
७ वैशाख, बारा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन् ।
बाराको गढीमाईमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विमानस्थल बनेपछि गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने बताए ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौं । म तपाईंहरूसामु प्रतिवद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्य सम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ,’ उनले भने, ‘गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल हुनेछ । गढीमाई विकास समिति बनाएर यसको संरक्षण र प्रवर्द्ध गरिनेछ ।’
प्रचण्डले नागरिकता समस्या मधेशको मात्र समस्या नभइ देशकै समस्या भएकाले यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिने बताए ।
जनता समाजवादी पार्टीका अध्यक्ष तथा बारा २ का उम्मेदवार उपेन्द्र यादवको प्रचारका लागि प्रचण्डसँगै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बारा आइपुगेका हुन् ।
प्रतिक्रिया 4