
५ वैशाख, काठमाडौं । अहिले देशभरका सामुदायिक विद्यालयहरुमा भर्ना अभियान सञ्चालन भइरहेको छ । विद्यालय बाहिर भएका बालबालिकालाई विद्यालयमा ल्याउनको लागि तीनै तहका सरकारले सामुदायिक विद्यालयमा भर्ना अभियान सञ्चालन गरिरहेका छन् ।
महालेखा परीक्षकको ६० औं प्रतिवेदनले सामुदायिक विद्यालयमा भर्ना हुनेको संख्या हरेक साल घट्दै गइरहेको देखाएको छ । २०७४ सालको तुलनामा २०७८ सालमा सामुदायिक विद्यालयमा विद्यार्थी २०.१४ प्रतिशतले घटेका छन् भने संस्थागत विद्यालयमा ४७.५५ प्रतिशतले बढेका छन् ।
सरकारले कक्षा तीनसम्म नयाँ भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन नगर्न भनेको छ तर केही सामुदायिक विद्यालयहरु यस्ता छन् जहाँ विद्यालयको क्षमताभन्दा बढी विद्यार्थीहरु हुने भएपछि प्रवेश परीक्षा लिएरमात्रै भर्ना गर्न थालिएको छ । विद्यार्थी भर्ना हुनेको चाप थेग्न नसकेर प्रवेश परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापकहरु बताउँछन् ।
भर्नाका लागि अत्यधिक चाप हुने काठमाडौं उपत्यकाका प्रतिनिधिमुलक विद्यालयहरुको अवस्था यस्तो छ–
काठमाडौं महागरपालिका
काठमाडौं महानगरपालिकामा केही सामुदायिक विद्यालयहरु छन् जहाँ विद्यार्थी भर्ना हुनको लागि अत्यधिक चाप हुने गरेको छ । त्यसमध्ये एक हो त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यामिक विद्यालय । सामान्यतया विद्यालयले बाल कक्षामा भने श्रीपञ्चमीको दिन भर्ना दर्ता गर्ने गरेको छ । यस वर्ष १४२ जना बाल कक्षामा भर्ना भएका छन् ।
विद्यालयले कक्षा एकदेखि ५ सम्म नयाँ भर्ना हुन आउने बालबालिकालाई पाठ्यक्रममा आधारित कुराकानी (अन्तर्वार्ता) को आधारमा र कक्षा ६ देखि ९ सम्मकालाई परीक्षा लिने गरेको प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए ।
कक्षा एकदेखि ५ सम्म करिब पाँच सय जनाले अन्तर्वार्ता दिएको र कक्षा ६ देखि ९ सम्म ७ सय जनाले प्रवेश परीक्षा दिएका छन् । विद्यालयले कक्षा एकदेखि ९ सम्म ४ सय जना नयाँ भर्ना लिने योजना अनुसार आइतबार प्रवेश परीक्षा सञ्चालन गरेको जानकारी दिए । प्रधानाध्यापक कँडेल भन्छन्, ‘खास यसरी परीक्षा नलिन भनिएको छ । तर नलिएर उपाय छैन । आएका सबैलाई भर्ना लिन सकिँदैन । भर्नाको इच्छा राखेर आउनुभएकाहरु मात्रै पनि पाँच/सात सय फर्किनुहुन्छ ।’ विद्यालयमा गएको शैक्षिक सत्रमा ४ हजार बढी विद्यार्थीले अन्तिम परीक्षा दिएका थिए ।
काठमाडौंकै जनकल्याण मावि बौद्धमा पनि विद्यार्थी चाप अत्यधिक हुने गरेको छ । विद्यालयले पनि नयाँ विद्यार्थीको चाप नियन्त्रण गर्नका लागि प्रवेश परीक्षा सञ्चालन गर्ने गरेको प्रधानाध्यापक कुमारी कमला राई बताउँछिन् । विद्यालयले यो वर्ष २५० जना नयाँ विद्यार्थी भर्ना लिने तयारी अनुसार प्रवेश परीक्षा सञ्चालन गरिरहेको छ । गत शैक्षिक सत्रमा दुई हजार ५ सयले अन्तिम परीक्षा दिएका थिए ।
