
३० चैत, काठमाडौं । सामुदायिक विद्यालयहरुमा अपेक्षित रुपमा शैक्षिक गुणस्तर सुधार हुन नसकेका कारण विद्यार्थीको आकर्षण घटेको पाइएको छ ।
महालेखा परीक्षकको ६० औं प्रतिवेदनले आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) विगत ५ वर्षको आधारभूत तहको विद्यालय विद्यार्थी भर्नाको अवस्था तुलना गरेको तथ्यांक अनुसार सामुदायिक विद्यालयमा हरेक वर्ष घट्दै गइरहेको र संस्थागत विद्यालयमा बढ्दै गइरहेको छ ।
तथ्यांक अनुसार सामुदायिक विद्यालयमा २०७४ सालमा ८३.२ प्रतिशत, २०७५ सालमा ७५.४ प्रतिशत, २०७६ सालमा ७१.५ प्रतिशत, २०७७ सालमा ७६.२ प्रतिशत, २०७८ सालमा ७२.८ प्रतिशत विद्यार्थी भर्ना भएका छन् ।
तर संस्थागत विद्यालयतर्फ भने २०७४ सालमा १६.८ प्रतिशत, २०७५ सालमा २४.६ प्रतिशत, २०७६ सालमा २८.५ प्रतिशत, २०७७ सालमा २३.८ प्रतिशत, २०७८ सालमा २७.२ प्रतिशत विद्यार्थी भर्ना भएका छन् ।
तथ्यांक अनुसार आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) कुल विद्यार्थी भर्ना संख्या बर्सेनि घट्दै गएको र २०७८ सालमा भर्ना भएका विद्यार्थीमध्ये २७.२० प्रतिशत संस्थागत विद्यालयमा भर्ना भएका छन् । शैक्षिक वर्ष २०७४ को तुलनामा २०७८ मा कुल विद्यार्थी संख्या ८.७७ प्रतिशतले घटेकोमध्ये सामुदायिक विद्यालयमा २०.३१ प्रतिशतले घटेको र संस्थागत विद्यालयमा ४७.५५ प्रतिशतले बढेको देखिन्छ ।
महालेखा प्रतिवेदनले भनेको छ, ‘सबै बालबालिका विद्यालयमा अनिवार्य भर्ना र निशुल्क शिक्षाको लागि शिक्षा क्षेत्रमा सरकारी खर्च वृद्धि भइरहेको अवस्थामा सामुदायिक विद्यालयहरुमा अपेक्षित रुपमा शैक्षिक गुणस्तर सुधार हुन नसकेको कारण विद्यार्थीको आकर्षण घटेको देखिन्छ ।’रा
प्रतिक्रिया 4