपर्ने उनले बताए ।
‘एकदमै निराशाजनक नतिजा आयो । के कारणले यस्तो नतिजा आयो भन्ने विषयमा सम्बन्धित निकायहरु शैक्षिक संस्थाहरु, शिक्षक, विद्यार्थी, नियमनकारी सबैले गम्भीर रुपमा अध्ययन गर्नुपर्ने देखिन्छ’, उनले भने, ‘शिक्षण कमजोर भएकैले नतिजा कमजोर आएको हुनाले सुधारको लागि सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने देखियो ।’
पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त कसमस कलेज पढेका रामचन्द्र यादव परीक्षामा एकदमै गहिराइमा गएर उत्तर लेख्नुपर्ने प्रश्न सोधिएकाले धेरै विद्यार्थी फेल भएको हुनसक्ने बताए ।
‘धेरैजसो आफूले पास गरेको विषयमा लाइसेन्स निकाल्न के गाह्रो भन्ने तरिकाबाट गए, तर प्रश्न प्रोफेसरले परीक्षा दिनुपर्ने तहको आयो’, उनले भने, ‘यो कारणले गर्दा धेरै फेल भएका हुन् जस्तो लाग्छ ।’
सिभिल इन्जिनियरिङबाट लाइसेन्स लिन सफल यादवले परीक्षाको प्रश्नहरु हेर्दा धेरै विद्यार्थी फेल गराउने उद्देश्य राखिएको जस्तो अनुभूति हुने बताए । ‘किनभने, लाइसेन्स परीक्षाको प्रश्न प्रोफेसरले पनि ६० भन्दा बढी अंक नल्याउने तहको थियो’, उनले भने ।
इन्जिनियरिङ परिषद् ऐन, २०५५ को पहिलो संशोधन ऐन, २०७९ को अनुसूची २ को व्यवस्था बमोजिम सञ्चालित परीक्षाको समय २ घण्टा, पूर्णाङ्क १०० र उतीर्णाङ्क ५० थियो ।
नेपाल इन्जिनियरिङ एसोसिएसनका महासचिव रविभूषण झा सीमित परीक्षार्थी सहभागी परीक्षामा कमजोर नतिजा आउनुले शैक्षिक गुणस्तरमाथि प्रश्न उठाएको बताउँछन् । क्याम्पस धेरै हुँदा प्रवेश परीक्षामा कम अंक ल्याएका विद्यार्थी पनि भर्ना हुन पाउने कारणले शैक्षिक गुणस्तर खस्किन थालेको हुनसक्ने उनले बताए ।
‘क्याम्पस धेरै छन्, प्रवेश परीक्षामा २७ प्रतिशत ल्याउनेहरु पनि कतै न कतै भर्ना हुन्छन्’, झाले भने, ‘त्यसैको परिणाम हो लाइसेन्स परीक्षाको नतिजा । हाम्रो शैक्षिक गुणस्तरमा प्रश्न उठिरहेकै थियो, तर कहाँबाट, कसरी सुधार सुरु गर्ने भन्ने थिएन । यो परीक्षाको नतिजाले सम्बन्धितहरुलाई सुधारको पहल गर्न बाध्य पार्छ भन्ने मेरो बुझाइ छ ।’
त्यसक्रममा अब देशलाई कुन क्षेत्रमा कति इन्जिनियर आवश्यक छ भनेर अध्ययन पनि गर्नुपर्ने महासचिव झाले बताए ।
प्रतिक्रिया 4