कक्षा ४ देखि ९ कक्षासम्मका नयाँ विद्यार्थी भर्नाको लागि दुई पटक प्रवेश परीक्षा लिएको र अब फेरि लिने तयारी भइरहेको छ । कक्षा १ देखि ४ कक्षासम्मकालाई भने सामान्य अन्तर्वार्ता मार्फत उनीहरुको सिकाइ स्तर जाँच गरिरहेको प्रधानाध्यापक राईले जानकारी दिइन् । प्रवेश परीक्षा लिन नहुने भन्ने विषयमा प्रधानाध्यापक राई भन्छिन् ‘सरकारको द्वेध चरित्र छ । सिकाइ गुणस्तर कायम गर पनि भन्ने अनि प्रवेश परीक्षा नलेऊ पनि भन्ने नीति छ । गुणस्तर कायम गर्नको लागि प्रवेश परीक्षा जरुरी हुन्छ ।’ सबै विद्यार्थी थेग्न नसकिने हुनाले प्रवेश परीक्षाबाट छनौट गर्नुपर्ने अवस्था रहेको उनको जिकिर छ ।

काठमाडौंकै नीलबाराही, कालीमाटीले पनि नयाँ भर्नामा चाप हुने भएकाले प्रवेश परीक्षा सञ्चालन गर्दै आएको प्रधानाध्यापक जानुका नेपाल पौडेलले जानकारी दिइन् । गएको शैक्षिक सत्रमा एक हजार २ सयले अन्तिम परीक्षा दिएका थिए । यो विद्यालयले भने पहिला विद्यालयकै विद्यार्थी भर्ना गरिसकेपछि अन्तिममा खाली हुन आउने स्थानमा कक्षा अनुसार प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको प्रधानाध्यापक पौडेलले बताइन् ।
पद्मकन्या माविको अवस्था पनि यस्तै छ । मद्मकन्या छात्राहरु मात्रै पढ्ने विद्यालय हो । यहाँ गएको शैक्षिक सत्रमा ९ सय विद्यार्थीले अन्तिम परीक्षा दिएका थिए । यहाँ एक पटक प्रवेश परीक्षा लिइसकेको र अब फेरि लिने तयारी भइरहेको प्रधानाध्यापक रीता तिवारी बताउँछिन् । उनले भनिन्, ‘पढ्न आउन चाहने जत्तिलाई भर्ना लिन सकिने अवस्था छैन । अवस्था अनुसार यहाँ भर्ना लिन नसकिएको विद्यार्थीलाई खाली भएको अर्को विद्यालयमा भर्ना गराउन पनि कोसिस गर्छौं ।’
पन्चकन्या आधारभूत (१–८) विद्यालयमा पनि नयाँ भर्ना हुन आउने विद्यार्थीको चाप धैरै हुने गरेको छ । ३ सय विद्यार्थीको क्षमता रहेको विद्यालयमा यो वर्ष ५० भन्दा बढी नयाँ भर्ना लिएन । त्यहि चापको कारण नयाँ भर्ना नै रोकिसकेको प्रधानाध्यापक विद्या रञ्जित बताउँछिन् । भन्छिन्, ‘हाम्रोमा यो वर्ष ३ र ७ कक्षामा अलि बढी भर्ना लिन्छौं अरु कक्षामा २/३ जना जस्तो मात्रै लिएका छौं । हामीले त नयाँ भर्ना बन्द नै गरिसकेका छौं ।’ जति जना भर्नाको लागि आए, त्यहि दिन नै लिएर पुरा भएको उनले बताइन् । अहिले भर्ना हुन आउने विद्यार्थीलाई अरु नजिकैको सामुदायिक विद्यालयहरुमा सिफारिस गरिरहेको प्रधानाध्यापक रञ्जितले जानकारी दिइन् ।
महानगरपालिकाको सबैभन्दा बढी विद्यार्थी संख्या भएको विद्यालय हो ज्ञानोदय मावि, बाफल । यो विद्यालयमा चार हजार दुई सय बढी विद्यार्थी अध्ययनरत छन् । त्यसबाहेक कोटेश्वरको सरस्वती मावि, पशुपति मावि लगायत विद्यालयमा सात सय विद्यार्थीहरु छन् ।
ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकाको आदर्श शौल युवक मावि बुङमति ललितपुरको विद्यार्थी संख्या बढी भएको विद्यालय मध्ये एक हो । यो विद्यालयमा गएको शैक्षिक सत्रमा दुई हजार बढीले अन्तिम परीक्षा दिएको प्रधानाध्यापक ज्ञानभक्त महर्जन बताउँछन् । यो वर्ष कक्षा १० उत्तीर्ण गरेर गएका विद्यार्थी संख्या (१३६ जना) बराबर विभिन्न कक्षामा नयाँ भर्ना लिने तयारी गरिरहेको प्रधानाध्यापक महर्जनले जानकारी दिए ।
