
गर्मी महिना सुरु भएसँगै चिसो पेय पदार्थको खपत बढ्छ । गर्मीमा शरीरको तापक्रम बढ्ने भएकाले पानीको मात्रा कम हुन्छ, जसकारण प्यास बढी लाग्छ । प्यास मेटाउने सजिलो उपायको रुपमा हामी कोकाकोला, पेप्सी, फ्यान्टाजस्ता पेय पदार्थलाई रोज्छौं । यति मात्र होइन, घरमा आउने पाहुनालाई पनि हामी यिनै पेय पदार्थबाट सत्कार गर्छौं ।
तर बजारमा पाइने यी पेय पदार्थ पूर्णतः स्वास्थ्यवर्द्धक हुँदैनन् । आकर्षक देखाउनका लागि त्यसमा मिसाइएका रंग रासायनिक पदार्थले हाम्रो स्वास्थ्यमा हानि पुर्याउन सक्छ ।
हामीले घरमै पनि यस्ता पेय पदार्थ बनाउन सक्छौं, जसले स्वास्थ्यलाई त लाभ पुर्याउँछ नै हाम्रो खर्च पनि बचाउँछ ।
लस्सी
गर्मीयामको चर्को घाम र बढ्दो तापक्रमबाट बच्न चिसो पेय पदार्थमा लस्सी राम्रो विकल्प हुन सक्छ । दहीमा मौसमी फलफूल, काजु, बदाम, दालचिनी मिसाएर पनि लस्सी बनाउन सकिन्छ । तर याद गर्नुपर्ने कुरा दही धेरै अमिलो र पानी दूषित भने हुनुहुँदैन ।
त्यस्तै, दहीमा जीराको धुलो र नुन हालेर मिक्सचरमा पिसेर पनि लस्सी बनाउन सकिन्छ । यसरी बनाएको लस्सीले शरीरमा शीतलता कायम रहनुका साथै खाना पचाउन मद्दत गर्छ ।
लस्सीमा दहीका सबै पोषक तत्वहरू क्याल्सियम, प्रोटिन, भिटामिन सी, म्याग्नेसियम र पोटासियम पाइन्छ । लस्सीको नियमित सेवनले स्वस्थ जीवाणुको वृद्धिलाई बढावा दिन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
मोही
गर्मीमा घरमै बनाएर पिउन सकिने अर्को पेय पदार्थ भनेको मोही पनि एक हो । दहीलाई पातलो बनाएर मोही बनाइन्छ । दूध र दहीको तुलनामा मोहीमा कम फ्याट र क्यालोरी हुन्छ । र, स्वादिलो पनि हुन्छ । यसमा खनिज र भिटामिनले भरपूर हुने भएकाले पाचन प्रणालीका लागि फाइदाजनक हुने भएकाले खानाअघि पिउनु लाभदायक हुन्छ ।
कागती पानीको सर्बत
गर्मीमा घरमै बनाउँदा छिटो र खाँदा मीठो हुने पेय पदार्थ हो, कागती पानीको सर्बत । कागतीको रस, स्वादअनुसार वीरेनुन पानीमा मिसाएर बनाउन सकिन्छ । कागतीमा पाउने भिटामिन सीले शरीरलाई फाइदा गर्छ । यो सर्बत दिनहुँ पिउँदा शरीरलाई शीतलता त प्रदान गर्छ नै, अनुहारको चमक बढाउने, कब्जियतको समस्या कम गर्ने, शरीरमा भएको विषाक्त तत्व हटाउन पनि मद्दत गर्छ ।
सख्खरको सर्बत
वैशाख अक्षय तृतीयाका दिन सर्बत खाने र दान गर्ने चलन छ । विशेषतः त्यस दिन सख्खर, पानी, बदाम, दालचिनीको धुलो हालेर बनाइन्छ ।
यद्यपि, भान्छामा उपलब्ध भएका मह, कागती, पुदिना आदि मिश्रण गरेर पनि सर्बत बनाउन सकिन्छ । सर्बतले शीतलता प्रदान गर्नुका साथै ऊर्जा मिल्ने, शरीरलाई हाइड्रेट गराउने लगायत फाइदा गर्छ ।
पुदिना पानी
पुदिना पाउडरलाई पनि पानीमा मिसाएर सर्बतको रुपमा पिउन सकिन्छ । यसलाई बार्ली पाउडर पनि भनिन्छ । पाउडर पाँच चम्चा चार गिलास पानीमा हालेर पकाउन सकिन्छ । त्यो सेलाइसकेपछि पारदर्शी झोल बन्छ । त्यसमा कागती, दालचिनी, नुन वा चिनी स्वाद अनुसार हालेर त्यसलाई बोतलमा भण्डारण गरेर चाहेको बेलामा खान सकिन्छ । यसले भित्री गर्मी हटाउने, मनतातो बनाएर खाँदा ज्वरो शान्त पार्ने र शरीरलाई शीतलता प्रदान गर्छ ।
मौसमी फलफूलको जुस
गर्मी महिनामा पाउने फलफूल जस्तै, आँप, केरा, खर्बुजा, बेलको जुस बनाएर खान सकिन्छ । यी फलफूललाई मिक्सचरमा पिसेर यसको रस निकाली स्वाद अनुसार चिनी हालेर वा नमिसाई पनि तयार गर्न सकिन्छ । यी सर्बतमा आइरन, फाइबर, प्रोटिन, भिटामिन सी जस्ता स्वस्थ तत्व पाइन्छ । सरबतले शरीरबाट गर्मी हटाउने, शरीरलाई हाइड्रेट राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।
ध्यान दिनुपर्ने कुरा
गर्मीमा सर्बत बनाउन होस् वा सादा पानीको लागि, त्यसलाई चिस्याउन फ्रिजमा राख्ने गरिन्छ । जबकि फ्रिजको पानी पिउन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । अर्कोतिर सर्बत बनाउन आवश्यक पानी चिसो हुनुपर्छ । चिसो पानीकै सर्बत बनाएर पिउँदा बढी स्वाद हुने भएकाले पानीलाई प्राकृतिक रुपमा चिसो बनाउन माटो, तामा र पित्तलको भाँडो वा गाग्रीमा पानी राख्न सकिन्छ । माटो, तामा र पित्तलका भाँडामा राखिएको पानी स्वास्थ्यवर्द्धक पनि हुन्छ ।
सर्बतमा आइस राखेर पिउने कतिपयको बानी हुन्छ । यसले घाँटीमा समस्या गराउनेदेखि अन्य स्वास्थ्य समस्या गराउन सक्छ ।
(पोषणविद् प्रा. डा. ठकुराठीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4