
काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ले सात दिनमै एक करोडभन्दा बढी पटक हेरिने नेपाली गीतको युट्युब रेकर्ड राखेको छ । यो गीतलाई अपरान्ह चार बजेसम्म एक करोड ९० हजार पटक हेरिएको छ । चर्चा र विवादको कारण यो गीतको भ्युज ह्वात्तै वृद्धि भएको हो ।
यसअघि कुनै पनि नेपाली गीतले सात दिनभित्र यो उपलब्धि पाउन सकेका थिएनन् । रोचक कुरा के छ भने सपुतको यो गीत रिलिज भएकै दिनदेखि युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा छ । ट्रेन्ड हेर्दा यो गीतको भ्युज अझै अघि बढ्न देखिएको छ । टिकटकमा भाइरल बन्नु र सामाजिक सञ्जालमा समेत यसबारे निकै बहस हुनुले गीतमा दर्शकको चासो देखिएको हो ।
सपुतकै शब्द, संगीत र स्वर रहेको यो गीतले विम्बपरक रुपमा कला क्षेत्रमा संघर्षरत युवतीले भोग्नुपरेको बाध्यता र कठिनाइलाई चित्रण गरेको छ । गीतकी मोडल कुसुम शर्मा पनि अहिले चर्चामा छिन् । गीतमा प्रकाशसँगै वर्ता गन्धर्वको पनि स्वर छ । सुदीप सागरको संगीत संयोजन छ ।
भिडियोमा अभिनेता सुनिल थापाको समेत अभिनय छ । प्रकाशको अघिल्लो गीत ‘पीर’ले पनि रिलिजको आठ दिनमा एक करोड भ्युज प्राप्त गरेको थियो । त्यसअघि छिटो करोड भ्युज प्राप्त गर्नेमा विष्णु माझीले गाएको ‘चरी जेलैमा’ले १२ दिनमा उक्त रेकर्ड राखेको थियो ।
प्रतिक्रिया 4