नयाँ भर्नाको लागि एक पटक प्रवेश परीक्षा लिएको र अब ९ गते पनि लिने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘यो वर्ष गत वर्षको तुलनामा नयाँ भर्नाको लागि आउने चापमा केही कमी आएको होकि जस्तो लागेको छ । हुन त भर्खर शुरु भएको छ ।’
प्रभात मावि ग्वार्कोले पहिलो चरणको प्रवेश परीक्षा ८ गते लिन लागेको जनाएको छ । यस वर्ष ३ सय नयाँ विद्यार्थी भर्ना लिने तयारीका साथ नयाँ भर्नाको लागि परीक्षा सञ्चालन गर्ने प्रधानाध्यापक देवी दुलालले बताए । १२ सय विद्यार्थी रहेको विद्यालयले विद्यार्थी चाप नियन्त्रण गर्नका लागि परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक दुलाल बताउँछन् । उनी भन्छन्, ‘पढ्न आउन चाहने सबैलाई पढाउन सकिने क्षमता छैन । त्यसको लागि परीक्षा लिन्छौं ।’
नयाँ भर्ना पाउनको लागि प्रवेश परीक्षा दिनुपर्ने भएपछि विद्यार्थी पनि मिहिनेती हुने उनको बुझाइ छ । भन्छन्, ‘आफूले चाहेको विद्यालयमा, साथीभाइ, दिदी बहिनीले पढ्ने विद्यालयमा पढ्न जानको लागि प्रवेश परीक्षा दिनुपर्छ भनेर मिहिनेत गर्छन् ।’
यी विद्यालयहरु बाहेक ललितपुर महानगरपालिकामा त्रिपद्म मावि पुलचोक, श्रमिक शान्ति च्यासल, हरिसिद्धी मावि हरिसिद्धी लगायत विद्यालयमा पनि विद्यार्थीको चाप बढी हुने गरेको छ ।
भक्तपुर नगरपालिका
भक्तपुर नगरपालिकामा भने जात्रा चलिरहेकाले नयाँ भर्ना शुरु भएको छैन । भक्तपुर नगरपालिकाको बागेश्वरी मावि भक्तपुरले चैत २८ गते प्रवेश परीक्षा सञ्चालन गरेको थियो र वैशाख ६ गते पनि प्रवेश परीक्षा लिने तयारी गरिरहेको छ ।

विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद धान्चाका अनुसार यो वर्ष कक्षा १ देखि ९ सम्म ५ सय नयाँ भर्ना लिने तयारी भइरहेको छ । गएको शैक्षिक सत्रमा २ हजार विद्यार्थीले अन्तिम परीक्षा दिएका थिए । पढाइ गुणस्तर भएको विद्यालयमा अर्को विद्यालयबाट, संस्थागत विद्यालयहरुबाट पनि आउने खोज्नेहरु हुने र विद्यालयले निश्चित विद्यार्थी मात्रै नयाँ भर्ना लिने भएकाले प्रवेश परीक्षा लिने गरिएको प्रधानाध्यापक धान्चा बताउँछन् ।
उनी भन्छन्, ‘हामीले गुणस्तर पनि कायम गर्नुपर्ने हुन्छ । त्यहि गुणस्तरका कारण नयाँ भर्नाको लागि पनि चाप हुन्छ आएका जत्ति भर्ना गर्न सक्ने अवस्था हुँदैन । विद्यार्थी छाँट्न परीक्षा त गर्नैपर्छ ।’ बागेश्वरीसँगै खोप मावि, सैनिक विद्यालय लगायतका विद्यालयहरुमा नयाँ भर्नाको लागि विद्यार्थी चाप धेरै हुने गरेको छ ।
देशभर २७ हजार ८१२ सामुदायिक विद्यालय छन् । तीमध्ये उत्कृष्ट ४२२ विद्यालयलाई सरकारले नमुना विद्यालयको रुपमा घोषणा गरेको छ । नमुना घोषणा भएको विद्यालयमा शैक्षिक गुणस्तर कायम भएकाले ती विद्यालयहरुमा विद्यार्थी चाप बढी हुने गरेको प्रधानाध्यापकहरुको भनाइ छ । ती बाहेकका पनि कतिपय विद्यालयमा सिकाइ गुणस्तर उत्कृष्ट भएकाले नयाँ भर्नाको लागि विद्यार्थीको चाप हुने गरेको उनीहरु बताउँछन् ।
महालेखा परीक्षकको ६० औं प्रतिवेदनले नमुना विद्यालयहरुको मात्रै स्तरोन्नति गर्ने काम वैज्ञानिक नभएको र विद्यालयलाई चाहिने आवश्यक पूर्वाधार नमुना विद्यालयलाई मात्र दिएकाले सिकाइमा अपेक्षित उपलब्धि हुन नसकेको उल्लेख गरेको छ ।
प्रतिक्रिया 4