
आफ्नो घरपरिवार छाडेर परदेशमा पुगेकाहरुको मनोदशा कस्तो हुँदो हो ? उनीहरुलाई आफ्ना साना बालबच्चाको यादले कति सताउँदो हो ? पाका बुवाआमा सम्झेर मन कति भक्कानिंदो हो ? जीवनसंगीको मायाले कति मन कुँडिंदो हो ?
मनोचिकित्सक डा. सगुनबल्लभ पन्त भन्छन्, ‘घर छाडेर पहिलो पटक वैदेशिक रोजगारीमा जाँदा होम सिक्नेस हुन्छ । यसले कतिपय अवस्थामा उनीहरुको दिनचर्यालाई प्रभावित गर्छ ।’ डा. पन्त त्रिवि शिक्षण अस्पतालमा कार्यरत छन् ।
विदेश गएको सुरुवाती दिनको मनोदशा
होम सिक्नेसको लक्षण कहिलेकाहीं एन्जाइटी तथा डिप्रेसनको जस्तो पनि देखिन सक्ने उनी बताउँछन् । ‘होम सिक्नेस भएको व्यक्ति खाना रुचि नहुने, अत्यास लाग्ने, निद्रामा समस्या हुने, सहजै खुसी र आनन्दको अनुभव नहुने, दिक्क लाग्ने, घरपरिवारलाई सम्झेर भाव विह्वल हुने, उदास हुने र आत्तिने लगायत मनोदशाबाट गुज्रिन्छन्,’ पन्त भन्छन् । विदेशमा गएर नयाँ साथीसंगत बन्दै गएपछि, काममा व्यस्त हुँदै गएपछि र त्यहाँको वातावरणमा भिज्दै गएपछि होम सिक्नेसको समस्या आफैं कम हुँदै जाने उनी बताउँछन् ।
चाडपर्वको बेला न्यास्रो बढ्न सक्छ
वर्षौंदेखि मान्दै आएको दशैं तिहार जस्तो चाडपर्वको माहोलको सम्झना मनमा रहिरहेको हुन्छ । विदेश गएर त्यो चाडपर्वको बेला काममा जानु पर्दा परिवारसँग बसेर रमाइलो गर्न नपाउँदा नराम्रो लाग्ने र चाडपर्वको बेला पनि होम सिक्नेस हुन सक्ने पन्त बताउँछन् ।
‘अहिले विदेशमा बसे पनि नेपालमा के भइरहेको भन्ने कुरा भिडियो कलमार्फत हेर्न मिल्छ । त्यो माहोलमा आफू हुन नपाउँदा नराम्रो लाग्ने परिवारको याद आउने हुन्छ । तर यसलाई असामान्य मान्नु भने हुँदैन, यस्तो बेला याद नआउनु चाहिं बरु असामान्य हो,’ पन्त भन्छन् ।
कुनै अवस्थामा जटिल पनि हुन सक्छ
होम सिक्नेस भनेको घरबाट टाढा हुँदा हुने चिन्ता र तनावको अनुभूति हो । जब कोही घर र प्रियजनबाट टाढा हुन्छन् जब यस्तो अनुभूति हुन्छ । यो जोकोही र कुनै पनि उमेरमा हुन सक्ने डा. पन्त बताउँछन् ।
मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति जो डिप्रेसन, एन्जाइटी तथा अन्य कडा मानसिक रोगको उपचारमा छन् र उपचारकै क्रममा विदेश गएका छन् भने उनीहरूलाई नयाँ वातावरणमा समायोजन हुन गाह्रो हुन्छ र यो समस्या बढ्न सक्ने उनी बताउँछन् ।
नयाँ ठाउँमा गएपछि आफूले चिताएको जस्तो काम नहुनु, चिताएको जस्तो साथी नहुनु, एउटा काम सोचेर गरेको अर्कै काम गर्नुपर्यो भने होम सिक्नेसको समस्या लम्बिन पनि सक्छ । यो लम्बिंदै जाँदा अनिद्रा, एन्जाइटी डिप्रेसनको जोखिम बढ्न सक्ने पन्त बताउँछन् ।
यसबाट बच्न के गर्ने ?
जो व्यक्तिलाई होम सिक्नेस लामो समयसम्म रहन्छ, त्यस्तो व्यक्तिले आफ्नो परिवारसँग सम्पर्क बनाइरहनुपर्छ । प्रत्येक दिन एउटा समयमा परिवारसँग कुरा गर्नुपर्छ । आफ्नो कुरा प्रष्ट रूपमा परिवारसँग राख्ने गर्नुहुन्छ ।
आफ्नो अनुभव परिवारका सदस्यहरूलाई सुनाउने, आफ्नो दिनचर्या राम्रो बनाउने समयमा खाना खाने, व्यायाम योग गर्ने, नयाँ ठाउँमा गएर त्यहाँ नयाँ साथी बनाउनुपर्छ । उनीहरूसँग सम्बन्ध विस्तार गर्दै गएपछि यो समस्या कम हुँदै जान्छ ।
प्रतिक्रिया 4