
२५ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिले वडा नं. १० घडीअर्वास्थित रामजानकी मन्दिरको जग्गामा भएको अतिक्रमण हटाएको छ । अतिक्रमण गरी बनाइएको संरचना महानगरले शनिबार डोजरको सहायताले हटाएको हो ।
यसअघि मन्दिरको पूजारी शम्भुनाथ तिवारीले महानगरविरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा रिट निवेदन दिएका थिए । उनको रिट अस्वीकार भएसँगै डोजर लगाएर अतिक्रमित संरचना हटाएको महानगरका कर्मचारीहरु बताउँछन् ।
फागुन ४ गते अदालतले पूजारीकै पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । तर महानगरपालिकाले उक्त आदेश खारेजीको माग गर्दै अदालतमा निवेदन दिएको थियो । शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले महानगरकै पक्षमा आदेश दिएको थियो ।
तीन दशक भन्दा बढी समयदेखि मन्दिर प्रवेशमा समेत रोक लगाएर जग्गा अतिक्रमण गरि निर्माण गरिएको पक्की संरचनाबाट पूजारीले भाडा समेत असुली गर्दै आएका थिए ।
मठमन्दिर तथा सार्वजनिक, ऐलानी जग्गा खोजी अभियान अन्र्तगत मन्दिरको जमिन अतिक्रमण गरेर बनाइएको संरचना भत्काइएको मेयर राजेशमान सिंहले बताए । अतिक्रमण हटाउन मेयर सिंह स्वयं घडिअर्वा पुगेका थिए ।
१९८२ सालदेखि रामजानकी मन्दिरको नाममा रहेको जग्गामा पूजारी तिवारीले तीनतिरै पक्की संरचना बनाएर भाडामा लगाएका थिए ।
मन्दिर परिसरमा बनेका सबै संरचना हटाएर मन्दिरलाई पुरानै अवस्थामा फर्काएर दैनिक पूजापाठ हुने गरि संचालनमा ल्याउने मेयर सिंहले बताए ।
प्रतिक्रिया 4