+
+

१६७ सांसदको हाजिर, बैठकमा ६१ जनामात्रै

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ चैत २९ गते २०:०१

२९ चैत, काठमाडौं । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा सभामुख र उपसभामुखसहित १६७ जना प्रतिनिधि सभा सदस्यले हाजिर गरेका छन् । तर, प्रतिनिधिसभा बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा जम्मा ६१ जनामात्र भेटिए ।

गणपूरक संख्या नपुगेका कारण प्रतिनिधि सभाले बुधबारको बैठक अगाडि तय गरेको दुवै कार्यसूची अर्को बैठकका लागि सर्न पुगेको छ । सभामुख देवराज घिमिरेलेको अर्को बैठक आगामी वैशाख ३ गतेका लागि तय गरेका छन् ।

तय भएको कार्यसूची भन्दा अगाडि प्रतिनिधि सभामा आकस्मिक समय, शून्य समय र विशेष समय चल्यो । जहाँ सांसदहरुले विविध विषयमा आफ्ना धारणा राखे ।

बुधबार नै प्रतिनिधि सभामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले विगतमा संसदमा उठेका आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नमाथि धारणा राखे । मन्त्रीसँग सांसदहरुले प्रश्न सोध्ने र जवाफ दिने क्रम पनि चल्यो । तर, गणपूरक संख्या नपुगेका कारण मुख्य कार्यसूचीलाई भने अगाडि बढाउन सकेन ।

विशेष समय सकिएपछि सभामुख घिमिरे मुख्य कार्यसूचीमा प्रवेश गरे । उनले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए । मन्त्री शर्माले विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि विधेयकमाथि सामान्य छलफल सुरु भयो ।

प्रतिनिधिसभा नियमावली २०७९ अनुसार कुनै पनि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएपछि त्यसउपर सामान्य छलफल हुन्छ । विधेयकमाथिको सामान्य छलफलमा १३ जना प्रतिनिधिसभा सदस्यले भाग लिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएपछि सभामुख घिमिरेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न खोज्दै थिए । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गरे ।

नेपालको संविधानको धारा ९४ अनुसार संसदमा कुनै पनि प्रस्ताव प्रस्तुत गर्न नै एक चौथाइ सांसद अनिवार्य उपस्थित हुनुपर्छ । जहाँ भनिएको छ, ‘यस संविधानमा अन्यथा लेखिएकोमा बाहेक संघीय संसदको कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने छैन ।’ प्रतिनिधि सभा २७५ सदस्यीय छ । जसको एक चौथाई ६९ हुन आउँछ । ६९ सांसद उपस्थित नभए कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सक्दैन ।

गणपूरक संख्या यकिन गर्न माग भएपछि सभामुख सोही अनुसार संघीय संसद सचिवालयका कर्मचारीहरुलाई निर्देश गरे । तीन मिनेट जनाउ घण्टी बजाएर सदन बाहिर रहेकाहरुलाई भित्र प्रवेश गर्न लगाएर गन्दा संसदमा जम्मा ६१ सांसद उपस्थित रहेको पत्ता लाग्यो । त्यसपछि सभामुख घिमिरेले विधेयक अगाडि बढाउन गणपूरक संख्या नपुगेको घोषणा गरे र बैठक स्थगित गरे ।

प्रतिनिसभामा यस्तो दृश्य पहिलो पटक देखा परेको होइन । गत फागुन १२ गते पनि गणपुरक संख्या नपुगेकै कारण ‘अनुगमन तथा मुल्यांकन विधेयक २०७८ माथि बिचार गरियोस् भन्ने प्रस्ताव’ पारित हुन सकेको थिएन ।

त्यस दिन पनि गणपूरक संख्याबारे प्रश्न उठेपछि गणना गर्दा संसदमा जम्मा ५० जना मात्रै उपस्थित थिए । संघीय संसद सचिवालयका अनुसार त्यसदिन १६० जनाले हाजिर गरेका थिए ।

फागुन १२ गते गणपूरक संख्या नपुगेर रोकिएको अनुगमन तथा मुल्यांकन विधेयक माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाले करिब एक महिनापछि चैत ५ गते पारित गरेको थियो ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा सांसदहरुमा हाजिर गरेर टाप कस्ने प्रवृत्ति देखिएको टिप्पणी गरे ।

गत १५ चैतमा पनि प्रतिनिधिसभाको बैठक चलिरहेको थियो । जहाँ प्रतिपक्षी दलका सांसदहरुले मन्त्री खोजे । सत्ता पक्षका सांसदहरुले प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुको खोजी गरे । तर, कांग्रेसका सांसद खतिवडाले पुरै सांसदहरुको उपस्थितिको खोजी गरेका थिए ।

त्यसबेला प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षी बेन्चमा अगाडिको बेञ्च पुरै खाली थिए । जहाँ शीर्ष नेताहरुको सिट व्यवस्थापन गरिएको हुन्छ ।

सांसद खतिवडाले प्रतिनिधि सभाको बैठकमा उपस्थित हुने तर हाजिर गर्दै टाप कस्ने प्रवृत्ति देखिएको भन्दै भनेका थिए, ‘संसद ‘हाटा’ नबनोस् । हाजिर गर्ने टाप कस्ने माध्यम नबनोस् सभामुख महोदय ।’

सभामुख घिमिरेले सांसद खतिवडालाई ‘ध्यानाकर्षणको लागि माननीयज्यूलाई धन्यवाद’ भनेर थुमथुमाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठ लगायतले प्रश्न पनि गरेपछि सभामुखले हाजिर गरेका सांसदहरु संसद भवन परिसरमै रहेको हुन सक्ने बताएका थिए ।

उनले भनेका थिए, ‘संसदमा उपस्थित भई हाजिरी समेत गरिसकेका माननीयज्यूहरु हामीलाई विश्वास छ यही हलको वरिपरी रहनुभएको होला ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?