+
+

उद्योग वाणिज्य महासंघको साधारणसभा सुरु हुँदै, नयाँ नेतृत्व चयन गर्न भोलि चुनाव

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते ८:०८

२८ चैत, काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा आजदेखि काठमाडौंमा सुरु हुँदै छ । होटल याक एण्ड यतीमा आयोजित साधारण सभाको उदघाटन आज बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ ।

साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । यसै साधारणसभाबाट हाल महासंघका वरिष्ठ उपाध्यक्ष पदमा रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुने छन् भने नयाँ वरिष्ठ उपाध्यक्ष लगायतका पदका लागि बुधबार निर्वाचन हुनेछ ।

उद्योग वाणिज्य महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीन वर्षे कार्यकाल पछि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ ।

नयाँ वरिष्ठ उपाध्यक्ष चुनिनका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी प्रतिस्पर्धामा छन् । उनीहरुले प्यानलसहित उम्मेदवारी घोषणा गर्दै उद्योग व्यापारमैत्री वातावरण निर्माणका लागि सरकारसँग पहल गर्ने लगायतका एजेण्डा अघि सारेका छन् ।

उमेशलाल श्रेष्ठको प्यानलबाट वस्तुगत तर्फको केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्न लागेका नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले लगानीमैत्री वातावरण, रोजगारी सिर्जना, स्वदेशी उद्योगको प्रवर्द्धन, मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउने सरकारको लक्ष्यमा साझेदारी लगायतका एजेण्डासहित चुनावमा प्रतिस्पर्धा गर्न लागेको बताए ।

अरु उम्मेदवार को-को ?

साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि राष्ट्रिय सदस्यका उम्मेदवार सुनील केसी भने यसअघि नै निर्विरोध भएका छन् ।

महासंघको विधानले तीन फरक व्यावसायिक क्षेत्र (जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएट)  मा एक–एक जना गरी तीन जना उपाध्यक्षको व्यवस्था गरेको छ । जिल्ला–नगर वाणिज्यतर्फ सुरकृष्ण वैद्य, अरुणराज सुमार्गी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

यस्तै वस्तुगत उपाध्यक्षमा शकुन्तला हिराचन, मनिषलाल प्रधान र हेमराज ढकाल उम्मेदवार छन् । एसोसिएट उपाध्यक्ष पदका लागि ज्योत्सना श्रेष्ठ र भरतराज आचार्यबीच प्रतिस्पर्धा हुनेछ ।

तीन उपाध्यक्ष पदका ८ उम्मेदवारमध्ये जिल्ला–नगरका दिनेश श्रेष्ठ, वस्तुगतका हेमराज ढकाल र एसोसिएट्सका भरत आचार्य उमेशलाल श्रेष्ठ प्यानलका हुन् ।

यस्तै अञ्जन श्रेठ प्यानलमा सुरकृष्ण श्रेष्ठ र अरुणराज सुमार्गी छन् । जिल्ला–नगर उपाध्यक्षका उम्मेदवार सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षका शकुन्तलाल हिराचन र एसोसियट्सका ज्योत्सना श्रेष्ठ रामचन्द्र संघाइ प्यानलका हुन् ।

७ कार्यसमिति सदस्य प्रदेशतर्फ १५ उम्मेदवारी, एक निर्विरोध

सात प्रदेशबाट निर्वाचित हुने ७ जना कार्यसमिति सदस्य पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेश सदस्य निर्विरोध भएपछि अन्य ६ स्थानका लागि १४ जना प्रतिस्पर्धामा छन् । कोशी प्रदेशबाट टंकप्रसाद दुलाल, नरेन्द्रकुमार खड्का र तारानाथ घिमिरे प्रतिस्पर्धामा छन् ।

मधेश प्रदेशबाट विजयकुमार साह र अरुणकुमार प्रधान उठेका छन् । बागमती प्रदेशमा कृषिप्रसाद अवाल र सविन श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ भने गण्डकी प्रदेशमा जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारी प्रतिस्पर्धामा छन् । त्यस्तै लुम्बिनीमा शम्शेर मियाँ निर्विरोध हुँदा कर्णाली प्रदेशमा लालमान बूढा, धनबहादुर राउत क्षेत्री र कुलबहादुर विश्वकर्मा प्रतिस्पर्धामा छन् ।

सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि रामबहादुर भण्डारी र जंगबहादुर मल्ल प्रतिस्पर्धामा छन् । संस्थापक सदस्य समूहतर्फको एकल कार्यसमिति सदस्य पदका लागि भीष्मप्रसाद न्यौपाने र टिकाराज ढकाल प्रतिस्पर्धामा छन् । यस्तै जिल्ला–नगर, वस्तुगत र एसोसिएटबाट कार्यसमितिमा चुनिने ५१ सदस्यका लागि ९० जना प्रतिस्पर्धामा छन् ।

वस्तुगत संघबाट निर्वाचित हुने १४ कार्यसमिति सदस्य पदका लागि २८ जना प्रतिस्पर्धामा छन् । यस्तै, उद्योग वाणिज्य संघबाट निर्वाचित हुने १८कार्यसमिति सदस्यमा ३२ जना र १९ एसोसिएट कार्यसमिति सदस्यका लागि ३० जना प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?