
२७ चैत, काठमाडौं । लघुबीमा कम्पनीले ५ लाख रुपैयाँ भन्दा कम बिमाङ्क भएको जीवन बीमालेख मात्रै जारी गर्ने पाउन भएका छन् । नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशिका २०७९ जारी गर्दै जीवन बीमातर्फ लघुबीमा कम्पनीले ५ लाख भन्दा कम बिमाङ्क रकम भएको मात्रै बीमा गर्नसक्ने व्यवस्था गरेको हो ।
यस्तै निर्जीवन बीमा तर्फ घर, सम्पत्ती तथा व्यवसाय बीमा ५० लघुबीमा ५० लाख रुपैयाँसम्मको गर्नसक्ने सीमा दिएको छ । यस्तै मोटर लघुबीमा ट्रेलर, ट्याकटर, थ्रेसर, मोटर अन्तरगत पर्ने, कृषि उपकरण, मोटरसाइकल, मोपेड, ट्याम्पु, रिकसा र ठेलागाडाको मात्रै लघुबीमा कम्पनीले बीमा गर्नसक्ने व्यवस्था निर्देशिकाले गरेको छ ।
निर्देशिकाअनुसार कम्पनीहरुले गरिब, निम्न आय वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायलाई लक्षित गरेर व्यवसाय गर्नु पर्नेछ। लघु जीवन बीमा व्यवसाय अन्तर्गत बीमकले बढीमा ४ प्रकारका बीमा गर्न सक्छन् । जसमा आजीवन, सावधिक, म्यादी र अन्य लघु जीवन बीमा छन् । यस्तै लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले ५ वटा प्रकारका बीमा व्यवसाय गर्न सक्ने व्यवस्था गरिएको छ। जसमा घर, सम्पत्ति तथा व्यवसाय लघुबीमा, मोटर, इन्जिनियरिङ, दायित्व तथा मौद्रिक क्षति लघुबीमा र अन्य लघु निर्जीवन बीमा व्यवसाय छ।
बीमकले बीमितबाट पुरा बीमा शुल्क प्राप्त नगरी लघु बीमालेख जारी गर्न नपाउने व्यवस्था निर्देशिकाले गरेको छ । तर, संघ वा प्रदेश सरकार र सम्बन्धित स्थानीय तहले बीमालेखमा अनुदान उपलब्ध गराएका छन् भने बराबरको रकम घटाइ बाँकी बीमाशुल्क लिई बीमा गर्न बाधा नपुग्ने निर्देशिकामा उल्लेख छ।
बीमालेख उल्लेख गरिएको बीमाको दर र गणनाको आधारमा शुल्क गणना गर्नुपर्ने बीमा प्राधिकरणले जारी गरेको निर्देशिकामा उल्लेख छ । बीमालेख अनुसार गणना गर्दा आउने शुल्कमा कुनै पनि अतिरिक्त रकम थप गर्न पाइने छैन। एकपल्ट बीमालेख जारी भएपछि बीमा अवधिभर दर बढाउन वा घटाउन नपाउने व्यवस्था निर्देशिकाले गरेको छ।
लघुबीमा अभिकर्ताको कमिसन नियमावली बमोजिम र निर्जीवन बीमातर्फ ५ प्रतिशत प्राप्त गर्न सक्नेछन् । बीमालेखको अवधि जीवन लघु बीमालेखको हकमा एक वर्ष वा सोभन्दा बढी अवधि र निर्जीवन लघु बीमालेखमा एक वर्ष वा सो भन्दा कम अवधिको लागि मात्र जारी गर्न सकिने निर्देशिकामा उल्लेख छ।
बीमा प्राधिकरणले चुक्ता पूँजी पुर्याएर प्राधिकरणमा आवेदन दिएका १ जीवन र एक निर्जीवन लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको छ । यस्तै थप दुईवटा कम्पनीलाई लाइसेन्स दिने तयारी गरेको प्राधिकरणले जनाएको छ । यस्तै ३ वटा कम्पनीले पनि पूँजी जुटाउन बाँकी रहेको र ४५ दिनको समय थप गरेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया 4