
६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जिन्दगीभर लाभको पदमा नबसेकालाई मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लैजाने व्यवस्था गरिनुपर्नेमा जोड दिएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सभाबाट पारित भएर आएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
‘कुनै पनि पटक अख्तियार प्रयोग गरेको वा लाभको पदमा बसेका मानिसहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर बस्न हुँदैन । त्यस्ता मानिस जानु भनेको कुनै न कुनै रुपमा उसले प्रभावित तुल्याउँछ तुल्याउँछ’, उनले भने ।
समाधानका लागि जिन्दगीभर लाभको पदमा नबसेकालाई मात्रै अख्तियारमा लैजाने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ । उनी भन्छन्, ‘अख्तियारमा त्यस्ता मानिसहरु जानुपर्यो जो जिन्दगीभर एक पटक पनि लाभको पद नलिएको वा अख्तियार प्रयोग नगरेको होस् ।’
सांसद सापकोटाले संवैधानिक परिषद र निकायहरु रिटायर्ड क्लबहरु जस्ता भएको पनि टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘भ्रष्टाचार र अख्तियारको कुरा गर्दा हाम्रा संवैधानिक परिषद निकायहरु रिटायर्ड क्लबहरु जस्ता भएका छन् । त्यहाँ गएर पावर इन्जोइ गर्ने, रेष्ट गर्ने, आफूलाई कुलिङ पिरियडको रुपमा गुजार्ने जस्तो चीज भएको छ ।’
प्रतिक्रिया 4