
२४ चैत, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले आगामी आर्थिक बर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरुमा सुझाव माग गरेको छ ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय विभागका प्रमुखहरुसँग प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पदाधिकारीहरुले छलफल गरेका थिए । उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरुमा सुझाव माग गरेका हुन् ।
बैठकमा सहभागी माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नीति तथा कार्यक्रमबारे पाँच दिनभित्र सुझाव दिन पार्टीका केन्द्रीय विभागका प्रमुखहरुलाई आग्रह गरिएको बताए ।
प्राप्त सुझाव अध्ययन गरेर नीति तथा कार्यक्रममा समेटिने उनले बताए । सचिव पौडेलका अनुसार आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे सुझाव संकलनको काम चलिरहेको छ । सोही क्रममा पार्टीले आफ्ना कमिटीलाई पनि सुझाव दिन भनेको हो ।
प्रतिक्रिया 4