+
+

उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसनबीच भेट, शान्ति प्रक्रियामा चासो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १३:०९

२२ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबीच आज शिष्टाचार भेट भएको छ । गृह मन्त्रालयमा भएको भेटमा शान्ति प्रक्रिया र नेपालको राजनीतिक स्थीरताबारे राजदूत थम्पसनले चासो राखेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयका एक सदस्य कमल गिरीका अनुसार भेटमा राजदूत थम्पसनले अमेरिकाले नेपालको शान्तिप्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफू र आफ्ना कूटनीटिक साझेदारहरूसँग यसको सहजताका लागि पहल लिन तयार रहेको बताएका थिए । राजनीतिक अस्थिरताले विकासमा पार्न सक्ने प्रभावका बारेमा पनि राजदूत थम्पसनले चासो लिएका थिए ।

सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संक्रमणकालीन न्याय निरुपण सम्बन्धी विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको र नेपालका हितैषी अन्तर्राष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताएका थिए । उनले संक्रमणकालीन न्याय सम्पन्न गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि त्यस सम्बन्धी विधेयक संसदमा पेश भैसकेको जानकारी पनि गराएका थिए ।

साथै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संवैधानिक अभ्यासमै रहेकाले यसले विकास निर्माणलाई प्रभावित नगर्ने बताएका थिए ।

कोभिडपछि अमेरिकी सहयोग संस्था ‘पिसकोर’को काम प्रभावित भएको भन्दै राजदूत थम्पसनले त्यसमा संलग्नहरुको भिसा सहजताका लागि आग्रह गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय गरिने बताएका थिए ।

नेपालमा अमेरिकी लगानी, कार्यरत संस्था तथा यसका कर्मचारीहरूको सुरक्षामा समेत राजदूतले चासो राख्दा उपप्रधानमन्त्री श्रेष्ठले त्यसमा पूर्णसुरक्षा हुने बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?