
म खुल्ला किताब जस्तो छु । जोसँग पनि घुलमिल हुन्छु । कसैको दुख्न देख्न सक्दिन, अरुको दुःख देख्ने बित्तिकै सहयोग गर्ने बानी छ । यही बानीले गर्दा मैले यस वर्ष धेरैबाट धोका पाएको महसुस गरें । अब नयाँवर्षमा सबैभन्दा ठूलो संकल्प भनेको आफूलाई भावनात्मक रुपमा बलियो बनाउने छु । त्योभन्दा पनि ठूलो संकल्प भनेको आउने वर्ष ‘म र मेरो लागि’ मात्र हुनेछ ।
काममा ध्यान दिन्छु
नयाँवर्षबाट कुनै कसर नराखी काममा केन्द्रित हुनेछु । दर्शक र फिल्म उद्योगलाई के दिने भन्ने कुरा मात्रै सोच्नेछु । मेरो सुखदुःखमा साथ दिने साथीहरुको लागि ज्यान दिएर सहयोग गर्ने नयाँवर्षमा प्रण गरेको छु ।
साथै नयाँवर्षमा आफ्नो स्वास्थ्यलाई समय दिनेछु । स्वस्थ र फिट रहन व्यायाम र जीवनशैली परिवर्तन गर्ने संकल्प गरेको छु ।
नयाँवर्षमा नयाँ बिजनेस र फिल्म
नयाँवर्षसँगै ललितपुरको झम्सिखेलमा एउटा होटल सञ्चालनमा ल्याउने तयारीमा छु । यसलाई मैले साइड बिजनेसको रुपमा अघि बढाउने सोच बनाएको छु ।
त्यस्तै, नयाँवर्षमा एउटा महत्वपूर्ण फिल्म लिएर दर्शकमाझ आउने योजनामा छु । यो मेरो ड्रिम प्रोजेक्ट नै हुनेछ । अहिले चारवटा स्क्रिप्ट हातमा छन् । राम्रो फिल्ममा काम गर्ने योजनामा छु ।
यसैगरी चाँजोपाजो मिल्यो भने आउने वर्ष विवाह पनि हुन सक्ने सम्भावना छ ।
(मनिषा थापासँगको कुराकानीमा आधारित)
प्रतिक्रिया 4