+
+

अस्पतालबाट ३९ दिनपछि बन्धकमुक्त भइन् मन्तोरिया

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ चैत २९ गते १८:२१

२९ चैत, जनकपुरधाम । उपचार खर्च तिर्न नसक्दा जनकपुरधामको न्यूरो हस्पिटलमा ३९ दिनदेखि बन्धक बनेकी मन्तोरियादेवी राय मुक्त भएकी छन् ।

उनलाई सबैला नगरपालिकाका मेयर कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गरी बुधबार बन्धकमुक्त गराएका हुन् ।

मेयर यादवले आफैं अस्पताल पुगेर उनलाई बन्धकमुक्त गराई घर पुर्‍याएका हुन् । एकलाख रुपैयाँ नगरपालिकाले र बाँकी रकम सहायोगीहरुबाट संकलन गरी चुक्ता गर्ने शर्तमा उनलाई बन्धनमुक्त गरिएको मेयर यादवले बताए ।

उपचार खर्च तिर्न नसक्दा सबैला नगरपालिका ९ की मन्तोरिया ३६ दिनदेखि बन्धक रहेको समाचार अनलाइनखबरमा सार्वजनिक भएपछि स्थानीय सरकार तथा प्रशासनको ध्यानाकर्षण भएको थियो ।

गत सोमबार नै सबैलाका मेयर यादव र जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत किरणकुमार मिश्र उनको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।

मंगलबार सबैला नगरपालिका कार्यपालिकाको बैठक बसेर एक लाख रुपैयाँ नगरपालिकाले उपचार खर्च उपलब्ध गराउने र बन्धकमुक्त गराउन पहल गर्ने निर्णय गरेको थियो ।

बुधबार मेयर यादव जिल्ला प्रशासन कार्यालय धनुषामामा पुगेर मन्तोरियालाई बन्धकमुक्त गराउने विषयमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसित छलफल गरेर मुक्त गराएका हुन् ।

भण्डारीले अस्पताललाई तत्कालै फोन गरी बन्धक मुक्त गराउन निर्देशन दिएका थिए । न्यूरो अस्पताल दर्ता बिनै एकवर्षदेखि सञ्चालनमा रहेको समाचार समेत अनलाइनखबरले खुलासा गरेको थियो । अस्पताललाई के गर्ने भन्ने विषयमा पत्र लेखेर जिल्ला प्रशासन कार्यालय धनुषाले सुझाव मागेको छ ।

रायले ७ लाख भन्दा बढी जसोतसो उपचार खर्च तिरे पनि झण्डै ९ लाख रुपैयाँ तिर्न बाँकी थियो । गत फागुन २० गते नै डिस्चार्ज गरे पनि बाँकी रकम नतिरेसम्म घर जान नदिने भन्दै अस्पतालले उनलाई रोकेको थियो । अस्पतालमा उनीसँगै तीन छोराछोरी र वृद्ध ससुरा पनि थिए ।

गत माघ १२ गते सबैलाको एक बैंकबाट पैदल घर फर्किरहेको बेला बा ६१ प ६६३३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदै मन्तोरियालाई ४८ मिटरसम्म घसारेको थियो । गम्भीर घाइते उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएको भन्दै न्युरो अस्पताल रेफर गरिदियो ।

मोटरसाइकल धनुषाकै शहीदनगर नगरपालिका–१ बेमर्खी टोलका २५ वर्षीय दीपककुमार रायले चलाइरहेका थिए भने पछाडि सवार थिए स्थानीय ३५ वर्षीय गजेन्द्र यादव ।

मोटरसाइकल चालक पक्राउ परेर जेल चलान छन् भने पछाडि बस्ने फरार छन् । मोटरसाइकल धनी काठमाडौंका छन् । ठक्कर दिने पक्षले उनलाई अहिलेसम्म एक सुको पनि उपचार खर्च दिएको छैन ।

सम्पत्तिको नाममा दुई धुर घडेरीमा मात्र उनको छाप्रो घर छ । श्रीमान वैदेशिक रोजगारमा कतारमा छन् । तर कम्पनी डुबेर घर फर्किने अवस्थामा छन् । सातलाख भन्दा बढी रकम ऋण तथा गाउँ समाजले चन्दा संकलन गरी दिएपछि अस्पताललाई तिरेका थिए ।

 

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?