+
+

फिल्मको संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्छ : मन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १२:०४

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले घरेलु फिल्मको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेकी छन् । फिल्मको संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने समय आएको उनले बताइन् । व्यापारमा मात्र केन्द्रित हुँदा गुणस्तर खस्किएको उनको भनाइ छ ।

नेपाली चलचित्र क्षेत्रका संघसंस्थाका निर्वाचित कार्यसमितिलाई बधाई दिन निर्माता संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले फिल्मको गुणस्तर वृद्धिमा जोड दिएकी हुन् । ‘चलचित्र क्षेत्र मनोरञ्जनको साधन मात्र होइन, यो सन्देश प्रवाहको माध्यम पनि हो । चलचित्र निर्माण गर्दा विषयवस्तु, सन्देश र कला पक्षको सन्तुलनमा बराबरी ध्यान दिनु आवश्यक छ,’ उनले भनिन् ।

नेपाल प्राकृतिक हिसाबले सुन्दर र सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुुक भएकाले यसलाई राम्रोसँग फिल्ममा प्रस्तुत गरेर राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सके फिल्मको माध्यमबाट देशको समृद्धिमा ठूलो योगदान गर्न सकिने विश्वास पनि उनले व्यक्त गरिन् । फिल्म क्षेत्रमा भइरहेका कामहरुको समीक्षा हुनुपर्ने भन्दै मन्त्री शर्माले फिल्म क्षेत्रमा महिलालाई प्रोत्साहन गर्नुपर्ने जरुरी रहेको बताइन् ।

उनले भनिन्, ‘चलचित्र क्षेत्रको विकासको लागि हामीले के कस्तो भूमिका निर्वाह गरिरहेका छौं भन्ने समीक्षा गर्न आवश्यक छ । नीतिगत रूपमा कहाँ–कहाँ समस्या रहेका छन् र सरकारले कहाँ–कहाँ सहयोग गर्नुपर्ने हो त्यो विषय चर्चा र समीक्षा गरौंला ।’ सरकारको नीति कार्यक्रममा तथा नयाँ बजेटमा केही नयाँ काम गर्न सक्नुपर्ने उनको भनाइ छ । फिल्म क्षेत्रमा महिला टिक्न सहज नभएको टिप्पणी गर्दै उनले त्यसको प्रवर्द्धन पनि जोड दिने बताएकी छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले यस क्षेत्रको काम आफूलेभन्दा छिटो कसैले गर्न सक्छ भने आफू राजीनामा दिन तयार रहेको बताए । नियम बनाएर मन्त्रालयमा पठाएपनि फाइल अगाडि बढ्न नसकेका कारण आफूले फिल्मकर्मीको माग छिटो समाधान गर्न नसकेको केसीको भनाइ थियो । यसकोे पहलका लागि साथ दिन फिल्म सम्बद्ध सबै संघसंस्थालाई उनले आग्रह समेत गरे ।

कार्यक्रममा फिल्म निर्माता अशोक शर्मा, बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, दयाराम दाहाल लगायतले फिल्म क्षेत्रको समस्याको विषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा चलचित्र पत्रकार संघ, कलाकार संघ, निर्देशक समाज, चलचित्र प्राविधिक संघ, नृत्यकार संघका नवनिर्वाचित कार्यसमितिलाई निर्माता संघको तर्फबाट बधाई तथा सम्मान गरिएको थियो । संघका अध्यक्ष नवल खड्काले सम्मान गर्न पाउनु आफ्ना लागि खुसीको कुरा भएको बताए । यस्ता कार्यक्रमले संघसंस्थालाई एक ढिक्का भएर अगाडि बढ्न मद्दत मिल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?