+
+

बच्चा सही ढंगले हुर्किंदै गरेको देखाउने ७ संकेत

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० वैशाख ५ गते १४:३७

काठमाडौं । बच्चा जन्मिएसँगै उसको वृद्धि, विकासका बारेमा अभिभावक चिन्तित हुन्छन् । आफ्नो बच्चाले कुन उमेरमा बोल्न सिक्ने हो, हिंड्न थाल्ने हो भनेर सोच्न थाल्छन् ।

उमेरअनुसार बच्चाको वृद्धि विकास फरक हुँदै जान्छ । तर बच्चाको विकास राम्ररी भएको छ कि छैन ? सही ढंगले हुर्किंदै छ कि छैनन् ? भन्ने कुराको ज्ञान भने अभिभावकलाई हुनुपर्ने कान्ति बाल अस्पताल महाराजगञ्जमा कार्यरत चिकित्सा मनोविद् सिर्जना अधिकारी बताउँछिन् ।

बच्चाको शारीरिक विकास मात्र होइन, उसको मानसिक तथा सामाजिक व्यवहारले पनि उसको विकास सही ढंगले भएको छ कि छैन भन्ने कुरा निर्धारण गर्ने अधिकारी बताउँछिन् ।

कुनै कुराबारे उत्सुक सुन्छन्

बच्चा असाध्यै उत्सुक हुन्छन् । बच्चाले उत्सुकता देखाउनु भनेको उसले केही नयाँ कुरा सिक्नु हो । बच्चाले यो के हो ? त्यो के हो ? कसरी भयो ? जस्ता धेरै प्रश्न सोध्छन् । कुनै पनि कुरामा उत्सुक हुन्छन् भने त्यो स्वाभाविक हो । यसले उसको विकास राम्रोसँग भइरहेको छ भन्ने संकेत दिन्छ ।

सम्पूर्ण कुरा अभिभावकलाई सुनाउँछन्

‘प्रायः बालबालिकाले अभिभावकलाई आफ्नो सम्पूर्ण कुरा सुनाउँछन् । यदि बच्चा विद्यालय जान्छ भने विद्यालयमा भएको हरेक क्रियाकलाप पनि घरमा गएर अभिभावकलाई सुनाउँछन्’ मनोविद् अधिकारी भन्छिन्, ‘किशोर अवस्थामा यो बानी अलि कम हुन सक्छ । तर १० वर्षभन्दा कम उमेरका बालबालिकाले आमाबुवालाई आफ्नो सम्पूर्ण कुरा सुनाउँछन्, परिवारका सदस्यसँग हेलमेल गर्छन् भने उनीहरू सही ढङ्गले हुर्किंदैछन् ।’

चिकित्सा मनोविद् सिर्जना अधिकारी

घरको काम गर्न रमाउँछन्

बच्चाले आफ्नो अभिभावकलाई हेरेर उनीहरूले गरेको कामको नक्कल गरेर पनि धेरै कुरा सिकिरहेका हुन्छन् । घरमा अभिभावकले गरेको हरेक काम बच्चालाई पनि गर्ने रहर हुन्छ । आमाबुबाले गरेको काममा सहयोग गर्न पाउँदा पनि उनीहरू रमाउँछन् । त्यसैले अभिभावकले बच्चालाई दैनिक जीवनका लागि आवश्यक सीप सिक्न घरायसी गतिविधिमा मद्दत गर्ने अवसर दिनुपर्ने अधिकारी सुझाउँछिन् ।

समयमा सुत्छन्, उठ्छन्

बच्चाको शारीरिक र मानसिक विकासका लागि निद्रा पनि उत्तिकै जरुरी छ । दुईदेखि तीन वर्षको बच्चा १२-१३ घण्टा, तीनदेखि पाँच वर्षको १०-१३ घण्टा र ६ देखि १३ वर्षका लागि ९-१२ घण्टा आवश्यक पर्छ ।

यसले बच्चाको शरीरमा ऊर्जा मात्र बढाउँदैन, उनीहरूको शारीरिक वृद्धि गराउने हार्मोनको पनि विकास गराउने अधिकारी बताउँछिन् । ‘यस्तो अवस्थामा बच्चाको शारीरिक र मानसिक विकासको लागि पर्याप्त मात्रामा निद्रा प्राप्त गर्नु महत्त्वपूर्ण छ । यदि यस उमेरका बच्चा समयमा सुत्छन् र समयमा उठ्छन् भने उनीहरूको शारीरिक र मानसिक विकास राम्ररी हुन्छ’, अधिकारी भन्छिन् ।

तरकारी र फलफूल जस्ता खानेकुरा राम्ररी खान्छन्

धेरै अभिभावक ‘मेरो बच्चाले राम्ररी खाना खाँदैन’ भनेर चिन्तित हुन्छन् । अझ हरियो तरकारी र फलफूल खुवाउन त झन् गाह्रो हुन्छ । सानो बच्चालाई शारीरिक तथा मानसिक विकासको लागि सन्तुलित खानपानको आवश्यकता हुन्छ । मनोविद् अधिकारी भन्छिन्, ‘यस्तोमा तपाईंको बच्चाले हरियो सागसब्जी र फलफूल राम्ररी खान्छन् भने उनीहरूको शारीरिक र मानिसक विकासको लागि राम्रो हो । तर उनीहरूले घरको खाना मान्दैनन् भने विकल्पको रूपमा जंकफुड तथा प्याकेट बन्द खानेकुरा दिनुहुँदैन ।’

खेल्न, दौडिन पाउँदा रमाउँछन्

कतिपय अभिभावकहरू आफ्ना बालबालिकालाई खेलेको देख्दा हप्काउने गर्छन् । तर बालबालिकालाई खेल्न दिनु नराम्रो होइन । बालबालिकाको सिकाइका लागि खेल सबैभन्दा प्रभावकारी विधि भएको चिकित्सा मनोविद् अधिकारी बताउँछिन् । ‘खेल खेल्नु बालबालिकाको मनपर्ने क्रियाकलाप र मुख्य काम हो’, उनी भन्छिन् ।

खेलको माध्यमबाट बालबालिकाको भाषा, सञ्चार, कल्पना र सोचाइ, शारीरिक सन्तुलन, समन्वय र सक्रियता,  समस्या समाधान र निर्णय गर्ने, स्वप्रोत्साहन, स्वअनुशासन, स्वव्यवस्थापन; सिकाइ अनुभव र आत्मविश्वास बढ्छ । समय व्यवस्थापन, जिम्मेवारी वहनजस्ता कुराको पनि बच्चामा विकास हुने अधिकारी बताउँछिन् ।

मान्छे र पशुपक्षी सबैलाई उत्तिकै माया गर्छन्

बालबालिकाहरू निस्वार्थ हुन्छन् । उनीहरूको मनमा दया-मायाको भावना बढी हुन्छ । यदि अभिभावकले दीनदुःखी र पशुपक्षीलाई माया गर्छन् भने उनीहरूले पनि अभिभावकबाट त्यो कुरा सिक्छन् । उनीहरूले सबैलाई उस्तै व्यवहार र माया गर्छन् । यस्तोमा बच्चाले दीन दुःखीलाई र पशुपक्षी सबैलाई माया गर्छन् भने यो उनीहरूमा विकास भएको राम्रो गुण भएको अधिकारी बताउँछिन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?